काठमाडौं : कोरोना संक्रमित बढेपछि नेपाल राष्ट्र बैंकले बैंकहरूलाई फेरि ‘वर्क फ्रम होम’ नीति तत्काल लागू गर्न निर्देशन दिएको छ ।
नेपाल राष्ट्र बैंकले आइतबार बैंक तथा वित्तीय संस्थाको नाममा परिपत्र जारी गर्दै त्यस्तो निर्देशन दिएको हो ।
सो निर्देशनमा नेपाल सरकारबाट जारी स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डलाई पालना गर्दै सेवा प्रवाहमा निरन्तरताको लागि विजनेस कम्युनिटी प्लान तयार गर्दै आवश्यकता अनुसार आलोपालो प्रणालीमा कर्मचारी उपस्थित हुने व्यवस्था मिलाउनुपर्ने उल्लेख गरिएको छ ।
त्यस्तै, राष्ट्र बैंकले सरकारले विभिन्न स्थानमा लागु गरेको लबडाउन, निषेधाज्ञा, सवारीसाधनको जोरबिजोर प्रणालीलाई समेत मध्यनजर गर्दै फेरि वर्क फ्रम होम व्यवस्था मिलाएर कार्यसम्पादन गराउन भनिएको छ ।
राष्ट्र बैंकले प्रदेश सरकार, स्थानीय सरकार तथा स्थानीय प्रशासनलाई समेत ध्यानमा राखेर आलोपालो गरी बैंक तथा वित्तीय सेवा सुचारु गर्न समेत बैंकहरुलाई भनेको छ । साथै, यो समयमा विद्युतीय कारोबारहरुलाई थप प्रोत्साहित गर्दै जान समेत आग्रह गरिएको छ ।