उच्च पदस्थ कर्मचारी राजनीतिक चाकडीमा लागेः भोलानाथ पोखरेल

सिन्धुलीः नेपाल आधिकारिक ट्रेड यूनियनका अध्यक्ष भोलानाथ पोखरेलले उच्च पदस्थ कर्मचारीहरु कर्मचारीको हकहित भन्दा व्यक्तिगत लाभहानीमा बढी केन्द्रित भएको आरोप लगाएका छन् ।

आधिकारिक ट्रेड यूनियन सिन्धुली कार्यसमितिका पदाधिकारीहरुको शपथ ग्रहण कार्यक्रममा बोल्दै पोखरेलले सचिवलगायतका कर्मचारीहरु मन्त्रीहरुलाई प्रशासनिक र नीतिगत सुझाव सल्लाह दिनुको साटो चाकडीमा लागेको आरोप लगाएका हुन ।

‘कर्मचारीका समस्या एकातिर छन् तर उच्च पदस्थ हाम्रै कर्मचारी साथीहरु भने व्यक्तिगत वृत्ति विकास र लाभका लागि नेताहरुको चाकडी गरिरहेका छन्’, पोखरेलले भने, ‘ऐन कानुन कार्यान्वयन, नीतिगत र प्रशासनिक काम भन्दा पनि नेताहरुले जे भन्छन्, त्यहीँअनुसार उनीहरु हिंडदा तलका कर्मचारी साथीले दुख पाएका छन् ।’

कर्मचारीहरुले भोगिरहेका समस्या हल गर्दै कर्मचारीतन्त्रलाई सुधार गर्न तल्लोदेखि माथिल्लो स्तरका कर्मचारीहरु एक ठाउँमा हुनुपर्नेमा उनको जोड थियो । जनतासँग ट्रेड यूनियनको सम्बन्ध घनिभूत हुनुपर्छ भन्दै उनले अबको आन्दोलन जनतासँग अन्र्तघुलित हुनुपर्ने बताए ।

कार्यक्रममा बोल्दै आधिकारिक ट्रेड यूनियनका सचिव अम्बादत्त भट्टले केन्द्र, प्रदेश र स्थानीय तहको संरचनाअनुरुप तीनवटै तहमा आधिकारिक ट्रेड यूनियनको निर्वाचन हुनुपर्नेमा जोड दिए । भट्टले राष्ट्रिय निजामति किताब खानामा दर्ता भएका संघ, प्रदेश र स्थानीय तहमा समायोजन भएका साविक स्वास्थ्य सेवा र समायोजन २०७५ बमोजिम नियुक्त भएका सम्पूर्ण कर्मचारीलाई समेत निर्वाचनमा मताधिकारको व्यवस्था हुनुपर्ने माग गरे । ‘यो हाम्रो बटमलाइन हो’, भट्टले भने ।

भट्टले निजामति कर्मचारीहरुको वृत्ति विकासका लागि राज्यले पर्याप्त ध्यान नदिएको बताउँदै निजामति कर्मचारीहरुको हितका लागि सामूहिक उत्पादन संयन्त्रहरु स्थापना गरिनुपर्ने बताए । ‘कर्मचारीको आधारभूत आवश्यकता पूर्ति हुने गरी राज्यले गास, बास, कपास, स्वास्थ्य शिक्षा र सामाजिक सुरक्षा प्रत्याभूतिको ग्यारेण्टी गर्नुपर्छ’, उनले भने, ‘यसका लागि निजामति अस्पतालदेखि कर्मचारीको स्वामित्वमा रहने गरी उद्योग र अन्य उत्पादनका कार्यक्रम अघि सार्नुपर्छ ।’

नेपाल निजामति कर्मचारी संगठनका उपाध्यक्ष शरण कुमार गुरुङले संघीय निजामति ऐन र प्रदेश निजामति सेवा ऐन छिटोभन्दा आउनुपर्नेमा जोड दिए । समायोजनका नाममा भइरहेको विभेदको विरोध गर्दै न्यायका लागि डटेर सामना गर्ने उनको भनाई थियो ।

निजामति कर्मचारी संगठनका जिल्ला अध्यक्ष पुरुषोत्तम दाहालले आधिकारिक ट्रेड यूनियनको निर्वाचन आगामी असोज २४ गते हुन नसक्ने बताए । कोरोना र विद्यमान कानुनी जटिलताका कारण आगामी २४ गते निर्वाचन सम्भव नहुने उनको जिकिर थियो ।

कार्यक्रममा आधिकारिक ट्रेड यूनियनका नव निर्वाचित अध्यक्ष तिलक कार्की तथा अन्य पदाधिकारीलाई शपथ ग्रहण गरिएको थियो । शपथ ग्रहणपछि कार्कीले मन्तव्य व्यक्त गरेक थिए कार्यक्रममा प्रमुख जिल्ला अधिकारी योगेन्द्र पाण्डेले समेत शुभकामना मन्तव्य दिएका थिए ।

कमेन्ट गर्नुहोस्