अब पिसिआर रिपोर्ट नभई कर्णाली जान नपाइने, संक्रमितको उपचार सरकारले गर्ने

सुर्खेत । कर्णाली सरकारले कोरोनाको परीक्षण नगरी कर्णाली जान नपाइने निर्णय गरेको छ ।

प्रदेशमा लक्षणसहितका संक्रमित थपिन थालेपछि यो निर्णय गरिएको हो । अब कर्णाली जाने सबै नाकामा अनिवार्यरुपमा रिपोर्ट माग गरिने छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले पीसीआर रिपोर्ट अनिवार्य देखाउनुपर्ने निर्णय गरेको सरकारका प्रवक्ता विमला केसीले मिडियालाई बताएकी छिन ।

बैठकले गरेका अन्य निर्णयहरुः

  • संघीय सरकारको स्वास्थ्यसम्बन्धी नयाँ मापदण्डअनुसार कार्यान्वयन गर्ने गराउने,
  • भौतिक दूरी कायम गर्ने कार्य कडाइका साथ लागु गर्ने, संक्रमित स्थानलाई कोभिड१९ को प्रोटोकलअनुसार स्थानीय तहसँग समन्वय र सहकार्य गरी स्थानीय प्रशासनले सिल गर्ने कार्य प्रचलित कानूनअनुसार गराउने,
  • कोरोनाका लक्षण देखिएकालाई अनिवार्य पीसीआर परीक्षण गराउने र कन्ट्याक्ट ट्रेसिङका आधारमा क्वारेटाइनरआइसोलेशनमा राख्ने व्यवस्था मिलाउने
  • कोरोना संक्रमितलाई सामाजिक विकास मन्त्रालयले निःशुल्क उपचार गर्ने व्यवस्था मिलाउने तथा कोरोना भाइरसबाट हुन सक्ने प्रभावको विश्लेषण गरी आवश्यक पर्ने जनशक्ति, पूर्वाधार, उपचार सामग्री, औषधि तथा उपकरण लेखाजोखा गरी आवश्यक प्रस्ताव सामाजिक विकास मन्त्रालयले पेस गर्ने र सोका लागि प्रभावकारी तयारी गर्ने निर्णय
  • प्रदेश सरकारबाट सञ्चालित क्वारेन्टाइनमा खाना खुवाउनका लागि हाल आवश्यक पर्ने बजेट ७५ लाख रूपयाँ उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई सम्बन्धित कोषबाट आन्तरिक मामिला तथा कानून मन्त्रालयले उपलब्ध गराउने

 

कमेन्ट गर्नुहोस्