शक्ति र पैसाको आडमा तिरहुत गाउँपालिका अध्यक्षको गुण्डाराज, प्रहरी–प्रशासनकै संरक्षण

काठमाडौंः

घटनाः १

गत फागुन १८ गते सप्तरीको तिरहुत गाउँपालिका–३ मा सडक बनाउने क्रममा विवाद भयो । कारण थियो, तत्कालीन मधेसी जनअधिकार फोरम (हाल जनता समाजवादी पार्टी) बाट गाउँपालिका अध्यक्ष बनेका मनोज भनिने हेमन्त कुमार बहडखेरले एकलौटी रुपमा उपभोक्त समिति गठन गर्नु । त्यसको नेकपाका नेता तथा कार्यकर्ताले विरोध गरे ।

त्यसको अर्को दिन बिहानै अध्यक्ष बहडखेरको निर्देशनमा शिवचन्दर यादवलगायतले उपभोक्ता समितिको विरोध गर्नेहरूलाई कुटपिट गरे । कुटपिटबाट नेकपाका सम्भु यादवसहित १० जना घाइते भए । उनीहरूको विराटनगरको न्यूरो अस्पतालमा उपचार भयो । घाइतेहरूले ईलाका प्रहरी कार्यालय कञ्चनपुर, सप्तरीमा ज्यान मार्ने उदेश्यले अंगभंग गरेको भन्दै उजुरी दिए ।

प्रहरीले कानूनी प्रक्रिया अगाडि बढाउनुको साटो उल्टै गाउँपालिका अध्यक्षको दवावमा परेर उजुरी फिर्ता दिन भन्यो । उजुरी जिल्ला प्रहरी कार्यालय पुग्यो । उजुरीको फाइलमा ११४ नम्बर लेखियो, तर त्यहाँ पनि दर्ता भएन ।

सो क्रममा उपचारवापत खर्च भएको ५ लाख ४१ हजार कुटपिट गर्नेलाई तिर्ने सहमति भयो । त्यो पैसा हालसम्म घाइतेहरूले पाएका छैनन् । लकडाउनका कारण त्यतिबेला दैनिक प्रहरी कार्यालय पीडितहरूले धाउन सकेनन् । तत्कालीन जिल्ला प्रहरी कार्यालयका एसपी भिष्म प्रसाईं र ईलाका प्रहरी कार्यालयका डीएसपी मुकुन्द्र मिश्रा सरुवा भएर गइसकेका छन् ।

ईलाका प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी नरेश सिंहले पुरानो मुद्दा भएको भन्दै पीडितलाई न्याय दिनबाट पन्छिरहेका छन् । उनी आफ्नो जिम्मेवारीबाट पन्छिँदै पीडितलाई अदालत जान सुझाइरहेका छन् ।

याे पनि पढ्नुस  बलात्कार आरोपित २ जना पक्राउ

घटनाः २

नेकपा कार्यकर्ता पिताम्बर यादव गाउँपालिका अध्यक्ष बहडखेरको घरको बाटो हुँदै गइरहेको थिए । बहडखेरले काम छ भन्दै घर बोलाएर फेरि कुटपिट गरे । सोही दिन उजुरी दिएर फर्किँदै गर्दा राति ९ बजे अध्यक्षको निर्देशनमा यादवसहित ३ जना कुटिए । सोही राति २ बजे भोला यादवको घर करिब २० जनाको समूह आएर घेरा हाल्यो ।

पिताम्बर, भोलालगायतले फेरि गाउँपालिका अध्यक्ष बहडखेरलगायतको नाममा ईलाका प्रहरी कार्यालयमा उजुरी दिए । तर, ईलाका प्रहरी कार्यालयका डीएसपीले गाउँपालिका अध्यक्षको नाम हटाए मात्रै उजुरी दर्ता गर्ने जवाफ दिए ।

यी दुई घटनाले प्रष्ट हुन्छ, तिरहुत गाउँपालिकाका अध्यक्ष बहडखेरको दादागिरी र प्रहरी प्रशासनको मौनतासँगै संरक्षण ।

कुटपिटबाट घाइते पिताम्बर यादवले गाउँपालिका अध्यक्ष बहडखेरलाई प्रहरी प्रशासनले संरक्षण दिएको आरोप लगाए । गाउँपालिका अध्यक्षको निर्देशनमा कुटिएका शम्भु यादवले घटनाका सबै दोषीलाई कारवाही हुनुपर्ने माग गरे ।

प्रहरी प्रशासनले अध्यक्ष बहडखेरलाई संरक्षण दिएको भन्दै उनले आपत्ति जनाए । पीडित यादवले दुबै घटनाको मुख्य योजनाकार गाउँपालिका अध्यक्ष भएको भन्दै उनलाई अनुसन्धान गरेर कानुनी दायरामा ल्याउनुपर्ने बताए ।

माथिका दुबै घटनाका विषयमा कुरा गर्न खोज्दा ईलाका प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी नरेश सिंह सम्पर्कमा आएनन् ।

याे पनि पढ्नुस  मलेशियामा एक नेपालीमाथि निर्मम कुटपिट, दूतावासले गर्यो ध्यानाकर्षण

यता, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्र प्रसाद धमलाले उक्त मुद्दा आफूकहाँ नआएको बताए । उक्त मुद्दा ईलाका प्रहरी कार्यालय कञ्चनपुरको क्षेत्राधिकारभित्र पर्ने उनले बताए । उनले भने, ‘उक्त मुद्दा पुरानो हो । के–के भएको हो ईलाका प्रहरी कार्यालय कञ्चनपुरलाई थाहा होला । क्षेत्राधिकार उसैको हो । नयाँ डीएसपीले मुद्दा चलाउने/नचलाउने भन्ने जोहरीअनुसार हद म्यादको कुरा आउँछ । हदम्यादले हेर्न नमिल्ने भए अदालत जानुपर्छ । उपचार खर्च व्यहोर्ने सहमति कसले गरेको हो तिर्नुपर्छ ।’

विवादित छवि

हाल तिरहुत गाउँपालिका अध्यक्ष भएर गुण्डाराज र दादागिरी मच्चाइरहेका अध्यक्ष बहडखेरको विगत पनि विवादित छ । चुनावअघि तराई–मधेसमा हतियारधारी समूहसँग मिलेर चन्दा उठाउने गरेको आरोप उनीमाथि छ ।

स्थानीयहरू उनलाई पशु तस्करको रुपमा पनि चिन्छन् । उनले कोशी टप्पु बन्यजन्तु आरक्षमा अवैध पशु गाईं, भैंसी र अर्ना राखेका छन् । गाईं, भैंसी र अर्नालाई उनले आरक्षमा जवरजस्ती रुपमा वर्षौदेखि राखिरहेका छन् । आरक्षबाट पशु हटाउन सरकारले पटक–पटक दिएको निर्देशन उनले अटेरी गर्दै आएका छन् ।

स्थानीयका अनुसार उनी शक्ति र पैसाको भरमा प्रहरी–प्रशासनलाई आफ्नो कब्जामा लिएको बताउँदै हिँड्छन् । अध्यक्ष बहडखेर आफ्नोविरुद्व ‘जे सकिन्छ गर्न गर्नू’ भन्दै विरोधीहरूलाई ठाडै चुनौंती दिन्छन् । तर, प्रहरी प्रशासन भने उनको संरक्षणमा लागेको स्थानीयको आरोप छ ।

राजनीतिक शक्तिको नजिक र पैसाका कारण अध्यक्ष बहडखेर सामू प्रहरी–प्रशासनसँग नजिकिएका निरीह मात्रै छैन, सजाय लिनुपर्नेलाई उल्टै संरक्षण दिइरहेको छ । जसका कारण अध्यक्ष बहडखेरको गुण्डाराज र दादागिरी झनै फस्टाइरहेको छ ।

याे पनि पढ्नुस  कांग्रेस कार्यालय सचिवद्वारा उप–प्रमुखसहित महिला नेतृ कुटिए

जसका कारण उनको मनोमानीविरुद्व आवाज उठाइनेहरूलाई ज्यानै जोगाउन मुस्किल छ ।

बेथिति र भ्रष्टाचारको चाङ

महालेखा परीक्षकको कार्यालयले तिरहुत गाउँपालिकामा भ्रष्टाचार भएको ठहर गरेको थियो ।

प्रधानमन्त्री रोजगार कार्यक्रम वापत २८ लाख रुपैयाँ पाएको गाउँपालिकाले जम्मा ६ वटा कुलो सफा गर्न मात्रै १५ लाख ९२ हजार रुपैयाँ खर्च गर्दै भ्रष्टाचार गरेको महालेखा परीक्षकको कार्यालयले गत फागुनमा सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै, कच्ची सडक मर्मत शीर्षकमा चार लाख ७८ हजार र कल्भर्ट निर्माण शीर्षकमा पाँच लाख एक हजार रूपैयाँको खर्च भएको गाउँपालिकाले जनाए पनि महालेखाले त्यस्तो कार्यक्रम भएको र खर्च भएको प्रमाण नै भेटेको छैन ।

प्रधानमन्त्री रोजगार कार्यक्रममै पनि आधा घन्टा पैदल दूरीमा भएको कामको अनुगमनमा गाउँपालिकाले तीन दिनको भ्रमण आदेश बनाएर खर्च गरेको प्रतिवेदनमा उल्लेख छ ।

गाउँपालिका अध्यक्ष बहडखेरले एकलौटीदेखि नक्कली उपभोक्ता समिति, भक्ता पचाउनका लागि अनुगमन, एक शिर्षकको बजेट अर्को शिर्षकमा खर्च गर्ने गरेका छन् । तर, गुण्डाराज र दादागिरीका कारण उनकाविरुद्व कसैले औंला उठाउन सक्दैनन् । कसैले साहस गरेमा अध्यक्ष आक्रमणमा उत्रिहाल्छन् भन्ने त्रास गाउँपालिकाबासीमा छ ।

कमेन्ट गर्नुहोस्