संकटमा भारतीय अर्थतन्त्र, लकडाउनपछि २३.९ प्रतिशतले खस्कियो जिडिपी

नयाँ दिल्ली । कोरोनाका कारण भारतीय अर्थतन्त्रमा गम्भीर असर देखा परेको छ ।

अनुमान गरिए विपरित लकडाउन पछिको पहिलो त्रैमासिकमा कुल गार्हस्थ उत्पादनमा २३.९ प्रतिशतले ओरालो लागेको छ ।

कुल गार्हस्थ उत्पादनमा समावेश गरिएका जम्मा ८ क्षेत्र मध्ये कृषि क्षेत्र मात्रै सकारात्मक देखिएको छ भने अन्य सबै क्षेत्रमा नकारात्मक असर परेको छ ।

भारतको राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार जारी गरेको तथ्यांकले भारतीय अर्थतन्त्रको डरलाग्दो तस्वीर सार्वजनिक गरेको हो ।

कोरोनाको प्रभाव झन बढिरहेको सन्दर्भममा अप्रिल देखि जुनसम्मको त्रैमासिकको यो तथ्यांक यो चालु त्रैमासिकमा झनै भयावह हुन सक्ने देखिएको छ ।

सार्वजनिक गरिएको तथ्यांक अनुसार, कृषिको बृद्धि दर मात्रै ३.४ प्रतिशत रहेको छ भने अरु सबै क्षेत्रमा नकारात्मक बृद्धि दर छ । उत्पादन (म्यानुफेक्चरिङ) क्षेत्रमा ३९.३ प्रतिशत, माइनिङ क्षेत्रमा २३.३ प्रतिशतले ओरालो देखिएको छ । सबैभन्दा बढी निर्माण क्षेत्रमा असर परेको देखिन्छ । यो क्षेत्रमा ग्रोथ रेट ५०.२ प्रतिशतले खस्केको छ । यसैगरी व्यापार, होटल, यातायात र सञ्चारको क्षेत्रमा समेत बृद्धि दरमा ४७ प्रतिशतले ह्रास आएका छ ।

यसअघि भारतको केन्द्रीय बैंक रिजर्ब बैंक अफ इण्डियाका तर्फबाट जिडिपीमा २१.५ प्रतिशत ह्रास आउन सक्ने प्रक्षेपण गरिएको थियो । यसैगरी घरेलु रेटिङ एजेन्सीका रुपमा परिचित केयर रेटिङ्सले भने यो अवधिमा जिडिपीमा २० प्रतिशत र अर्को संस्था इकोरेपले १६.५ प्रतिशतले ह्रास आउने अनुमान गरेको थियो । तर वास्तविकतामा भने यो झनै बढेको सोमबार सार्वजनिक तथ्यांकबाट देखिन्छ ।

कुला गार्हस्थ उत्पादनमा देशमा बनाइने या उत्पादन हुने सबै सामान र सेवाहरुको कुल मूल्य जोडने गरिन्छ । कुनै पनि देशको अर्थव्यवस्थाको वास्तविक अनुमान जिडिपीबाट गर्ने गरिन्छ । यसबाट कुनै पनि देशमा कसरी विकास भइरहेको छ र विकासको अवस्था के छ भन्ने थाहा हुन्छ । भारतीय तथ्यांक कार्यालयले हरेक त्रैमासिकको तथ्यांक सार्वजनिक गर्ने गर्दछ ।

सोमबार सार्वजनिक गरिएको तथ्यांक भने लकडाउन पछिको पहिलो त्रैमासिक अर्थात् अप्रिलदेखि जुनसम्मको हो ।

पछिल्लो चरणमा लकडाउनमा खुकुलो गरिएको कारण अर्थव्यवस्थालाई केही राहत पुग्ने बताइएपनि वास्तविकतामा भने त्यस्तो देखिने सम्भावना कमै रहेको विश्लेषकहरु बताउँछन् । खासगरी कोरोनाविरुद्धको खर्च, उत्पादनमा देखिएको ह्रास, उत्पादन हुने अवस्थामा समेत त्यसको वितरण र उपभोगको सामान्य अवस्था नहुनु जस्ता अवस्थाले अर्थतन्त्रमा मन्दी सिर्जना हुन सक्ने अनुमान गरिएको छ ।

 

कमेन्ट गर्नुहोस्