देश छोडेर भाग्न खोज्ने कर्मचारीलाई मृत्युदण्ड

काठमाडौंः दक्षिण कोरियाले आफ्ना एक सरकारी कर्मचारीलाई उत्तर कोरियाका सैनिकहरूले गोली हानी मारेको र उनको शव जलाएको दाबी गरेको छ।

उक्त घटनालाई “क्रूर कार्य”को सङ्ज्ञा दिँदै सोलले त्यसको निन्दा गरेको छ। दक्षिण कोरियाको रक्षा मन्त्रालयका अनुसार ती कर्मचारी दुई देशको जलसीमानजिकै गस्ती गर्ने एउटा डुङ्गाबाट बेपत्ता भएका थिए। उनको जलेको शव पछि उत्तर कोरियाको पानीमा भेटियो।

विभिन्न सुराकको विश्लेषणपछि उत्तरका सैनिकले उनलाई गोली हानेको अनि शरीरमा तेल खन्याएर आगो लगाइदिएको निष्कर्षमा सोल पुगेको छ। यो आरोपबारे प्योङ्याङले कुनै प्रतिक्रिया दिएको छैन।

याे पनि पढ्नुस  चाप्लुसी गर्ने कर्मचारीका दिन गएः मन्त्री पण्डित

उत्तर कोरियाले आफ्नो सीमामा कडाइ गरेको छ। देशमा कोरोनाभाइरस प्रवेश गर्न नदिने उद्देश्यले “गोली हानेर मार्ने” नीति लागु गरेको अनुमान गरिएको छ।

‘भेटेपछि मृत्युदण्ड’

दक्षिणको रक्षा मन्त्रालयका अनुसार ४७ वर्षीय ती अधिकारी माछा मार्ने मामिला हेर्ने विभागमा कार्यरत थिए। यन्प्युङ टापुनजिकै उत्तर कोरियाको सीमाभन्दा १० किलोमिटर टाढा डुङ्गामा गस्ती गरिरहेको बेला सोमवार उनी हराएका थिए।

जुत्ता छोडेर लाईफ ज्याकेट लगाएर उनले डुङ्गा छोडेको जस्तो देखिएको दक्षिणका अधिकारीहरूले बताएका छन्। उनले देश छोडेर भाग्न खोजेको अनुमान गरिएको छ।

याे पनि पढ्नुस  बेवारिस कर्मचारीलाई प्रदेश पठाउने तयारी

उत्तर कोरियाको गस्ती टोलीले उनलाई आफ्नो जलसीमाभित्र थकित अवस्थामा फेला पारेको सोलको भनाइ छ। उत्तरमा वरिष्ठ अधिकारीले उनलाई मृत्युदण्डको आदेश सुनाउनुअघि उनीसँग सोधपुछ गरिएको थियो। सैनिकहरूले ग्यास मास्क लगाएर उनको शव जलाइदिएको दक्षिणका अधिकारीहरूले बताएका छन्।

कोरोनाभाइरसविरुद्ध चालिएको उपायअन्तर्गत त्यसो गरिएको हुनसक्ने उनीहरूको अनुमान छ। आफ्नो देशमा कोरोनाभाइरस महामारी नफैलियोस् भनेर उत्तर कोरियाली अधिकारीहरूले सबै खालका उपाय अवलम्बन गरिरहेको हुनसक्छ।

याे पनि पढ्नुस  दक्षिण कोरियामा ह्वात्तै बढ्यो कोरोना

त्यहाँ सरकारले सत्तारूढ दलको ७५ औँ वार्षिकोत्सवका अवसरमा अक्टोबर १० मा विशाल सैन्य परेडको तयारी गरिरहेका छन्। कोरोनाभाइरस नआओस् भनेर प्योङ्याङले ज्यानुअरीमा चीनसँगको सीमा बन्द गरेको थियो। जुलाईमा सङ्कटकालीन अवस्थालाई अधिकतम तहमा पुर्‍याइएको सरकारी सञ्चारमाध्यमले बताएका थिए।

उत्तरका सैनिकहरूले दक्षिण कोरियाका गैरसैनिकलाई गोली हानी मारिदिएको यो दोस्रो घटना हो। यसअघि सन् २००८ जुलाईमा एक दक्षिण कोरियाली पर्यटकको कुम्गाङ पर्वतमा गोली हानेर हत्या भएको थियो। बीबीसी

कमेन्ट गर्नुहोस्