आज मात्रै नेपालमा कोरोनाका कारण ६ जनाको मृत्यु

फाइल तस्बिर ।

काठमाडौंः नेपालमा आज थप ६ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ ।

बुधबार दिउँसो १ बजेसम्मको तथ्यांकअनुसार ललितपुरमा तीन, बुटवल, सप्तरी र सुनसरीमा १/१ जना गरी ६ जनाको मृत्यु भएको हो ।

योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने यसबारेमा नियमित पत्रकार सम्मेलनमा जानकारी दिनेछ ।

‍‍‍

जनकपुरधामका पूर्व नगरप्रमुख कृष्ण गिरीको मृत्यु भएको छ । ललितपुरस्थिति मेडिसिटी अस्पतालमा उपचाररत गिरीको मंगलबार राति मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

जनकपुरधामस्थित होटेल रामाका सञ्चालकसमेत रहेका ७२ वर्षीय गिरीलाई मस्तिष्कघात भएपछि साउन ९ गते मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । जनकपुरधाम–२, मिल्स एरिया निवासी थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो ।

परिवारका सदस्य अनुराग गिरीका अनुसार उपचारकै क्रममा राति मृत्यु भएको र शव व्यवस्थापनको लागि नेपाली सेनाले तयारी गर्दैछ । उपचारकै क्रममा उनमा कोरोना सङ्क्रमणको पुष्टि भएको बताइएको छ ।

याे पनि पढ्नुस  नवलपरासीमा ११ जनाको आरडिटी रिपोर्ट पोजिटिभ

उनका श्रीमती र दुई छोरा छन् । विक्रम सम्वनत् २०४४/४५ मा जनकपुरधाम नगरपालिकाको मेयरमा निर्वाचित उनी पञ्चायत कालका अन्तिम मेयर हुन् ।

अष्ट्रेलिया र बेलायतमा रहेका गिरीका दुवै छोरा एक साताअघि मात्रै नेपाल आएका थिए । वि.सं. २००५ साल साउन २७ गते जन्मिएका गिरीको ७२ वर्ष पूरा भएकै दिन निधन भएको हो ।


ललितपुरको किस्ट मेडिकल कलेजमा मृत्यु भएकी १ महिलाको पीसीआर गर्दा नतिजा पोजिटिभ देखिएको छ । मंगलबार राति मृत्यु भएकी ती महिलाको बुधबार बिहान कोरोना परीक्षण गर्दा नतिजा पोजिटिभ देखिएको हो ।

मृतक काठमाडौं टेकुकी ७८ वर्षीया महिला हुन् । उनलाई यही २६ साउनमा पाटन अस्पतालले किस्टमा रिफर गरेको थियो । उनमा ज्वरो, पखाला र वान्ताको समस्या देखिएको थियो ।

ललितपुरको पाटन अस्पतालमा उपचाररत एक जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । मृतक जनकपुरकी ३८ वर्षीया महिला हुन् ।

याे पनि पढ्नुस  कोरोना कहरः साढे ९५ हजार बढीको मृत्यु, १६ लाख नाघे संक्रमित (सूचीसहित)

यही साउन १८ गते उनी पाटन अस्पतालमा भर्ना भएकी थिइन् । स्वास्थ्य कार्यालय ललितपुरले उनको मृत्यु बुधबार भएको पुष्टि गरेको छ ।

सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मोरङको बुढिगंगा गाउँपालिका २ का ५५ बर्षिय पुरुषको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए ।

बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत दुई जनाको आज बिहान मृत्यु भएको छ । मृतकमध्ये एक जना कोरोना संक्रमित भएको र अर्का शंकास्पद संक्रमित ब्यक्ति हुन ।

मृतकमध्ये एक जना कपिलवस्तु नगरपालिका–२ तौलिहवाका ४२ वर्षे पुरुष कोरोना संक्रमित रहेको अस्पताल कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले बताए । उनलाई साउन २५ गते कोरोना विशेष अस्पतालमा ल्याइएको थियो । अस्पतालमा ल्याए लगत्तै आसियुबाट भेन्टिलेटरमा सारिएकोे थियो ।

याे पनि पढ्नुस  कोरोना जितेः नर्सले फूल दिँदै गर्दा प्रहरीले हत्कडी लगाएपछि...

अर्का मृतक कपिलवस्तुको कृष्णनगर नगरपालिका–१३ का २२ वर्षेका युवक हुन् । उनलाई साउन २७ गते अस्पताल ल्याइएको थियो । गम्भीर अवस्था देखिएपछि उनलाई आइसीयु हुँदै उसैदिन भेन्टिलेटरमा राखिएको थियो । उनको कोरोना परीक्षण रिपोर्ट आउँन बाँकी छ ।

कोरोना भाइरस संक्रमणका कारण सप्तरीमा थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनीयालाल यादवका अनुसार कोरोनाबाट मंगलबार राति थप एक जनाको मृत्यु भएको हो ।

डाकनेश्वरी नगरपालिका वडा नम्बर ८ घर भई राजविराज नगरपालिका–६ मा बस्दै आएका ७९ वर्षीय पुरुषको मृत्यु भएको प्रमुख यादवले जानकारी दिए ।

चारदिन अघि ज्वरो आएपछि उपचार गराउन आएका ती पुरुषको स्वाब लिइएको थियो । स्वाब परीक्षणको रिर्पोट मंगलवार साँझ पोजेटिभ आएसँगै उनलाई आइसोलेसन ल्याउने क्रममा मृत्यु स्वास्थ्य कार्यालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्