यूएईमा पनि मनाइयो छैठौँ संविधान दिवस

यूएई : नेपाली दूतावास अबुधाबीले छैठौँ संविधान दिवसको उपलक्ष्यमा दूतावास परिसरमा झन्डोत्तलन गरेको छ ।

आइतबार एक कार्यक्रमका बीच दूतावासको मुख्य भवनको उच्च तथा अग्रभागमा यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले झन्डोत्तलन गरेका हुन् ।

झन्डोत्तलन कार्यक्रममा उपनियोग प्रमुख रिता धिताल, श्रम काउन्सिलर निर्मला थापा, द्वितीय सचिव भुवन ओझा लगायत दूतावासका अन्य कर्मचारी तथा नेपाली समुदाय र सिमित पत्रकारहरुको उपस्थिति रहेकोे थियो ।

झन्डोत्तलनपछि दूतावासको सभाकक्षमा संविधान दिवसको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रमको सञ्चालन गर्दै उपनियोग प्रमुख धितालले नेपालको हाल लागु संविधानले राजनीतिक स्वतन्त्रता र मौलिक अधिकारको पूर्ण ग्यारेन्टी गरेको र विश्वका गतिशील संविधानमा नेपालको संविधान रहेको बताइन् ।

याे पनि पढ्नुस  संविधान दिवसका अवसरमा प्रधानमन्त्रीले के भने ? (पूर्णपाठ)

संविधानको सम्मान र पालना गर्दै यसलाई रास्ट्रय दिवसको रूपमा पनि मनाउन थालिएको बताउँदै धितालले यही खुसीयालीमा राजदूतको आवासमा तीन दिनसम्म दिपावली गरिएको जानकारी दिइन् ।

संविधान दिवसको अवसरमा विश्वको अग्लो टावर यूएईको दुबईस्थित बुर्ज खलिफामा नेपाली झण्डा गत वर्षदेखि फहराउन दूतावासले पहल गरेको र दूतावासको पहललाई यूएई सरकारले पनि उच्च सम्मान गर्दै निस्शुल्क उक्त सुविधा प्रदान गरेकोले युएईमा क्रियाशील नेपालीहरूले गौरवको अनुभूति गरेको उनले बताइन् ।

याे पनि पढ्नुस  नेपाल फर्किएका नेपालीहरूप्रति अपमान गरिएको भन्दै एनआरएन युएईद्वारा भर्त्सना

उनले अबुधाबीस्थित एडनक भवनमा पनि लामो समयसम्म नेपाली झन्डा सेप्टेम्बर १९ को रातमा फहराएको र दुबै स्थानमा नेपाली दूतावासका प्रतिनिधिहरु उपस्थित भएर हजारौं नेपालीसँगै खुसीयाली साटासाट गरेको जानकारी दिइन् ।

कार्यक्रममा राजदुत ढकालले संविधान दिवसको उपलक्ष्यमा रास्ट्रपति विध्यादेवी भण्डारीले सार्वजनिक गरेको शुभकामना सन्देश वाचन गर्दै नेपालको हाल क्रियाशिल संविधानको लोकप्रियता, व्यापकता र विशेषताबारे प्रकाश पारेका थिए ।

राजदूत ढकालले यो संविधान विश्वका थोरै उत्कृष्ट संविधानहरुमा पर्ने दाबी गर्दै स्थिरता र राजनीतिक संक्रमणलाई व्यवस्थापन गर्न सफल भएको बताए ।

याे पनि पढ्नुस  आफ्नो नागरिक फिर्ता लैजान नखोजेपछि यूएईद्वारा कडा कदम चाल्ने संकेत

कोरोनाको कहरका कारण नेपालको महत्त्वपूर्ण दिनलाई सानो आकारमा मनाउनु परेको वाध्यता दर्साउदै राजदूत ढकालले संविधान दिवसको उपलक्ष्यमा यूएईमा कार्यरत सबै नेपालीहरुलाई सुख, शान्ति तथा सुस्वास्थको शुभकामना व्यक्त गरे ।

सामाजिक संस्थाहरुको प्रतिनिधित्व गर्दै नेपाली समाज युएईका उपाध्यक्ष गणेश न्यौपानेले यो विषम परिस्थितिमा पनि दूतावासले नेपाली संविधानप्रति दर्साएको सम्मानका लागि दूतावास परिवार लाई धन्यवाद प्रकट गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघको तर्फबाट सहसचिव राम ढुंगेल र सदस्य रामकुमार परियारले पनि शुभकामना मन्तव्य प्रस्तुत गरेका थिए ।

कमेन्ट गर्नुहोस्