‘प्रचण्ड र बादल मूल एजेण्डामा एकै ठाउँमा छन्’

काठमाडौंः नेकपा नेता ईन्द्र आङ्बोले प्रचण्ड र राम बहादुर थापा ‘बादल’ मूल एजेण्डामा एकै ठाउँमा रहेको दाबी गरेका छन् ।

बादल नजिक मानिने प्रदेश १ का अर्थमन्त्री तथा नेकपा केन्द्रीय सदस्य आङ्बोले एभरेष्ट दैनिकसँग कुरा गर्दै वैचारिक रुपमा प्रचण्डसँग बादलको कुनै विवाद नभएको दाबी गरे ।

पार्टीमा देखिएको विवादपछि प्रचण्ड र बादलसँग छलफल गरेको भन्दै उनले निष्कर्ष सुनाए, ‘वैचारिक र आधारभूत रुपमा मूल एजेण्डामा प्रचण्डभन्दा बादलको विचार कहीँ पनि फरक देखेको छैन । दुबै जना एकै ठाउँमा हुनुहुन्छ ।’

याे पनि पढ्नुस  सर्वत्र आलोचनापछि नेकपा संविधान संशोधन कार्यदल खारेज

बादल गृहमन्त्री समेत रहेकाले प्रधानमन्त्री केपी ओली र सरकारविरुद्ध बोल्नु केही सीमितता रहेको भन्दै उनले थपे, ‘बाहिर जसरी अलग छन् भनेर प्रचार भएको छ, त्यसमा अच्चम लागेको छ ।’

संसद विघटन, संकटकाल, मध्यावधि, पार्टी विभाजन हुनु दिनुहुँदैन भन्ने कुरामा प्रचण्डसँग बादल सहमत भएको आङ्बोले बताए । उनले थपे, ‘यस प्रकारका गलत क्रियाकलापकाविरुद्ध बादल कमरेड सहमत हुनुहुन्न । त्यसको विरुद्ध दह्रोसँग उभिनुभएको छ ।’

ओलीको आलोचना, प्रचण्डको प्रशंसा

प्रचण्ड पार्टी एकताप्रति इमान्दार रहेको भन्दै प्रशंसा गरेका आङ्बोले नेकपा अध्यक्ष समेत रहेको प्रधानमन्त्री ओलीको कडा आलोचना गरे । ओलीकै कारण पार्टीमा समस्या आएको उनले ठोकुवा गरे ।

याे पनि पढ्नुस  विप्लवका २ कार्यकर्ता रिहा लगत्तै नेकपामा प्रवेश

‘प्रचण्ड कमरेड पार्टी एकताप्रति इमान्दार हुनुहन्छ । स्थायी सरकारकै लागि प्रधानमन्त्रीमा आलोपालो हुनुपर्छ भन्ने सहमतिबाट पछि हट्नुभयो’, उनले थपे, ‘तर, मुख्य समस्या ओली कमरेड नै हो । एकता प्रक्रियालाई पूर्णता दिने, नयाँ वैचारिक बहस गर्ने, सरकारलाई प्रभावकारी बनाउने कुराको सोच र चिन्तनमै ओलीमा समस्या छ ।’

समग्र पार्टी, विचार र विवेकले सरकारको नेतृत्व गर्नुपर्नेमा गुट र व्यक्ति सरकारमाथि हावी मुख्य समस्या उत्पन्न भएको उनको आरोप छ । ओली सरकार समाजवादको यात्रामा नगएर फाँसीवादको बाटोमा गएको उनले बताए ।

उनले भने, ‘एकतापछि मलजल पाउँदा गुट शक्तिशाली र बलशाली हुँदै गएका छन् । तर पार्टी कमजोर हुँदै गएको छ । पार्टीलाई गुट–उपगुटको महासंघ जस्तो बनाइएको छ । यसरी पार्टी अघि बढ्ने कल्पना गर्नै सकिन्न । यसले अपेक्षा गरेको ठाउँमा पुग्न सकिँदैन ।’

याे पनि पढ्नुस  आफ्नो र परिवारको बदनाम गर्ने प्रयत्न भएको भन्दै मणि थापाले दिए उजुरी

उनले जरैदेखि विवाद समाधानको दिशामा जानुपर्ने बताए । विचार र राजनीतिको आधारमा गुट उपगुट अन्त्य गरेर अघि बढ्नुपर्ने र समाजवादको नेतृत्व गर्ने पार्टी बनाउनुपर्नेमा उनको जोड छ ।

उनले एकतापछिको ऐतिहासिक उत्साहलाई कायम गर्दै पार्टी विभाजन हुनबाट रोक्नुपर्ने र विधि पद्धतिअनुसार आपसी समझदारीमा अघि बढ्नुपर्ने बताए ।

कमेन्ट गर्नुहोस्