अफगानिस्तानमा बाढी : १६ जनाको मृत्यु, सयौँ घरमा क्षति

जलालाबाद : अफगानिस्तानको नान्गाहार प्रान्तमा बाढीका कारण कम्तीमा १६ जनाको मृत्यु भएको छ ।

शुक्रबार अबेर राती आएको बाढीमा परी मृत्यु भएका मध्ये अधिकांश बालबालिका रहेको अधिकारीले जनाएका छन् ।

बाढीले अरू सयौँ घर तथा भौतिक संरचनामा समेत क्षति पुर्‍याएको अधिकारीको भनाइ छ । देशको नान्गाहार प्रान्तमा पर्ने कोज्कुनार जिल्लामा घटना भएको प्रान्तीय सरकारका प्रवक्ता अतुल्लाह खोगिएनीले शनिबार जानकारी दिए ।

याे पनि पढ्नुस  भारतमा बाढीका कारण मृत्यु हुनेको संख्या ६०० पुग्यो

‘अत्यधिक वर्षापछि आएको बाढीका कारण मृत्यु भएका १६ जना मध्ये १२ जना त बालबालिका मात्रै रहेका छन्,’ उनले भने । बाढीमा परेर अरू ४ जना बालबालिका अझै पनि बेपत्ता अवस्थामै रहेको प्रवक्ता खोगिएनीले बताए ।

बाढीमा परेकालाई उद्धार गर्ने, घाइतेहरूलाई उपचार गर्ने र बेपत्ता भएकाको खोजी गर्ने कार्य भने जारी रहेको उनको भनाई छ ।

कमेन्ट गर्नुहोस्