अन्ततः पूरा भयो वामदेवको सांसद बन्ने सपना, खतिवडाको अर्थमन्त्रीको यात्रामा पूर्णविराम !

काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले रिक्त रहेको राष्ट्रियसभा सदस्यको एक सिटमा वामदेव गौतमलाई मनोनित गर्ने निर्णय गरेको छ ।

बिहीबारको बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले प्रधानमन्त्रीले राष्ट्रियसभाको रिक्त एक सदस्यमा गौतमलाई मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने बैठकलाई जानकारी गराएको बताए ।

संविधानअनुसार संसदको सदस्य नरहेको व्यक्ति ६ महिनाभन्दा बढी मन्त्री बन्न नमिल्ने व्यवस्थाअनुसार अर्थमन्त्री डा. युवराज खतिवडाको ६ महिने कार्यकाल शनिबार राति १२ बजे सकिँदैछ ।

यसअघि अर्थमन्त्री डा. युवराज खतिवडालाई राष्ट्रियसभामा लैजाने कि गौतमलाई भन्नेमा पार्टीभित्र अन्योलता देखिएको थियो । त्यसबारेमा नेकपाभित्र दुई धार रहेको थियो । अध्यक्ष प्रचण्ड तथा वरिष्ठ नेता माधव नेपाललगायतका नेताहरुले वामदेव गौतमलाई यसअघिको सहमतिअनुसार राष्ट्रियसभामा लैजानुपर्ने अडान राख्दै आएका थिए । नेकपाको यसअघिको सचिवालय बैठकले वामदेवलाई राष्ट्रिय सभामा लैजाने निर्णय गरेको थियो ।

याे पनि पढ्नुस  नेकपा विवादः दुई मन्त्रीले मध्यराति ट्वीट गर्दै के भने ?

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओली भने खतिवडालाई नै फेरि राष्ट्रिय सभामा लैजान चाहन्थे र अर्थमन्त्री बनाइरहन चाहन्थे । ओली वामदेवलाई प्रतिनिधिसभाकै कुनै पद रिक्त गराएर निर्वाचनमार्फत प्रतिनिधि सभामा लैजाने पक्षमा देखिन्छ । त्यसका लागि उनले धेरै कसरत गरेका थिए ।

त्यसैको प्रयास स्वरुप ओलीले बुधबार प्रचण्ड र गौतमलाई भेटेका थिए । प्रचण्डले पार्टीले पहिले गरेको निर्णयअनुसार गौतमलाई राष्ट्रिय सभामा मनोनित गर्नुपर्ने बताएका थिए भने गौतमले पनि आफू राष्ट्रिय सभामा जाने अडान दोहोर्याए ।

याे पनि पढ्नुस  नेकपाको विवाद सहमति उन्मुख, पार्टीपङ्ति खुसी

अन्ततः ओली राष्ट्रिय सभाको रिक्त एक सदस्यमा गौतमलाई मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गर्न बाध्य भएका हुन् । यसअघि पार्टीमा राजीनामाको माग उठ्दा गौतमले ६ बुँदै प्रस्तावले ओलीलाई राहत भएको थियो । त्यसकारण पनि ओली गौतमबारे सकरात्मक भएका हुन् । यसअघि ओलीबाट वामदेवले पटकपटक धोका पाएका थिए । यो निर्णयले वामदेवलाई आफ्नै पक्षमा राख्न पनि ओली सफल भएका छन् ।

योसँगै वामदेवको सांसद बन्ने सपना पूरा भएको छ भने खतिवडाको अर्थमन्त्रीको यात्रा लगभग समाप्त भएको छ ।

याे पनि पढ्नुस  लकडाउन खुकुलो बनाउने गृहकार्य गर्दै सरकार

गत निर्वाचनमा बर्दियाबाट पराजित भएका गौतमले त्यसपछि संसद प्रवेश गर्नका लागि अनेकौं प्रयास गरेका थिए । तर, त्यसमा असफल भएका उनी अन्ततः पार्टीबाट निर्णय गराउँदै सांसद बन्ने सपना पूरा गर्न सफल भएका छन् ।

अब खतिवडा बाहिरिने भएपछि नेकपा भित्रबाट अर्थमन्त्री को बन्छ भन्ने पनि बहस शुरू भएको छ । हुन त गौतमले उपप्रधानसहित अर्थमन्त्री बन्ने इच्छा देखाएका छन् । तर, संविधानमा भएको व्यवस्थाअनुसार चुनावमा पराजित व्यक्ति मन्त्री बन्न पाउँदैन ।

सकियो नेकपा सचिवालय बैठक, के भयो निर्णय ?

कमेन्ट गर्नुहोस्