कोभिडमा लापरवाही बढ्योः अटेर गरे कैद

काठमाडौंः विश्वव्यापी महामारीरुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण विस्तार नहोस् भन्ने मनसायका साथ काठमाडौं जिल्ला प्रशासन तोकिएको स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगर्नेविरुद्ध कडारुपमा प्रस्तुत हुन थालेको छ ।

तोकिएको स्वास्थ्य सुरक्षा मापदण्ड प्रयोग नगरी कोरोनालाई सामान्ने ढङ्गले हेर्न थालिएकाले कारवाहीको दायरा फराकिलो बनाउन लागिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ । ‘कोरोना सकिए झै गरेर लापरवाही गर्ने बढेको पाइयो, अहिलेसम्म जरिवानालाई प्राथमिकता दिइएको थियो, अब कैद नै गर्ने मनस्थितिमा पुगेका छौँ’, काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भने ।

सङ्क्रामक रोग ऐन, २०२० अनुसार राज्यको आदेशलाई अपहेलना गर्ने व्यक्ति उपर १ महिनासम्म कैद वा रु १०० सम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । उक्त ऐनमा सरकारले खटाएका अधिकृतको काममा बाधा पुर्याउनेलाई ६ महिनासम्म कैद वा रु ६०० सम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था छ । त्यो अधिकार प्रमुख जिल्ला अधिकारीलाई छ ।

याे पनि पढ्नुस  उपत्यका प्रवेशमा कडाइ

पछिल्लो समयमा मानिसको लापरवाही बढ्दो छ । मास्क नलगाई हिँड्ने जमात देखिन थालेको छ । काठमाडौं प्रशासनले सुरक्षा मापदण्ड अपनाएको छ छैन भन्ने बारेमा नियमित अनुगमन गरिरहेको छ । अनुगमनका क्रममा व्यवसाय सञ्चालकले मापदण्ड प्रयोग गरेको पाइएको छैन । नागरिक पनि कोरोना सकिएको जसरी खुलमखुला हिँडिरहेका छन् ।

याे पनि पढ्नुस  पाँच महिनापछि खुल्यो नियमित अन्तर्राष्ट्रिय उडान

सङ्क्रामक रोग ऐन, २०२० अनुसार नेपाल सरकारले मानिसमा उब्जेको वा फैलिएको वा फैलिने सम्भावना भएको कुनै सङ्क्रामक रोग नेपालभर वा त्यसको कुनै भागमा रोग उब्जेमा वा फैलिएमा वा फैलिने सम्भावना देखिएमा त्यसको रोकथाम गर्न आवश्यक कारवाही गर्न सक्ने व्यवस्था छ । ऐनमा सर्वसाधारण जनता वा कुनै व्यक्तिको समूह उपर लागू हुने गरी आवश्यक आदेश जारी गर्न सक्ने उल्लेख छ ।

निर्मूल गर्न वा रोग रोकथाम गर्नको लागि आवश्यक व्यवस्था मिलाउन कुनै अधिकारीलाई मुकरर गरी आवश्यक अधिकार सुम्पन सक्ने व्यवस्था पनि छ ।

याे पनि पढ्नुस  दिल्लीमा जनस्वास्थ्य मापदण्ड पालना गराउन प्रहरी परिचालन गरिने

ऐनमा सर्वसामान्यतामा प्रतिकूल असर नपर्ने गरी नेपाल सरकारले पैदल वा जुनसुकै सवारीको साधनबाट लगिने वा ल्याइने यात्रुको जाँचबुझ गर्न र त्यस्ता पशुपंक्षी वा यात्रुलाई कुनै सङ्क्रामक रोग लागेको छ भन्ने शङ्का लागेमा अस्पताल तथा अन्य स्थानमा अलग गरी राख्न वा कुनै किसिमबाट ल्याउन लैजान आवश्यक आदेश जारी गर्न सक्ने व्यवस्था छ ।

सोही व्यवस्थाअनुसार सरकारले गत चैत ११ गतेदेखि मुलुकभर लागू हुने गरी बन्दाबन्दीको आदेश जारी गरेको थियो । झण्डै चार महिनापछि साउन ५ गतेदेखि सरकारले बन्दाबन्दी हटाएको थियो । रासस

कमेन्ट गर्नुहोस्