नेपालमा रोकिएन कोरोना, के फेरि होला लकडाउन ?

काठमाडौंः नेपालमा कोरोना संक्रमित तीव्र रुपमा बढ्दै गएको छ । देशभर लकडाउन तथा निषेधाज्ञा हटाइएसँगै कोरोना संक्रमण ह्वात्तै बढेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।

नेपालमा गत भदौ २४ देखि प्रत्येक दिन १,००० भन्दा बढी सङ्क्रमित फेला परिरहेका छन् । गत शुक्रवार असोज ३ गते एकै दिन २,०२० जनामा सङ्क्रमण पुष्टि भएको थियो । त्यो अहिलेसम्मकै सर्वाधिक दैनिक वृद्धि थियो । बुधवार १,१७२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

बिहीबार ५४ जिल्लामा १४ सय ९७ जना संक्रमित भेटिए । तर, ४५७ जना डिस्चार्ज भए । नेपालमा कोरोनाबाट बिहीबार नै थप १७ जनाको मृत्यु भएको छ । बिहीबार मृत्यु हुनेको संख्या हालसम्मकै बढी हो । यसअघि असोज ५ गते सोमबार १६ जनाको एकैदिन मृत्यु भएको थियो ।

लकडाउन तथा निषेधाज्ञा हटाइएसँगै घना बस्ती भएका काठमाडौं उपत्यकालगायतका स्थानमा संक्रमित बढिरहेका छन् । काठमाडौं उपत्यकामा मात्रै संक्रमितको संख्या ५० प्रतिशत छ । पछिल्लो समय काठमाडौं उपत्यका कोरोनाको हटस्पट बनेको छ ।

याे पनि पढ्नुस  कुन-कुन जिल्लामा थपिए आज कोरोना संक्रमित? (विवरणसहित)

मन्त्रालयका प्रवक्ता गौतमले भने, ‘उपत्यकालगायतका घना बस्ती भएका स्थानहरूमा भौतिक दुरी कायम गर्न समस्या छ । त्यसकारण कोरोना सर्ने सम्भवना बढी छ । जनस्वास्थ्यका मापदण्ड पालना नगर्दा कोरोना बढेको बढ्यै छ ।’

उनले धेरै मानिसहरू कोरोनालाई बिर्सन थालेको भन्दै त्यो अर्को खतराको संकेत रहेको चेतावनी दिए ।

बाहिर निस्कनेका कारण घरमै रहेको परिवारका जेष्ठ नागरिक र दीर्घरोगीलाई कोरोना संक्रमण हुने खतरा रहेको बताए । ‘बाहिर निस्कनेले सतर्कता नअपनाए घरमै रहेका परिवारका जेष्ठ नागरिक र दीर्घरोगी खतरामा पर्छन् । युवालाई कोरोनाको लक्षमण नदेखिए पनि परिवारमा सर्छ ।’

उनले दशैंमा घर जाँदा कोरोना कोसेली बोकेर त जाँदैछैनौं भन्ने सोच्ने बेला आएको तर्फ पनि सचेत गराए । उनले घर जाँदा आफू र परिवारलाई कसरी बचाउनेतर्फ ध्यान दिन पनि आग्रह गरे ।

याे पनि पढ्नुस  दाङमा भदौ १ देखि ८ गतेसम्म साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म निषेधाज्ञा

लक्षणसहितका संक्रमित बढ्दै जाँदा नेपालजस्तो स्रोतसाधन कम भएको मुलुकका लागि चुनौती हुने बताए । संक्रमित भएर पछुताउनुभन्दा संक्रमित हुनबाट बच्न र अरुलाई बचाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

के फेरि लकडाउन होला ?

नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या २५ हजार बढी पुगे फेरि लकडाउन हुने मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले २५ हजार बढी भए सक्रिय संक्रमित भए लकडाउन गर्न सीसीएमसीलाई सिफारिस गर्ने निर्णय गरेको मन्त्रालयका प्रवक्ता गौतमले बताए । २५ हजार बढी संक्रमित भए अस्पतालको पूर्वाधारमा व्यवस्थापन गर्न गाह्रो हुने भएकाले मन्त्रालयले उक्त निर्णय गरेको हो ।

बिहीबार देशभर १८ हजार ४३७ जना सक्रिय संक्रमित छन् । बुधबार देशभरि १७ हजार ४१४ जनामा सक्रिय सङ्क्रमण थियो ।

याे पनि पढ्नुस  रुपन्देहीमा एकै दिन ३ सङ्क्रमितको मृत्यु

संक्रमित बढ्दै जाँदा र निको हुने संख्या घटेमा सक्रिय संक्रमितको संख्या २५ हजार बढी हुन दुई साता पनि नलाग्ने मन्त्रालय स्रोतले जनाएको छ । मन्त्रालय स्रोत भन्छ, ‘यहीँ अनुपातमा कोरोना संक्रमितको संख्या बढ्दै जाने हो भने लकडाउन घोषणा गर्नुपर्ने दिन टाढा छैन ।’ अब लकडाउन भएमा संक्रमणको अवस्था हेरेर हुनेछ ।

नेपालमा पछिल्लो समय निको हुने संख्या घट्दै गइरहेको छ भने संक्रमित संख्या बढ्दैछ । मुख्य शहरमा कोरोना तीव्र गतिमा फैलिँदै गइरहेको छ । जसका कारण तत्काल कोरोना नियन्त्रण चुनौंतीपूर्ण रहेको जानकारहरू बताउँछन् ।

सम्बन्धित समाचारः

१४९७ संक्रमित थपिए, निको हुने ५० हजार नाघे

आज कुन जिल्लामा कति संक्रमित थपिए ? (सूचीसहित)

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्यामा रेकर्ड

काठमाडौं उपत्यकामा थप ७५५ जनामा संक्रमण पुष्टि

कमेन्ट गर्नुहोस्