कर्मचारीमाथि कोरोना संकटः ‘आफ्नै परिवारले आशंकित आँखाले हेर्छ’

आज निजामती दिवस । कोरोना महामारीले सबै क्षेत्रमा असर पारेको छ । तर निजामती कर्मचारी भने यसको झनै उच्च जोखिममा रहेका छन् । निजामती कर्मचारीलाई आवश्यक स्वास्थ्य सुरक्षा लगायतका सतर्कताका बारेमा राज्य गम्भीर नभएको भन्दै कर्मचारी संगठनहरुले ध्यानाकर्षण समेत गराएका छन् ।

के छ कोरोनाकालमा निजामती कर्मचारीको अवस्था, संक्रमणको जोखिम कस्तो छ ? रोकथाम र उपचारका लागि सरकार र निकायहरुले के कस्तो भूमिका खेलिरहेका छन् ? आधिकारिक ट्रेड यूनियनका सचिव अम्बादत्त भट्टसँग गरिएको कुराकानी ।

१. कोरोनाले सबै क्षेत्रमा असर पारेको छ । थुप्रै कर्मचारी पनि यसबाट संक्रमित बनेका छन् । कसरी हेर्नुभएको छ ?

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना महामारी कारण विगत ६ महिनादेखि सिङ्गो देश अस्तव्यस्त छ । हजारौं मजदूरहरुको रोजीरोटी गुमेको छ । देशको अर्थतन्त्र ओरालो लागेको छ । अत्यावश्यक सेवा प्रदान गर्नुपर्ने राष्ट्रसेवकको स्वास्थ्य सुरक्षा सम्बन्धी उपकरण तथा साधनहरुको पर्याप्त व्यवस्था नहुँदा सयौं राष्ट्रसेवक कर्मचारी तथा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीहरु संक्रमित बनेका छन् ।

तर अग्रपंक्तिमा बसेर जनतालाई उपचार गरिरहेका स्वास्थ्यकर्मीलाई बसेको क्वारेन्टाइनबाट समेत निकाल्ने सम्मका घटनाक्रमले हाम्रो समाज र जोखिममा रहेका हामी राष्ट्रसेवक कर्मचारीको वास्तविक अवस्था दर्शाएको छ । अर्कोतर्फ कार्यालय तथा अन्य स्थानमा व्यक्तिगत सावधानी अपनाउन खोजिएपनि काम गर्ने वातावरण, परिस्थिति र स्वास्थ्य सतर्कता सम्बन्धी आवश्यक साधनको कमीका कारण कर्मचारीहरु हरेक क्षण भाइरसको जोखिममा रहेका छन् । कतिखेर कहाँ, के हुने हो ? भन्ने अवस्था रहेको छ । बिहान घरबाट निस्केपछि साँझ आफ्नै घरमा फर्किंदा ‘कोरोना पो सरेछ कि ?’ भनेर आफ्नै परिवारले आशंकित आँखाले हेर्ने अवस्था हामीहरुको रहेको छ ।

याे पनि पढ्नुस  अब कुकुरले सुँघेरै काेराेना टेष्ट गर्ने, यस्तो हुँदैछ तयारी !

२. कर्मचारीलाई कोरोनाबाट जोगाउन सरकारले के कस्तो पहल गरेको छ ?

कोरोना संक्रमित स्वास्थ्यकर्मी र राष्ट्रसेवकहरुको उपचार गर्ने निश्चित अस्पताल, एकान्तवास या आइसोलेसन सेन्टरको व्यवस्था हुन सकिरहेको छैन । अधिकांश स्वास्थ्यकर्मी र कर्मचारी डेरामा बस्नुपर्ने अवस्था भएको झन बहिस्कृत हुनुपर्ने बिडम्बना छ । कतिपय यस्ता खबरले हामी मर्माहत भएका छौं । सरकार तथा कोरोना रोकथाम समितिले संघ, प्रदेश र स्थानीय तहको समन्वयमा एकीकृत  एकान्तवास (आईसोलेसन सेन्टर) बनाउने निर्णय गरेकाे भए पनि उपयुक्त  व्यवस्था हुन सकेको छैन ।

३. सम्बन्धित निकायले नै आवश्यक सतर्कताका लागि काम गर्नुपर्ने होइन र ? के पाउनु भएको छ ?

सरकारले स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड जारी गरेको छ । सरकारले जनचेतना फैलाउन आवश्यक कदम चाल्नुपर्नेमा ठोस कार्ययोजना बनाएर कार्यान्वयन गर्न नसकेको अवस्था विद्यमान छ । व्यक्ति विशेषको पक्ष विपक्षमा भेला, नारा जुलुस गर्ने, सांस्कृतिक पर्वहरुमा सामाजिक दूरि कायम गर्ने गराउने विषयमा अनावश्यक राजनीतिले प्रवेश पाउँदा झन समस्या निम्तिन पुगेको हो । स्थानीय तह, प्रदेश र सरकारका बीच आपसी समन्वय हुन सकेको छैन । तीनवटै तहमा समन्वयको अभाव हुने तर अनावश्यक प्रचारबाजीको लहडले गर्दा महामारीले विकराल रुप लिन पुगेको छ ।

याे पनि पढ्नुस  भैरहवामा कोरोना संक्रमितको मृत्यु

४. कर्मचारीमा कोरोना रोकथाम र उपचारका लागि गर्नुपर्ने मुख्य कामहरु के हुन ?

हामीले विगतदेखि नै निजामति अस्पताललाई स्तरोन्नती गरी साटवटै प्रदेशमा विस्तार गर्नुपर्छ भनेर आवाज उठाउँदै आएका थियौं । अहिले सुरक्षा निकायका राष्ट्रसेवकहरुको उपचार गर्न सम्बन्धित निकायबाट सञ्चालिन अस्पताल हुँदा केही राहत भएको छ ।

निजामति अस्पतालको व्यवस्थामा ५ सय सैय्याको केन्द्रीय राष्ट्रसेवक आइसोलेसन सेन्टर, प्रदेशस्तरमा २ सय शैय्याको प्रदेश राष्ट्रसेवक एकान्तवासको व्यवस्थापन गरी जिल्ला जिल्लामा संक्रमित राष्ट्रसेवकहरुलाई प्रदेश र केन्द्रमा उपचार गरी छिटो भन छिटो संक्रमणमुक्त भएर राष्ट्रसेवामा समर्पित हुने व्यवस्था गर्नु अति आवश्यक छ ।

५. आज निजामति दिवस, नेपालमा कर्मचारीले भोग्नु परेका मुख्य समस्याहरु के के हुन ?

आज २२ गते निजामति सेवा दिवसको अवसरमा सबैमा निजामति सेवा दिवसको हार्दिक शुभकामना दिन चाहन्छ । हरेक राष्ट्रको कर्मचारीतन्त्र भनेको स्थायी सरकारको रुपमा लिइने गर्दछ । त्यसको विधिसम्मत तरिकाले योग्यता प्रणालीका आधारमा गठन तथा सञ्चालन हुने विश्वव्यापी मान्यता रहेको छ । निजामति कर्मचारीले राज्यले प्रदान गर्ने सेवा सुविधा बाहेक अन्य पेशा व्यवसायमा आबद्ध हुन नपाउने व्यवस्था निजामति सेवा ऐनले गरेको छ । जबकि सरकारले राष्ट्र सेवकहरुलाई प्रदान गरेको सेवासुविधालेले जीवन धान्न सकिने अवस्था छैन ।

याे पनि पढ्नुस  निको भएका रौतहटका युवकको रिपोर्ट पोजेटिभ, पुनः अस्पताल भर्ना

एकातिर सेवा सुरक्षामा अस्थिरता, वृत्ति विकासमा असमानता तथा सेवा सुविधा वितरणमा समेत भेदभाव भएकोले २, ४ प्रतिशत कर्मचारीले चोर बाटो अपनएर कालो धन थुपार्ने र पहुँचको बलमा कालोलाई सेतो धनमा रुपान्तरण गर्ने अवस्था समते नभएको होइन । यसको असर सिंगो कर्मचारीतन्त्रमा परेको छ । तर यो एकजना कर्मचारीको मात्रै समस्या नभएर समग्र राजनीतिक प्रणालीसँग समेत यो जोडिएको छ । त्यसले गर्दा स्थायीको लोभ बाहेक आम राष्ट्रसेवक कर्मचारी जीवन निर्वाह र आश्रित परिवारको व्यवस्थापनको समस्याले निरुत्साहित हुनुपर्ने अवस्था छ ।

कर्मचारीलाई प्रोत्साहित गर्ने, हौसला दिने, उनीहरुलाई पेशागतरुपमा सक्षम तुल्याउने, अवसर दिने, सार्वजनिक सेवामा पूर्ण सहुलियत दिएर उत्साहित वातावरण बनाउनेतर्फ राज्यको ध्यान जान सकेको छैन । जीवनभरको पारिश्रमिक एक ठाउँमा थुपारेर पनि जीवनकालभरि एउटा टहरो हाल्न नसक्ने अवस्थामा कर्मचारी बाँच्नुपर्ने आजको यथार्थ तस्वीर हो ।

कमेन्ट गर्नुहोस्