भगवती जात्राका उपलक्ष्यमा पाल्पामा सार्वजनिक विदा

तानसेनः धार्मिक धरोहर भगवती मन्दिरमा मेला लाग्ने दिन बुधबार प्रदेश नं ५ सरकारले पाल्पा जिल्लामा सार्वजनिक बिदा दिएको छ ।

जिल्लाको ऐतिहासिक रणउजिरेश्वरी भगवती मन्दिरमा विजयोत्सवका रुपमा मनाइँदै आएको रणउजिरेश्वरी भगवती जात्रा राष्ट्रिय स्वाधीनताका लागि लडेको गौरवपूर्ण इतिहासको उत्सव रहेको प्रदेश ननं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले बताए ।

मुख्यमन्त्री पोखरेलले आज शुभकामना सन्देश दिँदै दुई शताब्दीदेखि निरन्तर चलिरहेको जात्राले नयाँ पुस्ताका लागि पुर्खाको वीरता गाथाको स्मरण गराउने बताए । उनले कोभिड -१९ विरुद्धको सङ्घर्षमा रहेका बेला विगतभन्दा फरक ढङ्गले सामाजिक दूरी कायम गरेर जात्रा मनाउन आग्रह गरे ।

मन्दिरका अध्यक्ष राजेश्वर उदयले पाल्पाको तानसेनमा युद्धमा जानुअघि कर्णेल उजिरसिंह थापाले तानसेनको भगवतीको पाउ छोएर युद्धमा विजयी भएमा मन्दिर बनाई सिन्दूरजात्रा गर्ने भाकल गरेको र भाकल पूरा भएपछि गजूरसहितको तीनतले मन्दिर निर्माण गरेको इतिहास उल्लेख भएको बताए ।

उनका अनुसार जात्रामा तानसेन नगरपालिका परिक्रमा गर्ने चलन भए पनि यस पटक मनाइने २०२ औंँ जात्रा शृङ्खलामा सीमित व्यक्तिको सहभागिता हुने छ ।

आज जाग्राम बसी बुधबार बिहान ११ बजेसम्म सर्वसाधारणका लागि पूजाको व्यवस्थापन मिलाएर पुनः मन्दिरमा स्प्रेले सफा गरेपछि जात्रा निकालिने समितिले जनाएको छ ।

विसं १८७१-७२ मा नेपाल अङ्ग्रेज युद्धका क्रममा नेपाली सेनाका अमर योद्धा उजिरसिंको नेतृत्वमा जीतगढी विजय हासिल गरेको र सोको खुशीयालीमा विसं १८७६ देखि भाद्रकृष्ण नवमीका दिन भगवती रथयात्रा गर्ने प्रचलन छ ।

मन्दिरमा हरेक वर्ष भाद्र कृष्णपक्षको नवमीको दिन भगवती जात्राहुँदै आएको छ । मन्दिरमा लाग्ने जात्राका बेला यस वर्षदेखि पाल्पामा सार्वजनिक बिदा दिने प्रदेश नं ५ सरकारले निर्णय गरेको छ ।

कमेन्ट गर्नुहोस्