काठमाडौंः नेपाल सरकारका प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङको पुनर्नियुक्ति कानुनअनुसार गर्न नमिल्ने बताएका छन् । साथै उनले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकका सन्दर्भमा आएका कतिपय कथाहरूका पछाडि सरकारले ध्यान नदिने पनि स्पष्ट पारेका छन् ।
शुक्रबार बुटवलमा प्रेस संगठनद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले कुलमानप्रति सरकार सकारात्मक र सन्तुष्ट रहेको भए पनि पुनर्नियुक्ति गर्न कानुनले नमिल्ने स्पष्ट पारे । उनलले कुलमान घिसिङलाई नै नियुक्ति गर्नै परेमा पनि नयाँ कानुनअनुसार गरिने तर यसबारे सरकारले छलफल गरिरहेको बताए ।
नेपाललाई लोडसेडिङमुक्त बनाउन कुलमानको भूमिका महत्वपूर्ण रहे पनि उनको एक्लो प्रयासले मात्र नभई सरकारको लगानी र सम्पूर्ण टिमको योगदानको कारण सम्भव भएको ज्ञवालीले बताए । ज्ञवालीले प्राधिकरणमा नियुक्तिका विषयमा सरकारले उपयुक्त निर्णय गर्ने बताए ।
बिहिवार गृहजिल्ला गुल्मीको सदरमुकाम तम्घासमा नेपाल पत्रकार महासघ गुल्मीले आयोजना गरेका पत्रकार सम्मेलनमा बोल्दै मन्त्री ज्ञवालीले सरकारले कुलमानलाई पुनर्नियुक्ति गर्न सक्ने बताएका थिए ।
शुक्रबार नै आयोजित पत्रकार सम्मेलनमै ज्ञवालीले मन्त्रिमण्डल पुनर्गठन हुन सक्ने र आवश्यक परे सच्याएर एमसीसी अनुमोदन हुने समेत बताए ।