बाग्लुङमा बाढी र पहिरोः १ को मृत्यु, २ महिला वेपत्ता

बाग्लुङ । बाग्लुङमा पहिरोमा पुरिएर दुई महिला बेपत्ता भएका छन् ।

अविरल वर्षाका कारण घर माथिबाट आएको पहिरोले पुरिएर बागलुङको जैमिनी नगरपालिका– ५ बिनामारेमा पहिरोले निलकण्ठ पौडेलको घर पुरिएर जल्पादेवी पौडेल बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक दिपक रिजालले जानकारी दिएका छन ।

घरमा भएका अन्य ६ जना सामान्य घाइते भएका छन् । यस्तै, जैमिनी नगरपालिका–१ मा पनि पहिरोले घर पुरिएर लक्ष्मीदेवी उपाध्याय बेपत्ता भएको जनाइएको छ ।

जैमिनीमा १ काे मृत्यु

बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेरामा पहिरोले घर पुरिँदा एक वृद्धाको मृत्यु भएको छ । कुश्मीशेराको टुनिबोटमा घर माथिबाट आएको पहिरोले घर पुरिँदा ६० वर्षीया लक्ष्मी पौडेलको मृत्यु भएको हो ।

याे पनि पढ्नुस  लमही–घोराही सडकखण्ड भत्किएपछि एकतर्फीमात्रै सवारी सन्चालन

उनका ७० वर्षीय श्रीमान् मणिभद्र पाध्या गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र कुश्मीशेरा लगिएको छ ।

गाेठमा क्षति

बागलुङ–कुश्मीशेरा सडक निर्माणका क्रममा लगाइएको तारजालीसहितको पहिरोले टुनीबोटका तीन घरमा क्षति पुर्याएको स्थानीय केदार पौडेलले बताए । आज बिहान ५ बजे खसेको पहिरोले तीनै घरका गोठमा समेत क्षति पुर्याएको छ ।

पहिरोको थप विवरण आउन बाँकी छ । प्रहरी चौकी कुश्मीशेराको टोली घटनास्थलमा पुग्दै गरेको प्रहरीले जनाएको छ ।

ताराखोला गाउँपालिकामा झोलुङ्गे पुलमा क्षति

यसैबीच बागलुङ जिल्लाको ताराखोला गाउँपालिकामा वर्षासँगै आएको बाढीले पाँच वटा झोलुङ्गे पुलमा क्षति पुर्याएको छ । गाउँपालिकाको दोगाडी घाट, करीमेलाको उपल्लो र तल्लो, मिचेक घाट र कुचुङ्गे घाटको झोलुङ्गे पुलमा क्षति पुर्याएको हो ।

याे पनि पढ्नुस  सिन्धुपाल्चोकको बाढीपहिरो प्रभावित क्षेत्रमा सभामुख सापकोटाको चासो

मिचेक घाटको पुल बाढीले बगाएको छ भने अन्य पुलमा क्षति पुर्याएको गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले जानकारी दिए । घर्तीका अनुसार पुल मर्मत सम्भार गर्नका लागि मात्रै रु एक करोडभन्दा बढी खर्च लाग्नेछ ।

मोटरेबल पुल समेत बाढीले बगायाे

दलामचौर घाटमा रहेको अस्थायी मोटरेबल पुल समेत बाढीले बगाएको छ । पुल बगाएपछि ताराखोलादेखि हरिचौर हटियासम्मको सडक पूर्णरूपमा अवरुद्ध बनेको छ । ताराखोलाको करिमेला, ताराखोला र मपेस खोलामा आएको बाढीले पाँच किलोमिटर सडकमा क्षति पुर्याएको छ ।

याे पनि पढ्नुस  पावर हाउसमा खस्यो पहिरो, २ जना सम्पर्कविहिन

गाउँपालिकाको अधिकांश भागमा आपूर्ति हुँदैआएको ३८० किलोवाटको ताराखोला लघु जलविद्युत् परियोजनामा विद्युत उत्पादन बन्द भएको छ । ताराखोला–१ पूरै र सिले र अर्गलको केही भागबाहेक अन्य स्थान अन्धकार भएको छ । बाढीले लघु जलविद्युत् आयोजनाको इन्टेक, पोल तथा तारमा क्षति पुर्याएको छ ।

गाउँपालिकाको वडा नम्बर ५ को सिन्जालिचोकदेखि करिमेला र मपेश खण्डमा मोटर बाटोमा बाढी पसेपछि मोटरबाटो बगाएको छ ।

यसअघि बाग्लुङको ढोरपाटन क्षेत्रमा बाढी आउँदा ठूलो मानवीय क्षति भएको थियो ।

कमेन्ट गर्नुहोस्