चलचित्र निर्देशक छेतन गुरुङको निधन

काठमाडौं : चलचित्र निर्देशक तथा लेखक छेतन गुरुङको ४२ वर्षको उमेरमा निधन भएको छ । मेट्रो अस्पताल, महाराजगंजमा उनको उपचारको क्रममा मङ्गलबार राति मृत्यु भएको हो । गुरुङ कलेजोमा समस्याबाट पीडित थिए ।

केही समयदेखि उनी चलचित्र ‘हुतुतु’ निर्देशनको तयारीमा थिए । ‘हुतुतु’ को स्किृप्टमै काम भइरहेको थियो । कोरोना भाइरसले सिर्जना गरेको असहज परिस्थिति सामान्य हुनासाथ फिल्मको छायाङ्कन थालिने तयारी थियो ।

आसुसेन फिल्म प्रोड्क्सनको ब्यानरमा निर्माण हुने चलचित्रमा निर्माता तथा निर्देशक सन्तोष सेन र गुरुङ निर्मातामा रुपमा आउन लागेका थिए । चलचित्रमा प्रदीपसँगै हरिवंश आचार्य, पल शाह, नाजिर हुसेन, सलोन बस्नेत, गौरव पहारी, मओत्से गुरुङ, राजाराम पौडेललगायत पक्का भइसकेको थियो ।

निर्माता तथा निर्देशक सन्तोष सेनले छेतनको असामयिक निधनले आफू दुःखी भएको बताउँदै नेपाली चलचित्र उद्योगले ठूलो क्षति गरेको प्रतिक्रिया दिए ।

नोभेम्बर रेन, क्लासिक, ‘ए मेरो हजुर ३’ लगायत फिल्मका स्क्रिप्ट तयार पारेका छेतनले ‘डमरुको डन्डीबियो’ निर्देशन गरेपछि ‘प्रेम गीत ३’ निर्देशन गरेका थिए ।

कमेन्ट गर्नुहोस्