बलात्कारीलाई नपुंशक बनाउने कानुन ल्याइयोस्

अबोध, कलिला नानीहरुको बलात्कार हुन्छ, हत्या हुन्छ । तत्कालका लागि घटना चर्किन्छ तर छिट्टै त्यसलाई दबाईन्छ । यदि बलात्कृत हुने समाजमा ‘हैसियत’ नहुने वर्गका छन् भने सकेसम्म उनीहरुको आवाज नै सुनिँदैन । आवाज सुनिएपनि त्यसलाई ‘मिलाउन’ खोजिन्छ । मानौं कि त्यहाँ केही भएको छैन भनेजस्तो ।
तराईतिर पञ्चायत सक्रिय हुन्छन, पहाडतिर प्रभुत्व बोकेकाहरुले घटना मिलाउन थाल्छन् । प्रहरीले मुचुल्का उठाएजस्तो गर्छ । अदालतमैं घटना पुगेपनि अन्तमा केही घटना छोड्ने हो भने पीडितलाई त्यो लामो न्यायिक प्रक्रियासँग जुध्ने आँट नै हुँदैन ।

कुनै बेला चर्चित मनिषा दर्जी बलात्कार काण्डदेखि निर्मला पन्तको घटना र हालै दुई नम्बर प्रदेशमा बलात्कारपछि न्याय नपाएर आत्महत्या गरेकी नानीदेखि बझाङकी अबोध शिशुको बलात्कारसम्म । यी सबैले हाम्रो व्यवस्था, हाम्रो न्याय प्रणालीलाई गिज्याएँदै आएका छन् ।

बलात्कारलाई सामान्य घटनाका रुपमा लिने मानसिकता अझै कायमै छ । जबकि यौनसम्पर्क र बलात्कार बिल्कुल फरक कुरा हुन । बलात्कारमा यौन सन्तुष्टि त एउटा बहाना मात्र हो, जबकि त्यहाँ पुरुष दम्भले जित्न खोजेको हुन्छ । एउटा विजेताको मनोविज्ञान त्यहाँ लुकेको हुन्छ । म पुरुष हो, मैले जे चाहे गर्न सक्छु, मैले उसलाई परास्त गरे, धुजाधुजा पार्न सकेँ भन्ने मनोविज्ञान र मानसिकताले यौनमा जबर्जस्ती हुन्छ । अझ कलिला नानीहरुमाथि हुने अपराध त यो भन्दा पनि घीनलाग्दो मानसिकताको उपज हो । त्यहाँ यौन कुण्डासँगै पशुवत मानसिकता कायम हुन्छ ।

याे पनि पढ्नुस  न्याय नपाएपछि १७ वर्षीय बलात्कृत किशोरीले गरिन आत्महत्या

तर हाम्रो दण्ड प्रणाली र न्यायिक संरचनाले बलात्कारलाई मात्र एउटा घटना मान्छ, त्यससँग जोडिएको समग्र नारी अस्तित्व, पशु मानसिकता र पाशविकतालाई ध्यान दिँदैन । पशुहरुलाई छाडा छोड्न नचाहने समाजले यी पशुवत मानसिकता भएकाहरुलाई झन जोगाउन खोज्छ । र, बलात्कृत हुने र बलात्कार गर्ने मानसिकताको विकासले निरन्तरता पाइरहेको छ ।

बलात्कार र हत्यामा के फरक छ ? श्वास चलेर पनि पल पल छटपटिनु ठूलो सजाय हुन्छ कि एकचोटी चटक्कै श्वास जानुमा भन्ने कुरा कानुनले बुझ्दैन । कानुनले अंकगणितमा अपराध हेर्छ । तर बलात्कृत महिलाको मनोदशाको डिग्री अहिलेको अनुसन्धान र न्यायिक संरचनाले मापन गर्न सक्दैन । यो मापन हुने कुरा होइन ।

याे पनि पढ्नुस  लकडाउनको समयमा महिला असुरक्षितः २६ दिनमा २० बलात्कारका घटना

त्यही भएर कैयन देशमा बलात्कारका घटनालाई अत्यन्तै जघन्य अपराधका रुपमा लिइन्छ । हत्यासरह लिइन्छ । छिमेकी भारतमा समेत दिल्लीमा भएको सामूहिक बलात्कारको घटनापछि चर्केको आन्दोलन र बहसका कारण बलात्कारविरुद्ध कडा कानुन ल्याइएको छ । यद्यपी त्यो कानुन अझै अधुरो छ र भारतीय सामाजिक व्यवस्थामा कायम पौरुष्य मानसिकताका कारण बलात्कारका घटनामा निर्णायक कमी आउन सकेको छैन ।

तर कम्तीमा पनि भारतले बलात्कारविरुद्धको कानुनी पक्षमा उल्लेख्य सुधार गरेको छ । बालबालिकाविरुद्ध हुने यौनहिंसालाई गम्भीररुपमा लिएको छ ।

अन्य देशहरुमा समेत बलात्कारलाई हदैसम्मको अपराधका रुपमा लिएको देखिन्छ । नेपालमा बलात्कारीलाई फाँसी दिनुपर्ने माग समेत कतिपय बेला उठ्ने गर्छ । तर फाँसी दिने कानुन नेपालमा छैन र यो कानुन निर्माण गर्नु पनि सम्भव छैन ।

याे पनि पढ्नुस  बलात्कारको मुद्दा गाउँमै मिलाएको आरोपमा ६ जना पक्राउ

यो अवस्थामा बलात्कारीलाई नपुंकशक बनाउने कानुन ल्याउन कुनै अप्ठ्यारो भने पर्दैन । विश्वका कतिपय देशमा बलात्कारीलाई नपुंकश अर्थात् खसी बनाउने कानुन प्रचलनमा छन् । बलात्कारको अपराधको प्रकृति हेरेर खास गरेर बालबालिकामाथि हुने बलात्कारका घटनामा बलात्कारीलाई जीवनभरी यौनक्रियाका लागि अयोग्य बनाइन्छ । यो फाँसी भन्दा पनि ठूलो सजाय हुन सक्छ ।

त्यसैले आउनुस, पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अपील गरेजस्तै बलात्कारीलाई नपुंकशक बनाउने कानुनका पक्षमा आवाज उठाऔं । बलात्कारी यही समाजमा नपुंकशक भएर बाँच्नु पर्ने र जसरी बलात्कृत महिला पलपल पीडा भोगेर बाँच्नुपर्छ, त्यही रुपमा यौनक्रियामा भाग नै लिन नसक्ने गरी बलात्कारीलाई सजाय दिने कानुनका लागि सबैले आवाज उठाउनु जरुरी देखिन्छ ।

कमेन्ट गर्नुहोस्