बैतडीमा हालसम्म ३७५ जना संक्रमित, फेरि थपियो निषेधाज्ञा

बैतडीमा भदौ ३१ सम्म निषेधाज्ञा थपिएको छ ।  जिल्ला प्रशासन कार्यालय बैतडीले सूचना जारी गर्दै २२ भदौदेखि ३१ गतेसम्म निषेधाज्ञा खुकुलो पारी लम्ब्याउने निर्णय गरेको हो ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र र जिल्ला सुरक्षा समितिको बैठकले बैठकपछि प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीद्वारा जारी आदेशमा निषेधाज्ञाका बेला गर्न पाउने र नपाउने कुरा उल्लेख गरिएको छ । अनिवार्यरूपमा मास्क, सेनिटाइजर, सामाजिक दूरी कायम गरेर बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म सबै प्रकारका पसल खोल्न दिने निर्णय भएको जारी आदेशमा उल्लेख गरिएको छ ।

यस्तै सवारी साधनको हकमा जोरबिजोर प्रणालीअन्तर्गत सञ्चालन गर्न दिने र निषेधाज्ञाको अनुगमन गर्ने निर्णयसमेत भएको प्रजिअ जोशीले बताए । जनजीवनलाई केही सहज हुने गरेर निषेधाज्ञा खुकुलो पारेकाे भए पनि पूर्णरूपमा स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन जाेशीले आग्रह गरेका छन्

यसअघि ८ भदौदेखि १४ गतेसम्म पहिलो चरणको निषेधाज्ञा र १४ गतेदेखि २१ भदौसम्म दोस्रो चरणको निषेधाज्ञा जारी गरिएको थियो । दुई हप्ता लामो निषेधाज्ञा सोमबारदेखि केही खुकुलो हुने भएको हो । बैतडीमा हालसम्म ३ सय ७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यीमध्ये ३ सय ६० जना निको भएर घर फर्किइसकेका छन् भने १५ जना विभिन्न स्थानीय तहका विभिन्न आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।

 

कमेन्ट गर्नुहोस्