हामी पार्टी एकता अक्षुण्य राख्न चाहन्छौं तर यो हाम्रो हातमा मात्रै छैनः प्रचण्ड

काठमाडौंः नेकपा अध्यक्ष प्रचण्डले पार्टी एकता अक्षुण्य राख्न चाहेको बताएका छन् ।

बुधबार काठमाडौंका एक अनौपचारिक कार्यक्रममा प्रचण्डले पार्टी एकता अक्षुण्य राख्न चाहेको बताएका हुन् । उनले पार्टीको निर्णय मान्दिन भन्ने हो भने एकता कसरी जोगिन्छ भन्दै प्रश्न गरे ।

उनले अहिले नेकपामा सैद्धान्तिक र रणनीतिक मुद्दा बहस भइरहेको बताए । तर, यसलाई पदको लडाइका रुपमा प्रचार गरिएको उनले गुनासो गरे । उनले पार्टी एकता पद प्राप्तिको भर्याङ नभएको समेत स्पष्ट पारेका छन् ।

उनले भने, ‘पार्टी एकतापछि थुप्रै उतारचढाव आए पनि मंसिर ४ मा मैले उदारतापुर्वक मैले यदि पार्टी सञ्चालन गर्ने जिम्मा पाउने हो भने मलाई अर्को ढाई वर्ष प्रधानमन्त्री हुने रहर छैन भनेर सहमति गरेको हो । पद त्यागको प्रक्रियाबाट आन्दोलन र पार्टीलाई बलियो बनाउने मेरो प्रयास रहँदै आयो ।’

विचार, मान्यता, विधि र पद्धति कस्तो हुने भन्ने बहस जीवित कम्युनिष्ट पार्टीमा भइरहने र यो सामान्य रहेको भन्दै उनले थपे, ‘पद हाम्रो बिषय होइन, देश र जनताको सेवा नै मुख्य हो । राष्ट्रको भविष्य सुनिश्चित गर्ने र विकास गर्ने जिम्मेवारीमा हामी छौँ ।’

सम्बन्धित समाचारः
बैठकबाट डराउने ओलीको काम छैनः नेपाल

पार्टी र सरकार भ्रष्टीकरणको बाटोमा अघि बढ्यो, बिसर्जनको गम्भीर खतराः प्रवक्ता श्रेष्ठ

प्रधानमन्त्री तथा नेकपा अध्यक्षतर्फ संकेत गर्दै प्रचण्डले भने, ‘पार्टी बैठकमा छलफल चलिरहेको बेला पार्टी खोल्न लगाउने, देशैभरि कार्यकर्ता उचालेर जिन्दावाद मुर्दावाद गर्न लगाउने, हामीले नक्सा छाप्नुपर्छ भनेर दबाब दिन बैठकमा निर्माण गर्ने दलाल हुने अनि नीति कार्यक्रममा पनि हामीले दबाब दिएर राख्न लगाउने चाहे राष्ट्रवादी हुने ? यो गम्भीर फुटेर गुटवादको अभ्यास बाहेक अरु केही होइन ।’

याे पनि पढ्नुस  बाँकी कार्यकाल ओली नै प्रधानमन्त्री

अहिलेको अग्रगमन र पश्चगमनको मुख्य बहस रहेको र यो बहस पार्टीभित्रको मात्रै भएर यसको सोझो सम्बन्ध आम जनताका आशा, अपेक्षा र सपनासँग जोडिएको प्रचण्डले बताए ।

प्रतिक्रियावादीहरूले गलत विचार, गलत तत्व र पात्रलाई उचालेर पार्टीलाई कमजोर बनाउँदै फुटाउन चाहेको आरोप लगाए ।

यस्तो छ कार्यक्रमा प्रचण्डले राखेको मन्तव्यको सारसंक्षेपः

पार्टीभित्रको बहस अग्रगमनतर्फ रुपान्तरण गर्ने कि बुर्जुवाहरुरूको हितसँग तालमेल गर्ने गर्ने कि यथास्थितिमा बस्ने हो । अर्को लेनिनवादी संगठनात्मक सिद्धान्त मानेर जाने कि व्यक्तिलाई केन्द्रमा राखेर जाने भन्ने यो बहसमा अन्तर्निहित छ । पार्र्टी ठूलो कि व्यक्ति पार्टी भन्दामाथि भन्ने कुरा यो बहसमा अन्तर्निहित रहेको छ । यस्तै, विवेकले सत्ता चलाउने कि सत्ताले विवेक चलाउने भन्ने प्रश्न पनि यो बहसभित्र रहेको छ ।

बुर्जुवा डेमोक्रेसिमा प्रधानमन्त्री नै अल इन अल भन्छ, तर कम्युनिष्ट पार्टीले मुलभुतरुपमा पार्टीको निर्देशनमा चल्ने बताउँछ । व्यक्तिले निर्णय गर्ने र त्यसको जिम्मेवारी समुहले लिइदिनुपर्ने जे भएको छ, त्यो गम्भीर महत्वको सैद्धान्तिक विषय हो । यसैगरी अर्थतन्त्रमा हामीले समाजवादी या प्रगतिशील अर्थतन्त्रको बाटोमा जाने कि नवउदारवादी अर्थतन्त्रको बाटोमा जाने बहस पनि हो । अहिले एमसिसिमा सरकारले देखाएको व्यवहारले सरकार नवउदारवादी अराजक पूँजिवादतर्फ अघि बढेको छ ।

यसरी हेर्दा पुँजीवादको बोट रोपेर समाजवादको फल फल्छ त भन्ने बहस गर्नुपर्ने अवस्था आएको छ । यो नि बहसको महत्ववपूर्ण मुद्दा हो । संगठनको कुरा गर्दा विधि पद्धति केही नि हैन, एकपटक निर्वाचित भएपछि कमिटी भन्दामाथि हुने कि निरन्तर कमिटीको विधिको सामुहिक निर्णय अनुरुप जाने भन्ने हो । कम्युनिष्ट पार्टीमा यस्तो हुँदैन । के हामी फेरि तानाशाह बन्न खोजेको हो भन्ने सैद्धान्तिक र रणनीतिक मुद्दा बहसमा छन् ।

यो बहसमार्फत मार्क्सवादी लेनिनवादी सैद्धान्तिक मान्यतालाई लामो समयपछिको उपलब्धिको रुपमा अझ विकास गरेर जान खोजिएको हो ।

पार्टी एकता पद प्राप्तिको भर्याङ थिएन

अहिले यति गम्भीर सैद्धान्तिक विषयलाई पदको लडाइका रुपमा प्रचार गरिएको छ । जबकी पार्टी एकता पद पाउन हैन पद त्यागको स्पिरिटमा भएको थियो र कसैलाई पदका लागि होला तर हाम्रा लागि पार्टी एकता पद प्राप्तिको भर्याङ थिएन ।

पार्टी एकतापछि थुप्रै उतारचढाव आए पनि मंसिर ४ मा मैले उदारतापुर्वक मैले यदि पार्टी सञ्चालन गर्ने जिम्मा पाउने हो भने मलाई अर्को ढाई वर्ष प्रधानमन्त्री हुने रहर छैन भनेर सहमति गरेको हो । पद त्यागको प्रक्रियाबाट आन्दोलन र पार्टीलाई बलियो बनाउने मेरो प्रयास रहँदै आयो ।

मैले मेरो अध्यक्षतामा बसेका बैठकलाई पुर्व गुट, आग्रह र पुर्वाग्रहरहितरुपमा जीवन्त, आत्मविश्वासपुर्ण वातावरण निर्माण हुने गरि सञ्चालन गरें । तर केही साथी र अध्यक्षलाई त्यो बैठक बडो बिडम्बनापुर्ण हुन पुग्यो । उनीहरूले पोलिसि शिफ्ट गर्ने भन्दै गोप्य गुट भेला गरे । कन्द्रीय समितिको बैठकको केही दिनपछि भएको यो भेलामा पुर्व पार्टी मनोविज्ञानमा फर्काउने, माओवादी र प्रचण्डलाई पेल्ने योजना बनाइयो ।

त्यसपछि सचिवालयको निर्णय समेत म मान्दिन भन्ने र अन्य कतिपय काम कारवाही पार्र्टीमा छलफल गर्ने या मसँग समेत सल्लाह नगरेर मसँग बदला लिने उद्देश्यले प्रेरित भएर कामहरु अघि बढे । यतिसम्म कि कुर्सी नै हटाउने काम समेत भयो । त्यो प्राविधिक कुरा मात्र थिएन त्यो अहंकारी सोच र अरुलाई अपमानित गरेर आनन्दित हुने सोचाईको प्रतिनिधित्व थियो ।

अहिले पार्टी एकतालाइ सुदृढ गर्ने गरेर सोच्ने कि अब भर्याङ चढिहाले, माथि पुगिहाले भनेर सोच्ने बहस चलिरहेको छ । पार्टीको निर्णय मान्दिन भन्ने हो भने एकता कसरी जोगिन्छ ।

अहिले महाधिवेशनमा विचार र कार्यदिशा विकास गर्ने तथा तत्कालका लागि जनताको जनवाद भन्ने सहमति भए पनि देशैभरि एकता विपरित जबजको बहस चलाइएको छ । जबज र एशजले खेलेको विशिष्ट भूमिका हामिले आत्मसात गरेकै छौ र यदि मैले पनि माओवाद जिन्दावाद भनेर देशैभरि कार्यकता परिचालन गरे क होला ?

अर्कोतर्फ पार्र्टी बैठकमा छलफल चलिरहेको बेला पार्टी खोल्न लगाउने, देशैभरि कार्यकर्ता उचालेर जिन्दावाद मुर्दावाद गर्न लगाउने रु हामीले नक्सा छाप्नुपर्छ भनेर दबाब दिन बैठकमा निर्माण गर्ने दलाल हुने अनि नीति कार्यक्रममा पनि हामीले दबाब दिएर राख्न लगाउने चाहे राष्ट्रवादी हुने रु यो गम्भीर फुटर गुटवादको अभ्यास बाहेक अरु केही होइन ।

त्यसैले अहिलेको बहस अग्रगमन र पश्चगमनको बहस मुख्य हो । यो बहस पार्टीभित्रको बहस मात्रै होइन, यसको सोझो सम्बन्ध आम जनताका आशा, अपेक्षा र सपनासँग जोडिएको छ । प्रतिक्रियावादीहरू हामीलाई कमजोर पार्न चाहन्छन् । त्यसैले उनीहरूले पर्टीभित्रका गलत विचार, गलत तत्व र पात्रलाई उचालेर उपयोग गरेर पार्टी फुटाउन चाहन्छन् ।

त्यसैले हाम्रो जोड सामूहिकता, अग्रगमन, विधि र एकताको पक्षमा जानुपर्छ । यसरी बहस चलाउनुको अर्थ कसैलाई निषेध गर्नु होइन । हामी एकता अक्षुण्य राख्न चाहन्छौ तर यो हाम्रो हातमा मात्र छैन । देशको भावना र परिस्थिति हेरेर हामीले एकताका लागि ठूलो संघर्ष गरिरहेका छौं तर हामी कठिन परिस्थितिका लागि पनि तयार हुनुपर्छ ।

हामी कम्युनिस्टहरू राम्रो भन्दा राम्रोका लागि तयार हुँदाहुँदै पनि खराब भन्दा खराब परिस्थितिका लागि पनि तयार हुनुपर्छ ।

कमेन्ट गर्नुहोस्