यस्ता पो श्रीमानः गर्भवती श्रीमतीलाई १२ सय किलोमिटर स्कूटरमा बोकेर पुगे परीक्षा केन्द्र

झारखण्ड । कोरोना महामारीले गर्दा यातायात ठप्प रहेको बेला परीक्षा दिनुपर्ने अवस्थामा के होला ?

अझ परीक्षा केन्द्र नजिक भए त हिंडेर पनि जान सकिएला । तर १२ सय किलोमिटर टाढा गएर परीक्षा दिनु परे नि ?

झन त्यसमा गर्भवती भएको बेला ।

“भो, यसपाली यस्तै भयो, छोडिदिन्छु” भनिन्छ होला ।

तर झारखण्डका एकजना युवकले भने हिम्मत हारेनन् ।

गर्भवती श्रीमतीलाई बोकेर १२ सय किलोमिटर टाढा गएका ती युवक अहिले भारतीय मिडियामा चर्चाको विषय बनेका छन् ।

झारखण्ड गोंडा जिल्लाको गन्टा टोला निवासी धनञ्जय कुमार । उनकी श्रीमती डिप्लोमा इन एजुकेसन पढिरहेकी थिइन । छ महिनाको गर्भ पेटमा थियो । तर कोरोनाले परीक्षा तालिका भने सरेन । परीक्षा केन्द्र थियो ग्वालियर । १२ सय किलोमिटर टाढा ।

त्यसपछि उनलाई आपत आइपर्यो । के गर्ने कसो गर्ने ? भन्ने अवस्था सिर्जना भयो । अनि उनले ठूलै निर्णय गरे ।

लकडाउनका कारण बस र रेल भने बन्द थियो । श्रीमती सोनीले शुरुमा त मानिन् तर अन्तमा दम्पत्ति निस्के यात्रामा ।

धनञ्जयका अनुसार, उनले कतैबाट दश हजार रुपैयाँ सापटी लिए । ट्याक्सी बुक गरेको भए उनले तीस हजार तिर्नुपथ्र्यो । त्यति पैसा थिएन । त्यसपछि उनीहरु

स्कूटरमा नै ग्वालियरतर्फ हिंडे । पाँच हजार रुपैयाँ यात्रामा खर्च भएको उनले बताए ।

बाटोमा यसरी यात्रा गर्नु खासै सहज थिएन । बिहारको बाटो आउँदा बाटोमा वर्षाले सताएको उनले बताए । तर उनले हिम्मत हारेनन् । मुजफ्फरपुर र लखनउमा रात काटेर उनी दुई दिनमा ग्वालियर पुगे । श्रीमती गर्भवती भएको कारण तीब्र गतिमा स्कूटर चलाउन सकिने अवस्था नभएको उनले बताए ।

ग्वालियरमा उनी त्यति लामो यात्रा गरेर आएको कुरा थाहा पाएपछि यसले ठूलो चर्चा बटुल्यो । कतैबाट सहयोग नपाए स्कूटरबाट नै फर्किने कुरा उनले भनेपछि यो सामाजिक सञ्जालमा भाइरल बन्यो । ग्वालियर पुगेर उनले १५ दिनका लागि १५ सय रुपैयाँमा कोठा भाडामा लिए । परीक्षा ११ सेप्टेम्बरसम्म चल्ने छ ।

 

यो कुरा थाहा पाएपछि राज्य प्रशासनले उनलाई सुरक्षित घर फर्काउनका लागि आवश्यक पहल गर्न निर्देशन दिएको छ । ग्वालियरका कलेक्टरले महिला सशक्तिकरण अधिकारी शालिनी शर्मालाई तत्काल धनञ्जय र सोनीलाई भेटन निर्देशन दिए । अहिले उनी बसेको स्थानको भाडा र राशन खर्च पनि सरकारले व्यहोर्ने र गर्भवती भएका कारण लाग्ने अन्य स्याहारको व्यवस्था पनि सरकारले गर्ने बताएको छ । ग्वालियर प्रशासनले सोनीको अल्ट्रासाउण्ड लगायतको व्यवस्था समेत गरेको छ ।

धनञ्जय आफु भने जम्मा आठ पास छन् । उनी एउटा क्याटरिनमा कुकको काम गर्छन । गत डिसेम्बरमा सोनीसँग उनको बिहे भएको थियो ।

सोनीका अनुसार, शुरुमा त परीक्षा दिन सक्दैन कि जस्तो लागेको थियो । तर श्रीमानको हिम्मत देखेर अब कस्सिएर पढने उनले बताइन । झारखण्डमा शिक्षकको भर्ती हुँदा आवेदन दिने उनको मन छ ।

कमेन्ट गर्नुहोस्