बर्दिबास नगरपालिकाले आफैँ कोरोना परीक्षण गर्दै

जलेशवरः महोत्तरी जिल्लाको बर्दिबास नगरपालिकाले आजदेखि आफैँ कोभिड-१९ को परीक्षण शुरु गरेको छ । आफ्ना नगर क्षेत्रभित्रका जनताका लागि आफ्नै लगानीमा आरडीटी पीसीआर मेशिन गरिद गरी नगरपालिकाले अब आफैँले कोभिड-१९ को परीक्षण शुरु गरेको नगरप्रमुख विदुरकुमार कार्कीले बताए ।

नगर क्षेत्रभित्र पनि कोरोना समुदायस्तरमै फैलिएको भन्दै उनले सङ्क्रमणलाई नियन्त्रणमा लिन सबभन्दा पहिले सङ्क्रमितको सम्पर्कमा आएकालाई पहिचान गर्दै तिनको परीक्षणलाई प्राथमिकता दिएको बताए ।

‘बर्दिबासबासी यसअघि स्थानीयस्तरमा कोरोना परीक्षणको व्यवस्था नहुँदा प्रादेशिक अस्पताल जनकपुरको भर परेका थिए’, नगरप्रमुख कार्कीले भने, ‘तर अब बर्दिबासको सङ्कलित स्वाब परीक्षण गर्न बाहिर पठाउनुपर्ने बाध्यता हटेको छ ।’

पहिलापहिला कोरोना परीक्षणको रिपोर्ट आउन १५ दिन लाग्ने गरेको तर अब आफ्नै मेशिन भएपछि आजको भोलि नै रिपोर्ट आउने र दैनिक ८ सय को स्वाब परीक्षण गर्न मिल्ने भएको उनले बताए ।

बर्दिबास नगरपालिका गत जेठ ५ गते नै आफैँ कोरोना मेशिन खरिद गर्ने निर्णय गरेअनुरुप मेशिन खरिद गरेर आजदेखि आफ्ना क्षेत्रका जनताको सेवामा जुटेको छ ।

कमेन्ट गर्नुहोस्