आज १३ सय बढी नेपाली स्वदेश फर्किए

काठमाडौंः विभिन्न मुलुकमा अलपत्र १ हजार ३ सय १३ नेपाली स्वदेश फर्किएका छन् । कोभिड-१९ महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीको विभिन्न एयरलाइन्सले उद्धार चार्टर्ड उडानमार्फत उनीहरूलाई स्वदेश फर्काएका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आवागमन र प्रस्थान दुवै गरी १५ अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन् । नेपाल एयरलाइन्सले दुबईबाट २ सय ६५ र दोहाबाट १ सय ५१ यात्रु काठमाडौं ल्याएको छ ।

त्यस्तै, कतारको दोहाबाट १ सय ५१ यात्रु नेपाल ल्याएको छ । सोही एयरलाइन्स थप नेपालीको उद्धारका लागि रियाद र दमाम प्रस्थान गरेको विमानस्थलले जनाएको छ ।

हिमालय एयरलाइन्सले दमामबाट १ सय ५४ यात्रु तथा २ शव नेपाल ल्याएको छ । आबुधाबीबाट १ सय ५४ यात्रु ल्याएको छ । हिमालयकै जहाजले इराकको बगदादबाट ३९ यात्रु ल्याएको छ ।

काठमाडौंबाट बगदाद जाँदा ३६ यात्रु लगेको थियो । थप नेपालीको उद्धारका लागि हिमालयको जहाज दोहा र दमाम उडेको छ ।

त्यस्तै, कतार एयरवेजले २ सय ५१, इतिहाज एयरले आबुधाबीबाट १ सय ३८ र फ्लाई दुबईले १ सय ६१ नेपाली काठमाडौं ल्याएको विमानस्थल कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बिहीबार पनि विभिन्न देशबाट नेपालीको उद्धारका लागि आगमन र प्रस्थान दुवै गरी ८ चार्टर्ड उडान हुने विमानस्थलको तालिका छ ।

आज आन्तरिकतर्फ पनि ७ वटा चार्टर्ड उडान भए । तारा र समिट एयरका जहाज तथा मनाङ, सिम्रिक र कैलाशको हेलिकाेप्टरले विभिन्न गन्तब्यमा उडान गरेका हुन् ।

कमेन्ट गर्नुहोस्