चीनसँगको पहिलो अन्तर्देशीय प्रसारण लाइनको फिल्ड भेरिफिकेशनको काम रोकियाे

रसुवाः चीनसँगको पहिलो अन्तर्देशीय प्रसारण लाइनको फिल्ड भेरिफिकेशनको काम रोकिएको छ । ६ वर्षभित्र काम सम्पन्न गर्नेगरी २ वर्ष अघि सुरु भएको प्रसारण लाइनको फिल्ड भेरिफिकेशनको काम कोभिड-१९ का कारण रोकिएको रातमाटे-रसुवागढी-केरुङ ४ सय केभी प्रसारण लाइन आयोजनाले जनाएको छ । एनइए इन्जिनियरिङ कम्पनीले भू सूचना प्रणाली (राउटिङ सिष्टम) बाट अध्ययन गरेर आयोजनालाई प्रारम्भिक प्रतिवेदन बुझाएको भएपनि फिल्ड भेरिफिकेशनको काम रोकिएको हो ।

आयोजना प्रमुख कोमलनाथ आत्रेयले दशैं अघि काम सुरु गर्ने योजना रहेको बताए । ‘अहिले फिल्डमा जान सकिने अवस्था छैन’, उनले भने, ‘फिल्ड भेरिफिकेशनको काम दशैं अगाडि सुरु हुन्छ कि भन्ने आशा छ । कम्पनीले १४ महिनामा काम सक्ने गरी असार १ गतेदेखि काम सुरु गरेको थियो ।

प्रसारण लाइनमा ५ हजार मेगावट विद्युत् प्रवाह हुने आयोजनाले जनाएको छ । नेपालतर्फ ४ सय केभी डबल सर्किट र चीनतर्फ ५ सय केभी डबल सर्किट लाइन हुने छ । चीनको केरुङदेखि नेपालको रातमाटेसम्म निर्माण हुने आयोजनाको फिजिबिलिटी अध्ययन सकिएको छ ।

यो प्रसारण लाइनमा २ सय १४ ओटा टावर रहने छ । नेपाल तर्फ रातमाटेमा सबस्टेशन रहने छ भने चीनतर्फ तिब्बतमा रहेको जिलोङ काउण्टीमा सबस्टेसन राखिने छ । रसुवागढी नाकादेखि रातमाटेसम्मको प्रसारणको दूरी ७० किलोमिटर रहेको छ ।

अन्तर्देशीय प्रसारण लाइन ६ वर्षभित्र सक्ने लक्ष्य राखिएको छ । आयोजनाले नेपालतर्फ लोड फ्लो टेष्ट गरिसकेको छ भने चीनतर्फ कोभिड-१९ का कारण हुन सकेको छैन् । दुवैतर्फको लोड फ्लो स्टडी भएपछि संयुक्त रूपमा लोड फ्लो टेष्ट गर्ने आयोजनाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्