दुर्गाथलीमा सडक निमार्ण उपभोक्ता समितिका अध्यक्षमा श्रीमान-श्रीमती, करोड बढी कुम्ल्याएकाे आरोप

सुनिल धामी, बझाङ : जिल्लाको दुर्गाथली गाउँपालिकाको विनायक-चुवावन सडक खण्डको निमार्ण समितिले डोजर सञ्चालकलाई रकम नदिएको भेटिएको छ ।

नेकपा सुदूरपश्चिम प्रदेश कमिटी सदस्यसमेत रहेका उपभोक्ता समितिका अध्यक्ष आनन्दलाल विक ‘किरण’ र उनकै श्रीमती शारदा विक उपभोक्ता समतिमा अध्यक्ष छन् । वडा नं ६ र ५ अन्तर्गतको विनायक-चुवावन सडक खण्डको भलानेदेखि पान्डाडासम्मको सडकमा श्रीमती र पान्नडाडा चुवाबन खण्डमा श्रीमान् अध्यक्ष भएर काम भएको थियो ।

आर्थिक वर्ष २०७५/०७६ मा जिल्लाको दुर्गाथली गाउँपालिका-६ र ५ विनायक-चुवावन सडकखण्ड निर्माणका लागि तत्कालिन उपभोक्ता समितिका अध्यक्ष शारदाकुमारी विक र दुर्गाथली-६ का राजमल जाग्रीबीच निर्माण कार्यका लागि एक्साभेटर परिचालन गर्ने सम्झौता भयो ।

सम्झौता पत्रमा प्रतिघण्टा ७ हजार ५ सय रुपैयाँका दरले मेसिन भाडामा लिने, उपभोक्ता समितिले मेसिनको हेरविचार गर्ने, मेसिन भाडामा लिइसकेपछि कुनै विवादका कारण काम रोकिन गएमा समितिले नै भाडा व्यहोर्नु पर्ने र मेसिन चलेको प्रत्येक २ सय ५० घण्टापछि जम्मा हुन आउने भाडा वाफतको रकम समितिले मेसिन सञ्चालकलाई चुक्ता गर्नु पर्ने लगायतका सर्तहरू समावेश गरिएका थिए ।

समिति र मेसिन सञ्चालक विचको सम्झौता पत्र 

सडक निर्माण सम्पन्न भएको २ वर्ष बितिसक्दा पनि मेसिन सञ्चालक राजमल जाग्रीले पाउनुपर्ने १ करोड ११ लाख ५० हजार बराबरको रकम अझै पाउन सकेका छैनन् । आफूले पाउनुपर्ने रकम नपाएको भन्दै बारम्बार उपभोक्ता समिति, गाउँपालिका अध्यक्षलगायत विभिन्न पार्टीका नेताहरूलाई जानकारी गराउँदासमेत जाग्रीले पाउनुपर्ने रकम पाउन सकेका छैनन् । सडक खण्डको निर्माण कार्य सम्पन्न भएपछि मेसिन सञ्चालक राजमल जाग्रीले १५ सय ८० घण्टा मेसिन सञ्चालन भएको ७ हजार ५ सयप्रति घण्टाका दरले जम्मा हुन आउने रकम १ करोड १८ लाख ५० हजार रुपैयाँ हुन गयो । जसमध्ये ७ लाख रुपैयाँ मेसिन सञ्चालक राजमल जाग्रीले पेश्की वाफत लिएका थिए भने १ करोड ११ लाख ५० हजार रुपैयाँ पाउनु पर्ने थियो ।

याे पनि पढ्नुस  बझाङमा रुखबाट खसेर महिलाको मृत्यु

 

आफूले पाउनुपर्ने बाँकी रकम पाउँ भनेर मेसिन सञ्चालक जाग्रीले समितिलाई अनुरोध गरे । तर, समितिले खातामा रकम नभएको भन्दै जाग्रीको हातमा करारनामा पत्र मात्रै थमाएर छोडे । करारनामा पत्रमा उल्लेख भएको जम्मा रकममध्ये ४० लाख २०७७ सालको असार मसान्तभित्र तिर्ने र बाँकी रकम आगामी वर्षभित्र तिर्ने व्यहोरा उल्लेख गरिएको छ । करारनामा पत्रमा उल्लेख भएबमोजिम ४० लाख रुपैयाँ असार मसान्तमा नपाएको गुनासो मेसिन सञ्चालक जाग्रीको रहेको छ ।

उनले भने, ‘अषाढ मसान्तभित्रै ४० लाख मैले पाउनु पर्ने हो । तर, बारम्बार अनुरोध गर्दा समेत गाउँपालिकाले भुक्तानी दिएको छैन । भुक्तानी दिएपछि मिलाउँछु भनेर टार्ने गरेका छन् ।’

    हिसाब गरेको १ करोड ११ लाखको सम्झौता पत्र  

यद्यपी गाउँपालिकाबाट ८० लाख र वडाको ४४ लाख बराबरको रकम समितिको नाममा भुक्तानी भइसकेको बताए । ‘सडक निमार्ण गर्दा सडकको हेरचाह गर्ने लडेर गम्भीर घाईते हुँदा पनि समितिले वेवास्ता गरेपछि आफैँले व्यक्तिगत रूपमा उपचार खर्च गरेको छु । सडक निमार्ण गर्ने क्रममा भाडामा ल्याएको डोजर पल्टिएको र डोजरकै विषयमा डोजर मालिकसँग भनाभन हुँदा ३ दिन अपहरणमा समेत परेको दुनियाँलाई थाहा छ ।’

याे पनि पढ्नुस  बझाङमा सुरुङभित्र फसेका ४ मध्ये तीन जना मृत भेटिए

समितिले मेसिन चलाउने जिम्मा लिएको भए पनि आफूले सहकारी तथा बैंकबाट ऋण लिएर तेल तथा अपरेटरको खर्च उनले बताए । उपभोक्ता समितिले ऋणमा डुबाएर आफनो व्यवसाय समेत धरापमा परेको जाग्रीको भनाई रहेको छ । उनले उपभोक्ता समितिका अध्यक्षको मिलेमतोमा करोड हिनामिना भएको आरोपमसमेत लगाए ।

उपभोक्ता समितिका अध्यक्ष आनन्दलाल विकले भने राजमल जाग्रीलाई रकम भुक्तानी भइसकेको बताए । वडा कार्यालयबाट विनियोजित रकमको ४४ लाखमध्ये १३ लाख ५० हजार र गाउँपालिकाको ८० लाखमध्ये २३ लाख भुक्तानी भइसकेको उनको भनाई छ । बाँकी रकम कहाँ गयो भन्ने प्रश्नमा बिकले कर कट्टी, कन्जनटेन्सी, उपभोक्ता समितिको खर्चमा र पहिले सम्झौता भएको डोजरावालालाई भुक्तानी गरेको बताए ।

सुरुमा श्रीमती शारदा अध्यक्ष भएको भए पनि सुत्केरी भएपछि आफू अध्यक्ष भएको बिकको भनाई छ । आफूले कुनै बदमासी नगरेको र राजमल जाग्रीकै कारणले आफूमाथि लागेको आरोपबारे अनभिज्ञ रहेको उनले बताए ।

आनन्दलालले राजनैतिक आडमा गाउँमा आएको विभिन्न योजनामा पैसा कुम्ल्याउने गरेको स्थानीयको आरोप छ । अध्यक्ष परिवर्तन भए पनि बैकको खाता अझै पनि पुरानै समितिको नाममा छ । सूर्योदय माविका अध्यक्ष हुँदा पनि विद्यालयमा आएका योजनामा पनि अनियमितता गरेको, लामो समयदेखि चुवावनमा लघुजलविद्युत आयोजनामा आएको रकम काम नगरी भुक्तानी गरेर आफैले चलाएको, ५ बर्ष अघि बलिसक्नुपर्ने विद्युत अलपत्र पारेर गाउँलाई अन्धकारमा राखेको स्थानियको आरोप छ ।

याे पनि पढ्नुस  गाउँको विकासमा स्वार्थ होइन भविष्य हेरौँ, कार्यकर्ता होइन समृद्धिको आँकलन गरौँ

नेकपाभित्रैबाट पेलिए जाग्री

सत्ताधारी नेपाल कम्युनिष्ट पार्टीभित्रका केही नेताहरूले आफुलाई विगतदेखि नै पेलेको जाग्रीको गुनासो छ । वाईसिएल नेपालको पूर्व जिल्ला उपाध्यक्ष समेत रहेका जाग्रीले पार्टीलाई निरन्तर आर्थिक, भौतिक र राजनैतिक सहयोग गर्दागर्दै पनि आफूलाई केहि नेताहरूले असहयोग गरेको बताए ।

सडककै काममा अपहरण

‘सडक खण्ड निर्माण कार्यका लागि समितिसँग सम्झौता भइसकेपछि निर्माणको क्रममा मेसिन पल्टियो । मेसिन पल्टिएको  १ हप्ताभित्रै अर्काे मेसिन लगाएर निर्माण कार्यलाई निरन्तरता दियौँ । पल्टिएको मेसिन १ जना भारतीय नागरिक रेहान खानबाट भाडामा सम्झौता गरेर ल्याएको थिए । मेसिन पल्टियपछि भारतिय नागरिक खानसँग विवाद भयो,’ उनले गुनासो गर्दै भने ।

खानले आफू र धनराज जोशीलाई भारतको पलियामा अपहरण गरेको बताए । आफूलाई १३ लाख रुपैयाँ फिरौती बुझाउने सर्तमा छोडेको र १३ लाख रुपैयाँ बुझाएर जोशीलाई अपहरणमुक्त बनाएको उनले बताए ।

कमेन्ट गर्नुहोस्