काठमाडौं : स्थानीय तह र स्वास्थ्य सेवाका कर्मचारीलाई मतदानबाट वञ्चित गरेको भन्दै नेकपा एकताअघि पूर्व माओवादी निकट नेपाल राष्ट्रिय कर्मचारी संगठनले ध्यानाकर्षण भएको जनाएको छ ।
असोज २४ गते हुन गइरहेको निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको चुनावमा एउटै कार्यालयमा बसेर काम गर्ने स्थानीय सेवा, स्वास्थ्य सेवा लगायतका कर्मचारीलाई मतदान गर्नबाट वञ्चित गरी संविधान प्रदत्त समानताको अधिकारको बर्खिलाप हुने गरी गरेको भन्दै संगठनले आफ्नो ध्यानाकर्षण भएको जनाएको हो ।
‘प्रमुख निर्वाचन अधिकृतको कार्यालयको ट्रेड युनियन अधिकार बिराधी तथा फुटाऊ र राज गर भन्ने मनसायबाट आएको यस निर्णयको घोर भर्त्सना गर्दछौं,’ सङ्गठनका महासचिव प्रभास प्रसादसाहद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ट्रेड युनियन अधिकारले पेसागत हक अधिकार, कार्यस्थलमा कर्मचारीको सुरक्षा, उचित कार्य वातावरणको व्यवस्था, कर्मचारीको गुनासो सुनुवाइ जस्ता पक्षहरूमा जोड दिने बताउँदै प्रदेश तथा स्थानीय तहमा कार्यरत कर्मचारीको हक अधिकारको सुरक्षा, पेसागत वृत्ति विकास,कार्यस्थलको सुरक्षा लगायत सामूहिक हितका विषय उठानका लागि प्रदेश र स्थानीय तहमासमेत ट्रेड युनियन अधिकारीको सुनिश्चितता जरुरी रहेको संगठनको ठहर छ ।’