काठमाडौं प्रवेशका झन् कडाइ, फेरि लागू भयो यस्तो नियम

काठमाडौंः उपत्यका नगरपालिका फोरमले कोभिङ–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)का संयोजक एवं उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग भेट गरी उपत्यका प्रवेशमा कडाइ गर्न आग्रह गरेको छ ।

आइतबार फोरमका अध्यक्ष एवं काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र फोरमका सचिव एवं मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले उपप्रधानमन्त्रीसँग भेट गरी उपत्यका प्रवेशमा कडाइ गर्न आग्रह गरेका हुन् ।

काठमाडौं देशकै राजधानी भएको र यहाँ घना बस्ती भएकाले कोरोना सङ्क्रमण समुदायस्तरमा फैलियो भने रोक्न नसक्ने भन्दै आवतजावतमा कडाइ गर्न आग्रह गरिएको फोरमले जनाएको छ । उपत्यका प्रवेश गर्ने प्रमुख नाकामा कडाइ गर्नुपर्ने, अन्तर जिल्ला यातायात खुला नगरिए पनि आवतजावत भइरहेकाले त्यसलाई रोक्न आग्रह गरिएको फोरमका सचिव श्रेष्ठले जानकारी दिए ।

याे पनि पढ्नुस  काठमाडौंमा कोरोनाः थपिँदै संक्रमित, बढ्दै जोखिम, अबको बाटो के ?

उपत्यकामा ठेलागाडा, उद्योगधन्दा र निर्माण क्षेत्रमा काम गर्ने मजदुरले स्वास्थ्यका न्यूनतम मापदण्ड पनि पालना नगरेकाले त्यसतर्फ सरकारको ध्यानाकर्षण गराइएको छ । उपत्यकावासीको मागमा उपप्रधानमन्त्री सकारात्मक रहेको जानकारी फोरम अध्यक्ष शाक्यले दिए ।

शाक्यले भने, ‘तेस्रो मुलुकबाट आउन सक्ने ठूलो सङ्ख्याका नागरिकलाई दष्टिगत गरी क्वारेन्टाइन व्यवस्थापन र सञ्चालन नियमावलीअनुसार एकीकत क्वारेन्टाइन सङ्घीय सरकारले सञ्चालन गर्ने र व्यवस्थापन स्थानीय सरकारले गर्ने गरी व्यवस्था गर्न आग्रह गरिएको छ ।’

याे पनि पढ्नुस  झनै खुकुलो बन्यो लकडाउन

उपत्यकाका विभिन्न स्थानमा विरोध, समर्थन, र्याली, भेला, बैठक, गोष्ठी, अनशन, जुलुस लगायतका गतिविधि कायम रहेकाले कडाइ गर्न ध्यानाकर्षण गराइएको उपत्यका नगरपालिका फोरमले जनाएको छ ।

छलफलपछि बसेको कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)ले २०० भन्दा बढी सक्रिय संक्रमित भएका जिल्लाबाट काठमाडौं उपत्यका आवतजावत गर्न पूर्ण रुपमा रोक लगाउन सरकारलाई सिफारिस गरेको छ । यसबारे आज बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय गर्नेछ ।

सीसीएमसीले फुटपाथ, ठेलागाडा र साइकलमा भइरहेको तरकारी, फलफूल, खाद्यान्न लगायतका ब्यापार पूर्ण रुपमा बन्द गर्न सिफारिस गरेको छ ।

याे पनि पढ्नुस  यात्रु ठग्ने १२ हजार ट्याक्सी चालक कारबाहीमा

यसैगरी, अनुमतिविना काठमाडौं उपत्यका छिर्न खोज्ने साढे ७ हजार सवारी साधन र करिब १९ हजार ४ सय यात्रुलाई प्रवेश नाकाबाटै फर्काइएको छ ।

तोकिएको निर्देशन विपरीत सवारी साधन चलाउने करिब १ लाख ३७ हजार जनाको २ पाङ्ग्रे र ४ पाङ्ग्रे सवारी साधन होल्ड गरिएको छ भने पुनः जोर विजोर प्रणाली लागू भएयता ५ हजार ३ सय सवारी साधनलाई नियन्त्रण र होल्डिङमा राखी कारबाही गरिएको गृह मन्त्रालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्