सञ्चारकर्मीमा कोरोना त्रास, देशभरि १०२ जनामा संक्रमण

काठमाडौं । पेशागतरुपमा गतिशील मानिने सञ्चार जगतमा कोरोनाले त्रास सिर्जना गरेको छ ।

अहिलेसम्म देशभरि एक सय दुई जना सञ्चारकर्मीमा कोरोना संक्रमण देखिएपछि यसले चिन्ता थपेको हो ।

सुदूरपश्चिम प्रदेशका कुनै पनि सञ्चारकर्मीमा भने कोरोना देखिएको छैन ।

नेपाल पत्रकार महासंघका अनुसार, ६ वटा प्रदेशका १०२ कोरोना संक्रमणका घटनामध्ये सबैभन्दा धेरी सञ्चारकर्मी प्रदेश नं. २ मा रहेका छन् । यसैगरी प्रदेश नं १ मा १७, वाग्मती प्रदेशमा २६, गण्डकी प्रदेशमा १५, प्रदेश नंं ५ मा १२ र कर्णाली प्रदेशमा चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको महासङ्घका सचिव प्रकाश थापाले जानकारी दिए । सङ्क्रमितमध्ये केही निको भइसकेका छन् भने केही उपचाररत अवस्थामा रहेका छन् ।

कार्यस्थलमा गई खटिने पत्रकार र फोटो पत्रकारमा बढी सङ्क्रमण देखिएको छ । महासङ्घका महासचिव रमेश विष्टले सङ्क्रमित भएर आइसोलेशनमा बस्दा पनि पत्रकारले कामलाई भने निरन्तरता दिएका छन् ।

महासङ्घले महामारीको विषम परिस्थितिमा आफ्नो पेशागत धर्म निर्वाहका क्रममा संवेदनशील भई पूर्वसतर्कताका साथ सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन गरेर काम गर्न सबैमा अनुरोध गरेको छ ।

कमेन्ट गर्नुहोस्