आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित हुने

काठमाडौंः असोज २४ गते हुने भनिएको आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित हुने भएको छ ।

चौतर्फी दबाबपछि आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित हुने भएको स्रोतले बतायो । कर्मचारी संगठन पनि कोरोना महामारीमा निर्वाचन नगर्न सरकारलाई दवाव दिँदै आएका थिए । निर्वाचन स्थगितबारे मंगलबार सूचना जारी गर्ने तयारी छ ।

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली, कार्यकारी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालबिच आधिकारिक ट्रेड युनियनको निर्वाचनबारे छलफल भएको थियो । सो छलफलमा पूर्व एमाले र माओवादीका कर्मचारी संगठनबीच एकता हुन नसकेको र कोरोना महामारी का कारण युनियनको निर्वाचन स्थगित गर्ने सहमति भएको थियो । त्यसलगत्तै मुख्यसचिव लोक दर्शन रेग्मीलाई निर्वाचन स्थगित गर्न निर्देशन दिइएको थियो ।

सो विषयमा आइतबार बसेको नेकपा ससचिवाल बैठकका साथै नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ र पेशागत महासंघ ईञ्चार्ज पम्फा भुसालबीच छलफल भएको थियो ।

आधिकारिक ट्रेड युनियनको निर्वाचन सरकारले गर्छ । असोज २४ गते हुने भनिएको निर्वाचनका लागि सम्पूर्ण तयारी पुरा भई निर्वाचन आयोगबाट मतपेटिकासमेत व्यवस्था भइसकेको थियो ।

प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले सोमबार आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गर्न माग गरेका थिए ।

 

कमेन्ट गर्नुहोस्