अछाममा कुटपिटबाट २४ वर्षीय युवकको ज्यान गयो

अछामः अछाममा २४ वर्षीय युवकको कुटपिटपछि ज्यान गएको छ । मङ्गलसेन नगरपालिका १४ कालागाउँका २४ वर्षीय छोरा सन्तोष भण्डारीको जिल्ला अस्पताल अछाममा बुधबार ज्यान गएको हो ।

मङ्गलबार मङ्गलसेन नगरपालिका १४ कालागाउँको खाँदमा कमलबजार नगरपालिका वडा नम्बर ६ हात्तीबाझका युवासँग आपसी विवाद भएपछि कुटपिट हुँदा गम्भीर घाइते भएका भण्डारीको बुधबार दिउँसो जिल्ला अस्पताल अछाममा ज्यान गएको बताइएको छ ।

याे पनि पढ्नुस  श्रीमानको कुटपिटबाट घाइते श्रीमतीको मृत्यु

बाह्य चोट धेरै नदेखिए पनि भित्री भागमा गम्भीर चोट लागेको र थप उपचारका लागि नेपालगञ्ज रेफर गरिए पनि हेलिकप्टरमा लैजान नपाउँदै मङ्गलसेनमा ज्यान गएको जिल्ला अस्पताल अछामका प्रमुख डाक्टर मनोज विष्टले बताए।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार कुटपिटका कारण ज्यान गुमाएकोले घटनाको अनुसन्धान जारी छ । कमलबजार नगरपालिकाका ६ हात्तीबाझका भूपेन्द्र शाहीलगायतका युवाको समूहले भण्डारीलाई कुटपिट गरेकाले बुधबार बिहानैदेखि खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी रमेशदत्त अवस्थीले बताए ।

याे पनि पढ्नुस  धानबाली नष्ट गरेको भन्ने समाचारबारे बोल्यो गृहमन्त्रीको सचिवालय

मृतकका आफन्तको तर्फबाट समेत प्रहरी कार्यालयमा उजुरी आइसकेकाले भूपेन्द्र शाही फरार रहेकाले खोजी तीव्र पारिएको उनले बताए । मृतक भण्डारीका आफन्तले घटनामा संलग्न दोषीलाई चाँडोभन्दा चाँडो पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेका छन् ।

 

कमेन्ट गर्नुहोस्