असोजदेखि विद्यालय खुलाउने तयारी

खलङ्गाः जुम्लाको चन्दननाथ नगरपालिकाले कोरोेना भाइरस सङ्क्रमणका कारण गत चैत महिनादेखि बन्द रहेको विद्यालय खुलाउने तयारी गरेको छ ।

आउँदो असोज ४ गतेदेखि आधारभूत तहको पठनपाठन शुरु गर्ने तयारी थालेको नगरपालिकाले जनाएको छ । नगरपालिकाभित्रका कक्षा १ देखि ५ सम्मका विद्यार्थीले पढ्न पाउने गरि विद्यालय सञ्चालन गर्न लागिएको नगरपालिकाका प्रमुख कान्तिका सेजुवालले बताए ।

उनले भने, ‘लामो समयदेखि पठनपाठन नहुँदा विद्यार्थीको पढाइ बिग्रिन थाल्यो । त्यसैले विद्यालय सरसफाइमा ध्यान दिँदै सामाजिक दूरी कायम गरेर कक्षा सञ्चालन गर्ने तयारी गरिएको छ ।’

नगरक्षेत्रका सबै विद्यालयको प्रअको बैठकबाट आउँदो असोज ४ गतेदेखि उच्च सतर्कताका साथ विद्यालय खुलाउने तयारी थाल्न निर्देशन दिएको शिक्षा समितिका अध्यक्ष समेत रहनुभएका नगरप्रमुख सेजुवालले बताए ।

विद्यालयबाटै सचेतनाका क्रियाकलाप अघि बढाउने भएकाले आधारभूत तहको कक्षा सञ्चालन गर्ने निर्णय गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत खडानन्द चौलागाईले बताए। उनले भने, ‘आधारभूत कक्षमा विद्यार्थी सङ्ख्या पनि कम छ ।

सामाजिक दूरी कायम गरेर पनि पढाउन सकिने अवस्था छ । यो अवस्थालाई मध्यनजर गर्दै विद्यालय खुलाउने निर्णय भएको हो ।’ आउँदो असोज ४ गतेदेखि आ-आफ्ना बालबालिकालाई विद्यालय पठाउने तयारी गर्न अभिभावकलाई समेत आग्रह गरिएको नगरपालिकाले जनाएको छ । यसअघि नगरपालिकाले रेडियो कक्षा सञ्चालन गरिएको थियो ।

कमेन्ट गर्नुहोस्