कालापानी क्षेत्रमा पुगेर गृहमन्त्रीले भने, ‘सीमा सुरक्षा सरकारको प्राथमिकतामा’

दार्चुला : नेपाल सरकारका गृहमन्त्री रामबहादुर थापा (बादल) ले सीमा सुरक्षा सरकारको प्राथमिकतामा रहेको बताएका छन् । भारतले अतिक्रमण गरेको कालापानी क्षेत्र नजिकको सशस्त्र प्रहरी बल नेपाल गुल्म नम्बर ५० छाङ्रु दार्चुलाको भवन शिलान्यास गर्दै गृहमन्त्री थापाले सीमाक्षेत्रमा सुरक्षाकर्मी र बीओपी थप हुने क्रममा रहेको जानकारी दिए ।

भारतले नेपाली भूमि मिच्दै गएपछि आफ्नो भूमिको रक्षाको लागि नेपाल सरकारले गत वैशाख ३१ गते सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरेकोमा अहिले गुल्ममा स्तरोन्नती गरिएको छ । गत असार २८ गते बसेको मन्त्रिपरिषदको निर्णय अनुसार छाङ्रुमा सशस्त्रको गुल्म स्थापना गरिएको गृहमन्त्री थापाले बताए । अहिले व्याँसको गुल्ममा सशस्त्र प्रहरी नायब उपरीक्षक धिरेन्द्र शाहले नेतृत्व गरिरहेका छन् ।

याे पनि पढ्नुस  ३२ वर्ष अगाडि कालापानीको भारतीय क्याम्प पुगेका भूतपूर्व प्रहरी प्रमुख के भन्छन् ?

गृहमन्त्री थापाले भने, ‘नेपाल सरकारले भारतद्धारा अतिक्रमित कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूगोल समेटेर नयाँ नक्सा जारी गरिसकेको छ । नक्सामा समेटिएको भूमि फिर्ता गर्ने र सीमा क्षेत्रमा सुरक्षा उपस्थिती बढाउने कामलाई सरकारले प्राथमिकतामा राखेको छ ।’ व्याँसकै तिङ्कर र कौवामा पनि बीओपी स्थापना हुने उनले बताए ।

याे पनि पढ्नुस  ‘ग्रेटर नेपाल’को नक्सा खोज्दै संसदीय समिति

गृहमन्त्री थापासँगै व्याँसको छांगरुमा सशस्त्र प्रहरीका आइजिपी शैलेन्द्र खनाल, गृहसचिव महेश्वर न्यौपाने, दार्चुलाबाट निर्वाचित सांसद गणेशसिंह ठगुन्ना, गृहमन्त्रीका राजनीतिक सल्लाहकार सूर्य सुवेदी, सुरक्षा सल्लाहकार ईन्द्रजीत राई, नेपाली सेनाका सहायक रथी पवनराज घिमिरे, सशस्त्र प्रहरीका एआइजी रामशरण पौडेल लगायत १२ जनाको टोली काठमान्डौंबाट नेपाली सेनाको एनए ०५७ नम्बरको हेलिकोप्टरमार्फत छाङ्रु पुगेको हो ।

गृहमन्त्री थापा नेतृत्वको टोली शुक्रबार व्याँसमै बस्ने कार्यक्रम रहेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिए ।

गृहमन्त्री थापाको टोली शनिबार छाङरुबाट सिधै काठमाडौं फर्किने कार्यतालिका छ । व्याँसमा बस्दा कालापानी नजिकको कौवा, तिङ्कर लगायतका क्षेत्रमा निरीक्षण गर्ने योजना रहेको जनाइएको छ ।

याे पनि पढ्नुस  सीमा रक्षाका लागि हस्ताक्षर संकलन

छाङ्रुमा सशस्त्र प्रहरी बल ५० नम्बर गुल्मको भवन १० करोड लागतमा बन्नेछ । गत असार २९ गते बसेको मन्त्रिपरिषद बैठकले सदरमुकाम खलंगामा गण स्थापना गरेर खलंगास्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेडक्वार्टरलाई व्याँस गाउँपालिका-१ छाङरुको गागामा सार्ने निर्णय गरेको थियो । व्याँस गाउँपालिकाको छाङ्रु अतिक्रमित क्षेत्र कालापानीभन्दा झण्डै १२ किलोमिटर दक्षिणमा पर्दछ ।

कमेन्ट गर्नुहोस्