काठमाडौंः नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी र सरकार भ्रष्टीकरणको बाटोमा अघि बढेको आरोप लगाएका छन् । जसका कारण बिसर्जनको गम्भीर खतरा बढ्दै गएको उनले बताए ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै श्रेष्ठले भने, ‘लामो बलिदानपछि उपलब्धि प्राप्त, दुई तिहाईको सरकार बन्यो । तर जसरी सरकारले जन अपेक्षाअनुरुप जानुपथ्र्यो र पार्टीले त्यसलाई नेतृत्व दिनुपथ्र्यो त्यो हुन सकेन ।’
उनले पार्टी र सरकार विधि पद्धति अनुरुप नचलेको भन्दै भ्रष्टीकरण हुने दिशातर्फ अघि बढेको भन्दै चिन्ता व्यक्त गरे । मजदुर, किसान, शोषित, पीडितको पक्षमा भन्दा दलाल र नोकका पक्षमा सरकार छ भन्ने कुरा पछिल्ला घटनाले पुष्टि गरेकाे उनले बताए ।
यो अवस्थामा दुइवटा बाटो रहेको उनले बताए । ‘पहिलो नकारात्मक पात्र र प्रवृतिलाई रुपान्तरण गर्ने बाटो थियो । मंसिर ४ र वैशाख ४ ले सम्बोधन गर्न खोजेको लाइन प्रवृतिमा सुधारको थियो । तर, दुबै सहमति पालना भएन’, उनले दुखेसो पोखे ।
त्यसपछि नकारात्मक पात्रहरुलाई फेरेर भएपनि पार्टीलाई अकर्मण्य र सरकारलाई असफल हुनबाट जोगाउनुपर्नेमा उनले जोड दिए ।
उनले थपे ‘तर यसका लागि बैठक बस्नुपर्छ । सबै मिलेर छलफल गर्नुपर्छ । त्यो बैठकले अहिलेको समस्या हल गरियोस् र महाधिवेशनतर्फ पार्टी अघि बढोस् । तर, महाधिवेशनका लागि पनि न्यूनतम संगठनात्मक तयारी र वैचारिक तयारी हुनु जरुरी छ । यहि कुरालाई गलत ढंगले व्याख्या गरिरहेका छन् ।’
नेकपा भित्रको क्रान्तिको मुख्य ध्येय समाजवादी क्रान्तिको आधार तयार पार्ने रहेको भन्दै उनले त्यसलाई सकारात्म पात्रहरुले पहल गरिरहेको बताए ।