काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक सङ्क्रमणकालको अन्त्य गरेपछि मुलुक विकास र समृद्धिको यात्रामा अग्रसर रहेको बताएका छन् ।
२६औं विश्व आदिवासी दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले दशकौँ लामो राजनीतिक सङ्घर्षबाट प्राप्त उपलब्धिलाई संवैधानिकरूपमा सुरक्षित गरी राजनीतिक सङ्क्रमणकालको अन्त्य गरेपछि मुलुक विकास र समृद्धिको यात्रामा अग्रसर रहेको बताएका हुन् ।
उनले नेपालको संविधान र प्रचलित कानूनअनुसार आदिवासी जनजातिको सामाजिक, आर्थिक, सांस्कृतिक, भाषिक, कला, साहित्य एवं सीप आदिको उत्थान र विकास गरी उनीहरुलाई राष्ट्रिय जीवनको विभिन्न पक्षमा पहुँच र प्रतिनिधित्वको सुनिश्चितासँगै आर्थिक समानतासहितको समतामूलक समाज निर्माण गर्न सरकार निष्ठापूर्वक सक्रिय रहेको उल्लेख गरे । सरकारको यस उद्देश्यलाई सफल पार्न प्रधानमन्त्रीले आ–आफ्नो ठाउँबाट सक्रिय रहन सबैमा हार्दिक आह्वानसमेत गरे ।
प्रधानमन्त्री ओलीले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोनाले सिर्जना गरेको परिस्थितिलाई मध्यनजर गर्दै यसपटक यस पर्वलाई रचनात्मक एवं सुरक्षित तवरले मनाउनुपर्ने बाध्यता रहेको बताउनुभयो । उहाँले कोभिड–१९ को सङ्क्रमणबाट सुरक्षित हुने उपाय अवलम्बन गर्दै आ–आफ्नो स्थानमा रहेर दिवस मनाउन सबैमा आह्वानसमेत गर्नुभएको छ ।
उनले नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने सङ्कल्पसाथ समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा सरकारले तय गरेका उल्लेख गर्दै यस्तो बेला विश्वव्यापीरूपमा फैलिएको कोभिड–१९ को महामारीले नेपाललगायत विश्वमै स्वास्थ्य, सामाजिक र आर्थिक जीवनमा चुनौती खडा भएको बताए ।