काठमाडौं : नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई नै सो पदमा पुनः नियुक्ति गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा गएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइरालासहितका उपकार्यकारी निर्देशकलाई मन्त्रालयमा बोलाएर दिएको निर्देशनको क्रममा उक्त जानकारी दिएको ऊर्जा मन्त्रीको सचिवालयले जनाएको छ ।
मन्त्री पुनले प्राधिकरणमा निवर्तमान कार्यकारी निर्देशकसँगै बसेर राम्रो काम गरेको टिममाथि नै प्रश्न उठाएकाले ती प्रश्नका जवाफ कामबाटै दिन वर्तमान नेतृत्वलाई आग्रह गरे ।
मन्त्री पुनले आफूले कुलमान घिसिङलाई पुनः कार्यकारी निर्देशक नियुक्ति गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगेको र त्यसबारे छलफल भइरहेको भन्दै मूल नेतृत्व नभएको महसुस नहुनेगरी कार्यसम्पादन गर्न निर्देशन दिए ।
उनले केही दिनयता विद्युत् वितरण प्रणालीमा उत्पन्न समस्या तत्काल समाधान गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिए ।
मन्त्री पुनले निमित्त कार्यकारी निर्देशक कोइरालालाई पूर्ण अधिकार प्रयोग गरी काम गर्न र ठूलै समस्या आए तत्काल आफूलाई जानकारी दिन पनि निर्देशन दिए ।
उनले कोभिड-१९ का कारण विद्यालय र विश्वविद्यालयको पठनपाठन अनलाइन कक्षामार्फत भइरहेकाले पनि विद्युत् अनियमित हुँदा विद्यार्थीको पढाइमा थप प्रतिकूल असर पर्न सक्नेतर्फ गम्भीर हुनुपर्ने उल्लेख गरे ।
मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले नियमित विद्युत् पाइरहेका जनता समस्यामा पर्दा शङ्काको आँखाले हेर्नु स्वाभाविक भएको बताए । उनले प्राधिकरणका समस्या समाधान गरी जनतालाई नियमित विद्युत् उपलब्ध गराउने काममा मन्त्रालय सधैँ गम्भीर रहेको स्पष्ट गरे ।
मन्त्रालयका प्रवक्ता एवं सहसचिव प्रवीणराज अर्यालले विद्युत् प्रणालीमा आएका समस्याबारे समयमै सही सूचना नपाउँदा कतिपय अवस्थामा जनतामा भ्रम पर्न गएको भन्दै सूचना सम्प्रेषणमा ध्यान दिन सुझाव दिए ।