मन्त्रिपरिषद् पुनर्गठन हुँदै, यस्तो बन्दैछ मापदण्ड

काठमाडौंः नेकपा सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भएको छ ।

बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले मन्त्रिपरिषद् पुनर्गठनबारे विभिन्न कोणबाट छलफल भएको बताए । तर को–को हट्ने, को–को मन्त्री बन्ने भन्ने छलफल हुन बाँकी रहेको उनले बताए ।

बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीले अहिलेका सबै मन्त्रीलाई हटाउने, सुरुमा मन्त्री भएकाहरुलाई हटाउने र केही मन्त्री हटाउने र केहीलाई निरन्तरता दिने विकल्प पेश गरेका थिए ।

याे पनि पढ्नुस  नक्सा सच्याउन उपयुक्त माध्यमबाट पहल भएको छः परराष्ट्रमन्त्री ज्ञवाली

त्यसपछि बैठकमा अधिकांश नेताले सबै मन्त्रीलाई एकसाथ हटाउन नहुने र राम्रा काम गरेकाहरुलाई निरन्तरता दिने धारणा राखेको नेकपा स्रोतको भनाई छ ।

श्रेष्ठका अनुसार राम्रा काम गरेकाहरुलाई निरन्तरता दिने गरी मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी छ । सरकारका कामकारबाही अझै प्रभावकारी बनाउन मन्त्रिपरिषद पुनर्गठन गर्न लागेको श्रेष्ठको भनाइ छ । बैठकमा मुख्य गरी मन्त्रिपरिषद पुनर्गठनबारे छलफल शुरू भए पनि कुनै निर्णय भने भएको छैन ।

याे पनि पढ्नुस  ओली, प्रचण्ड र देउवाबीच भेट, के विषयमा भयो छलफल ?

त्यसैगरी बैठकमा संवैधानिक आयोगमा गरिने नियुक्तिका विषयमा छलफल गर्ने, पार्टी एकताको बाँकी काम टुङ्ग्याउने विषयमा छलफल गर्ने एजेन्डा तय भएको छ । केन्द्रीय कमिटीका काम गर्ने र पूर्णकालीन कार्यकर्तालाई तलब दिने विषयमा पनि छलफल गरिने प्रवक्ता श्रेष्ठले बताए ।

पार्टी एकतापछिको परम्परा तोड्दै यो पटकको सचिवालय बैठक पूर्व माओवादीको मुख्यालय पेरिसडाँडामा बसेको थियो । पार्टी एकतापछिका अधिकांश बैठकहरु प्रधानमन्त्रीको स्वास्थ्यलाई ध्यानमा राखेर बालुवाटारमा नै हुने गरेका थिए ।

कमेन्ट गर्नुहोस्