कोरोना संक्रमित भएपछि मेयर शाक्यले निकाले विज्ञप्ती, संक्रमित र स्वास्थ्यकर्मीलाई दुव्र्यवहार नगर्न आग्रह

कोरोना संक्रमित भएपछि काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले विज्ञप्ती जारी गरेका छन् । मेयर शाक्यले कोरोनाविरुद्धको लडाई एक्लै जित्न नसकिने भन्दै दुव्र्यवहार नगर्न समेत अपील गरेका छन् ।

मंगलबार विज्ञप्ति जारी गर्दै उनले कोरोना संक्रमण भएका व्यक्ति, कोरोनाविरुद्ध फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मी कसैलाई पनि दुर्व्यवहार नगर्न आग्रह गरेका छन् ।

मेयर शाक्यले आफूलाई कोरोना देखिएपनि कोरोनाका कुनै लक्षण देखा नपरेको बताएका छन् । आफूमा मनोबल उच्च रहेको र त्यसले कोरोना परास्त गर्न सफल भइने उनको विश्वास छ । आफ्नी श्रीमतीलाई ज्वरो देखिएपछि ग्रान्डी अस्पतालमा नियमित उपचार गराउन गएको र चिकित्सकको सल्लाह अनुसार दुवैजनाको कोरोना परीक्षणका लागि स्वाब दिएपछि आफूमा कोरोना देखिएको शाक्यले बताएका छन् ।

अहोरात्र कार्यक्षेत्रमा खटिइरहेको अवस्थामा संक्रमण भएको उनले बताएका छन् ।

परिवारसहित होम आइसोलेसनमा स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै बसिरहेको शाक्यले भनेका छन् । ‘कोरोनाजस्तो अदृश्य शत्रुसँगको लडाइँ एक्लाएक्लै जित्न सकिन्न । त्यसैले आआफ्नो ठाउँबाट एकमुष्ठ प्रयास गरौं र कोरोनालाई परास्त गरौं,”

कमेन्ट गर्नुहोस्