सांसदहरूले भने, ‘कञ्चनपुरका सीडीओ सरुवाको निर्णय सच्याउनुपर्छ’

कञ्चनपुर : त्रिनगर-गौरीफन्टा नाकाको विषयलाई लिएर कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) नूरहरि खतिवडाको सरुवा गर्नु कञ्चनपुरमाथि ‘डोमिनेट’ गर्नु भएको नेताहरुले बताएका छन्।

त्रिनगर नाकास्थित आफ्नै क्षेत्रमा सुरक्षाकर्मी खटाएको विषयलाई लिएर सिडिओको सरुवा गर्नु कञ्चनपुर माथि राज्यको ‘डोमिनेट’ भएको प्रतिक्रिया कञ्चनपुरका नेताहरुले दिएका हुन्।

प्रतिनिधि सभा अन्तर्गत महिला तथा सामाजिक विकास समिति सभापति समेत रहेकी सांसद निरु पालले कञ्चनपुरका सिडिओलाई कैलालीका नेताहरुले सरुवा गर्नु गलत भएको बताउदै सम्बन्धित निकायमा कुरा उठाएको बताएकी छन्। उनले कञ्चनपुरको ठाँउलाई कञ्चनपुर हो भन्नु सिडिओको अपराध नभएको र राम्रो काम गर्ने राष्ट्रसेवकलाई पुरस्कृत गर्नुको सट्टा उल्टै सजाय दिएको बताइन् । ‘सिडिओले बोलेको कुरा गलत छैन। उहाँले राम्रै गर्न खोजिरहनुभएको थियो। विगतदेखि नै कञ्चनपुरको ठाँउलाई कञ्चनपुर हो भन्नु अपराध होइन,’ सांसद पालले भनिन्, ‘कञ्चनपुरमा गरेका कामहरु हेर्दा नै थाहा हुन्छ उहाँले कस्तो गर्नुभएको छ। यस्तो राम्रो काम गर्नेलाई पुरस्कृत गर्नुपर्ने हो। तर सजाय दिइएको छ।’

उनले डोकेबजार क्षेत्रमा कञ्चनपुरबाटै सशस्त्र प्रहरीको बिओपी राख्ने काम सराह्निय भएको बताउदै चोरी–तस्करीलाई नियन्त्रण गनुर्छ भन्दा उहाँकै सरुवा गर्नु निन्दनीय भएको बताइन्। सांसद पालले त्रिनगर नाकाका बारेमा कञ्चनपुरका सिडिओेले मात्रै एकलौटी निर्णय नगरेको तर्क गर्दै खतिवडाको मात्रै सरुवा हुनु नियोजित भएको बताइन्।

‘यो यहाँको सिडिओले मात्रै गरेको निर्णय होइन। कैलाली र कञ्चनपुर दुबै जिल्लाका सिडिओ, नेपाल प्रहरी र सशस्त्र प्रहरीलगायत चारै एसपी बसेर संयुक्त रुपमा गरेको निर्णय हो,’ सांसद पालले भनिन् ‘यो उहाँले हावाको भरमा गरेको निर्णय होइन जे यर्थाथ हो त्यहि निर्णय गरेको हो। कञ्चनपुरको हकमा परेको ठाँउमा कञ्चनपुरले बिओपी राख्नु भनेको त अपराध होइन।’

याे पनि पढ्नुस  कञ्चनपुरमा उच्च ज्वरोबाट ३ जनाको मृत्यु

सिडिओले प्रशासनिक काम गर्ने भएकाले राम्रो काम गरेकै कारण सरुवा हुनु विडम्बना भएको पालको भनाई छ। ‘कैलालीको नेताले कञ्चनपुरका सिडिओ किन सरुवा गर्ने? उनको प्रश्न छ, ‘कैलालीको नेताले कञ्चनपुरका सिडिओ सरुवा गर्ने कुरा निकै गम्भीर बिषय हो।’ सांसद पालले कञ्चनपुरमा सिडिओले राम्रो काम गर्दा कैलालीमा झगडा गरायो भन्नु हास्यास्पद भएको बताइन्।

‘कञ्चनपुरको सिडिओले कैलालीमा झगडा गरायो भन्ने छ । त्यसरी एउटा जिल्लाको सिडिओले अर्को जिल्लामा झगडा गराउन मिल्छ,’ उनले पुनः भनिन्, ‘फेरि त्यो कञ्चनपुरको सिडिओ एक्लैले गरेको निर्णय पनि त होइन।’

नेताहरुले आफू अनुकूलको काम नगरे कर्मचारीको सरुवा गर्ने प्रवृति गलत भएको कञ्चनपुर–३ का प्रतिनिधि सभा सदस्य डा. दिपक प्रकाश भट्टले बताए। उनले समग्र कामको मूल्यांकन नगरी प्रतिष्ठाको विषय बनाएर नेताहरुले कर्मचारीको सरुवा गर्ने सोच र शैली दुबै गलत भएको बताएका हुन्।

‘कर्मचारी सरुवाको काम गृह मन्त्रालय अन्तर्गत हुन्छ। तर नेताहरुले आफ्नो प्रतिष्ठाको विषय बनाएर कर्मचारीको सम्रग कामको मूल्याकंन नै नगरि सरुवाका लागि लविङ गर्नु गतल प्रवृति हो,’ उनले भने ‘यो हिजो पनि थियो। पञ्चायतकालदेखि हामीले पनि सुन्दै आएका थियौ। आज पनि त्यो भयो भने निजामति कर्मचारीले आफ्नो योग्यता र क्षमता अनुसार काम गर्न सक्दनैन्।’

सिडिओ नुरहरि खतिवडाले कञ्चनपुरमा छोटो समयमै राम्रो काम गरेको बताउदै सांसद भट्टले कुनै समूहको स्वार्थका लागि गरिएको उनको सरुवाले आफू अचम्मित भएको बताए। ‘हाम्रै प्रमुख जिल्ला अधिकारीकै कुरा गरौं। उहाँ जुन सिचोएसनमा कञ्चनपुर आउनुभयो। त्यो अवस्थामा पनि धेरै राम्रा कामहरु गर्नुभएको छ,’ उनले भने, ‘कोभिडकै सवालमा हेर्यौ भने उहाँले एकदमै राम्रो र सबै पक्षसँग समन्वय गरेर काम गर्नुभएको थियो।’

याे पनि पढ्नुस  बेलडाँडीमा वनमन्त्री तथा खानेपानीमन्त्रीद्वारा शुक्लाफाँटा प्रवेशद्वार शिलान्यास

त्रिनगर नाकालाई नेपाल–भारत सीमा अतिक्रमण जस्तो मुद्दा बनाइएको सांसद भट्टको भनाई छ। उनले प्रशासनिक संरचनाको कुरामा नेताहरुले आक्रोश र प्रतिष्ठाको विषय बनाउन आवश्यक नभएको बतादै जिल्लामा छलफलनै नगरी कैलालीको दवावमा कञ्चनपुरका सिडिओ फेर्नु अस्वीकार्य भएको बताए।

‘मैले गृहमन्त्री र गृह सचिवसँग पनि यस विषयमा कुरा गरेको छु। समस्या नै थियो भने हामीसँग छलफल गर्नुपथ्र्यो,’ उनले भने ‘कैलालीकाले भन्दा मात्रै त्यो विषयमा प्रतिक्रिया हुने वा निर्णय गर्नुपर्ने जरुरी त थिएन भनेका छौ।’ कञ्चनपुरका सिडिओ खतिवडाको सरुवाका विषयमा दुई खालको प्रवृतिले गर्दा समस्या उत्पन्न भएको उनको भनाई छ। ‘हामी कहाँ दुई खालको प्रवृति छ। एउटा काम गर्ने, अर्को प्रोपोगण्डा गर्ने,’ उनले भने, ‘अहिले भएको पनि त्यहि प्रोपोगाण्डा नै हो।’

त्रिनगर नाकालाई कञ्चनपुरको सुरक्षा जिम्मामा लिने सिडिओको व्यक्तिगत निर्णय नभएको उनले प्रष्ट्याए। भने, ‘व्यक्तिगत निर्णय नै भएको भएपनि हामी कञ्चनपुरका जनप्रतिनिधी छौ। हामी पनि आफ्नो कुरा राख्थ्यौ होला। तर एकलौटी रुपमा जसरी लाग्नुभएको छ। त्यो कदापी राम्रो होइन।’

सुदूरपश्चिम प्रदेश सभाका प्रमुख सचेतक तारालामा तामाङले सिडिओ नुरहरि खतिवडाले उठाएको सवाल ठिक भएको भन्दै त्यहि विषयलाई लिएर उनको सरुवा गर्नु उनी माथीको अन्याय भएको बताए। ‘सिडिओ सापले उठाएको इस्यु ठिक थियो,’ उनले भने, ‘भन्सार नाकाका विषयमा गलत अर्थ लगाइयो।’ उनले पुनर्वास क्षेत्रका स्थानीयलाई भन्सारको दक्षिणतर्फबाट आवतजावतमा समस्या भएकाले आफूहरुले लामो समयदेखि त्यहाँको ब्यारियललाई सहज गर्न भन्दै आएको स्मरण गराए।

याे पनि पढ्नुस  निङ्गलाशैनी विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा पुनः भट्ट चयन

आफूहरुले पटक पटक भन्सार प्रमुख तथा महानिर्देशकसँग आग्रह गरेपछि डोकेबजार क्षेत्रमै यात्रु शाखा बनिरहेको बताउदै सांसद तामाङले लकडाउनले गर्दा त्यसलाई संचालन गर्न ढिलाई भइरहेका बेला सिडिओले त्यसलाई चाडै गर्नुपर्यो भन्दा गलत व्याख्या गरिएको तर्क गरे।

‘हामीले धेरै पटक भन्सारका प्रमख र डिजिसँग डोकेबजार क्षेत्रमै यात्रु शाखा बनाउन भनेपछि अहिले त्यहाँ भवन बनेको छ। लकडाउनले त्यसलाई संचालन गर्न ढिलाइ हुँदा चाडै त्यसलाई संचालन गर्नुपर्यो भनिएको हो। तर सिडोओले बोलेको कुरालाई गलत व्याख्या गरियो,’ उनले भने, ‘किनभने यो सिडोओ आउनुभन्दा पहिले बनिसकेको हो नि भवन त । त्यसकै छेउमा ब्यारियल । त्यसले गर्दा राजश्व पनि झन बढी उठ्छ।’

उनले त्रिनगर नाकाको बिचमा कञ्चनपुर भएकाले राजश्व चुहावट हुनसक्ने भन्दै डोकेबजार क्षेत्रमै ब्यारियल राख्दा ठूलो परिणाममा राजश्व उठ्ने भएकाले त्यसलाई अलि चाडो गर भन्ने कुरालाई अतिरञ्जित गरिएको बताए।

कञ्चनपुर निर्वाचन क्षेत्र १ का प्रदेश सभा सदस्य तामाङले कुनै समूहले व्यक्तिगत स्वार्थका लागि कञ्चनपुरका सिडिओको सरुवा गरेको बताए। ‘विभिन्न व्यक्तिको इन्टेन्सनमा राम्रो कुरा गरेको सिडिओलाई फोकटियामा सरुवा गरियो,’ उनले भने, ‘हामीले भन्ने ठाँउमा भनेका छौ। जहाँसम्म लाग्छ न्याय हुन्छ।’

सिडिओ खतिवडालाई मन्त्रालयमा झिकाइएको विषयमा बोल्दै उनले भने, ‘राम्रो काम गर्दा गर्दै अर्काको जिल्लाका नेताको कुरा सुनेर हामीसँग छलफलनै नगरी सिडिओलाई सरुवा गर्नु कञ्चनपुरलाई ‘डोमिनेट’ फिल भएको छ।’ महेन्द्रनगर पोस्टबाट साभार

कमेन्ट गर्नुहोस्