विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति गिरीलाई कोरोना संक्रमण

काठमाडौं, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति प्रा. डा. ज्ञानेन्द्र गिरीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

उपकुलति गिरीले प्रतिष्ठानको आधिकारिक फेसबुक पेजमार्फत आफूलाई कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् ।

गिरीको आइतबार स्वाब संकलन गरिएको थियो ।

उनले फेसबुक पेजमा लेखेका छन्, ‘बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका रुपमा जिम्मेवारी निर्वाह गर्ने क्रममा सम्पूर्ण सुरक्षाका उपायहरु अपनाउँदा अपनाउँदै र साथै दुई हप्ताको अन्तरालमा नियमित परीक्षण गर्दैगर्दा पनि मलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ ।’

कोरोना पुष्टि भएपछि प्रतिष्ठानको आफ्नै आवासमा आइसोलेसनमा बसेको उनले जनाएका छन् । उनले प्रतिष्ठानको हितमा विभिन्न नीति निर्माण गर्दै कार्यालयको दैनिक काममा व्यस्त रहँदा संक्रमण भएको पनि खुलाएका छन् । उपकुलपति गिरीले आफूसँग सम्पर्कमा आएका सबैलाई पीसीआर जाँच गरेर सजगता अपनाउन पनि अनुरोध गरेका छन् ।

आफू होम आइसोलेसनमा बसे पनि प्रतिष्ठानका दैनिक कार्यहरु आइशोलेसन कक्षबाटै नियमित रुपमा सञ्चालित हुने र तत्काल आइपर्ने समस्याहरु आफ्नो सचिवालयमार्फत समन्वयमा समाधान गर्ने पनि जानकारी दिएका छन् । प्रतिष्ठानका चिकित्सक, नर्स, हेल्पर, उनीरुका परिवार गरी हालसम्ममा ६० जनाभन्दा बढीमा कोरोना पुष्टि भएको छ ।

कमेन्ट गर्नुहोस्