काठमाडौंः नेपाल विद्युत प्राधिकरणबाट कुलमान घिसिङ औपचारिक रुपमा बिदा भएका छन् ।
कार्यकारी निर्देशकको ४ वर्षे कार्यकाल सकिएपछि उनलाई मंगलबार कर्मचारीले औपचारिक बिदाइ गरे । सो क्रममा प्राधिकरणका उपकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले घिसिङलाई बुद्धको मूर्ति उपहारस्वरुप दिए । सो क्रममा नेपाल विद्युत प्राधिकरणका कर्मचारीले कार्यकारी निर्देशक पुनः घिसिङलाई नियुक्ति गर्नेछ आशा व्यक्त गरे ।
२०५१ सालमा सातौं तहको इन्जिनियरबाट नेपाल विद्युत प्राधिकरणमा प्रवेश गरेका घिसिङ २०७३ भदौ २९ मा कार्यकारी निर्देशक नियुक्त भएका थिए ।
अब प्राधिकरणमा अबको प्रमुखका रुपमा को आउँछन् भन्ने टुंगिएको छैन ।
बिदाइ मन्तव्य
बिदाइ कार्यक्रममा उनले सवैको साथ र सहयोगबाट लोडसेडिङ अन्त्य गर्न सफल भएको बताए । साथै सबै सहयोगीलाई धन्यवाद दिए । उनल अहिले प्राप्त उपलब्धि व्यवस्थापन अबको मुख्य चुनौती रहेको बताए ।
उनले प्राधिकरणको गरिमा अझै उच्च रहोस् भन्ने शुभकामना दिए । उनले प्राधिकरणलाई सधै साथ र सहयोग हुने प्रतिवद्धता जनाए । उनले अवसर पाएमा अझै उर्जा क्षेत्रमै काम गर्ने चाहना व्यक्त गरे । घिसिङले अबको बाँकी जीवन नेपाल र नेपालीको सम्बृद्धिका लागि खर्चने बताए ।
उनले आफ्नो बिदाइ स्वभाविक भएको बताए । उनले एउटै व्यक्ति नेतृत्वमा रहिरहनुपर्छ भन्ने नरहेको बताए । आफूलाई पुन नियुक्त नगरिएको उनको कुनै गुनासो छैन ।
चर्चा र विरोध
सोमबार बसेको मन्त्रिपरिषद बैठकले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङलाई पुननयुक्त गर्ने धेरैको अपेक्षा थियो । कुलमानलाई पुन नियुक्त गर्नुपर्ने भन्दै सोमबार साँझ माइतीघर मण्डलामा प्रशर्दन भएको थियो । तर, उक्त विषयमा सोमबारको बैठकमा स्थान नपाएपछि चारैतिर चर्चा चुलिएको छ । सरकारको विरोध भइरहेको छ ।
कुलमानलाई फेरि प्राधिकरणको नेतृत्व सुम्पने गरी उर्जा मन्त्रालयले प्रस्ताव लगेको भए पनि मन्त्रिपरिषद बैठकमा भने प्रस्ताव लगिएन । एजेण्डामा नपरेपछि उर्जामन्त्री वर्षमान पुनले जिज्ञासा उठाउँदा प्रधानमन्त्री केपी शर्मा ओलीले कानुनी प्रश्न भएकोले छलफल गरेर मात्र अघि बढने बताएका थिए ।
पहिलो कार्यकालमा १८ घण्टासम्मको लोडसेडिङ हटाएर प्राधिकरणलाई ३४ अर्ब सञ्चित नोक्सानीबाट ५ अर्बको सञ्चित नाफामा लगेको भन्दै घिसिङलाई दोहोर्याउन विभिन्न क्षेत्रबाट माग भएको छ ।
प्रधानमन्त्रीमाथि घिसिङलाई नभई उनका विश्वासिला पुनर्निर्माण प्राधिकरणका सुशील ज्ञवालीलाई बनाउन खोजेको आरोप लागिरहेको छ । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल र मन्त्री पुन घिसिङकै पक्षमा रहेको जनाइएको छ ।
नियुक्ति गर्नु नै पर्दा पनि घिसिङले फेरि खुल्ला प्रतिष्पर्धामा सहभागि हुनुपर्ने अवस्था सृजना गराइएको छ । यो एक हिसाबले घिसिङलाई निरुत्साहित गर्न र उनलाई सहभागि नै नहुने वातावरण बनाउन खोजेको उर्जा मन्त्रालयका एक अधिकारी बताउँछन् ।
राम्रो काम गरेर चर्चा कमाइरहेका व्यक्तिलाई सहज पुनर्नियुक्ति नदिनु र कानुनी प्रश्न रहेको छ भनेर प्रधानमन्त्रीले पन्छाउनुको मुख्य कारण नै अब घिसिङ प्रतिष्पर्धामा नआउन् भन्ने दुराशय रहेको ति अधिकारी बताउँछन् ।
पहिलो कार्यकालमा १८ घण्टासम्मको लोडसेडिङ हटाएर प्राधिकरणलाई ३४ अर्ब सञ्चित नोक्सानीबाट ११ अर्ब नाफामा लगेको भन्दै घिसिङको प्रशंसा हुँदा नयाँ परियोजना ल्याउन नसकेको एमसीसीमा प्रधानमन्त्रीलाई नसघाएको आरोप लगाइएको छ ।
यसैबारेमा प्रधानमन्त्रीको सोचलाई बल पुग्ने गरी उनका प्रेस सल्लाहकार सूर्य थापाले सार्वजनिक रुपमा टिप्पणी गरेका छन् । थापाले के कुलमान कानुनभन्दा माथि हुन् भन्ने प्रश्न उठाएका छन् ।