दासढुङ्गाको एकीकृत विकासका लागि डिपिआर बनाइँदै

भरतपुरः २७ वर्षअघि तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय दुर्घटनामा मृत्यु भएको स्थल दासढुङ्गाको एकीकृत विकास गरिने भएको छ । त्यसका लागि डिपिआर निर्माण प्रक्रिया अघि बढेको छ ।

पर्यटन मन्त्रालयअन्तर्गतको पर्यटन विभागले डिपिआर निर्माणका लागि परामर्शदाता छनोट प्रक्रिया अघि बढाएको हो । परामर्शदाता कम्पनीद्वारा प्रस्तावपत्र पेश भइसकेको र आन्तरिक मूल्याङ्कनको चरणमा रहेको विभागका इञ्जिनियर सचिन्द्र यादवले जानकारी दिए । उनले एक महिनाभित्र डिपिआर निर्माण गर्ने कम्पनी छानोट हुने र साढे चार महिनाभित्र डिपिआर निर्माण हुने बताए ।

याे पनि पढ्नुस  दासढुङ्गा दुर्घटनाको नयाँ छानबिन गरौं !

मदन–आश्रित स्मृति पार्कसहित राजनीतिक अध्ययन केन्द्र र सङ्ग्रालयका रूपमा दासढुङ्गाको विकास गर्ने योजना अघि बढाइएको छ । रु ५० लाखको लागतमा निर्माण हुन लागेको डिपिआरका लागि सांसद र प्राविधिकसहितको टोलीले स्थलगत निरीक्षण गरेको छ ।

मदन–आश्रितको दुर्घटना हुँदा नेकपा (एमाले) चितवनका पार्टी प्रमुख (सचिव) रहेका हालका प्रदेशसभा सदस्य विजय सुवेदीले संरचना निर्माण गर्दा प्रतिफल आउने गरी काम गरिने बताए । उनले भने, ‘मदन–आश्रितको झल्को दिने गरी संरचना निर्माण हुनेछन्, यसले उहाँहरुलाई जीवन्त राख्नेछ ।’

याे पनि पढ्नुस  ओली–प्रचण्डले भने, ‘दासढुंगा दुर्घटनाको सत्यतथ्य सार्वजनिक गर्न लागिरहने छौं’

उनले देश–विदेशबाट आउनेहरु जसले उनीहरुलाई बुझ्न चाहन्छन्, त्यो सबै दासढुङ्गामा प्राप्त गर्ने बताए । उनले अब दासढुङ्गाको विकासका लागि निरन्तर काम गरिने जनाए । विसं २०५० जेठ ३ गते हालको भरतपुर महानगरपालिका वडा नं २९ दासढुङ्गामा उनीहरू चढेको जिप दुर्घटना हुँदा दुवै जनाको मृत्यु भएको थियो ।

दासढुङ्गामा यसअघि नै नेपाल सरकारले ३६ कठ्ठा जग्गा खरिद गरिसकेको छ । जहाँबाट रमणीय त्रिशूली नदी, देवघाटलगायत क्षेत्र देख्न सकिन्छ । थप नम्बरी ३३ कठ्ठा र ऐलानी १८० कठ्ठा खरिद गरी आवश्यक संरचना निर्माण गरिने योजना अघि बढाइएको सुवेदीले जानकारी दिए । सो ठाउँमा सङ्ग्रहालय, रानीतिगत अनुसन्धान केन्द्र, तालिम केन्द्र, आवास भवन, कार्यालय भवन, चमेनागृहलगायत संरचनासँगै भिरालो सो क्षेत्रमा आकर्षक पार्क बनाइने योजना रहेको उनले बताए ।

याे पनि पढ्नुस  ओली–प्रचण्डले भने, ‘दासढुंगा दुर्घटनाको सत्यतथ्य सार्वजनिक गर्न लागिरहने छौं’

भरतपुर–२९ का वडाध्यक्ष मानबहादुर थापाले ढासढुङ्गाको विकासका लागि वडाले निरन्तर पहल गरिरहेको बताए । उनले भने, ‘नारायणगढ–मुग्लिन सडकखण्डमा यात्रा गर्ने यात्रुको ध्यान केन्द्रित गर्ने संरचना बनाउने गरी डिपिआर निर्माण गरिनेछ ।’ स्थानीयस्तरबाट संरक्षणका काम भए पनि पर्याप्त हुन नसकेको उनको भनाइ छ । रासस

कमेन्ट गर्नुहोस्