आफ्नै देशको बाटो प्रयोग गर्दै छाङरू र तिङ्करवासी

काठमाडौं : नेपाली सेनाले दार्चुला सदरमुकाम खलङ्गालाई व्यास गाउँपालिकाको छाङरु र तिङ्कर गाउँसित जोड्ने घोडेटो बाटो आगामी सोमबार हस्तान्तरण गर्ने भएको छ ।

नेपाली सेनाले झण्डै चार महिनाको भगीरथ प्रयासपछि व्यास गाउँपालिका-१ घाँटीबगरस्थित अत्यन्तै कडा र अप्ठेरो पहरो फोरेर उक्त बाटो निर्माण गरेको हो ।

महाकाली नदी किनारको उक्त क्षेत्रमा सेनाले पहरो फोरेर दुई मिटर चौडाइ भएको ५ सय ५० मिटर लामो बाटो निर्माण गरेको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए । सो बाटो निर्माण गर्न रु एक करोड ८ लाख खर्च भएको छ । पहरो फुटाएको क्षेत्रमा सरसफाइको अन्तिम चरणको काम भइरहेको प्रवक्ता पौडेलले बताए ।

याे पनि पढ्नुस  दार्चुलाको छाङ्गरु र तिङ्करमा खाद्यान्न ढुवानी

घाँटीबगर क्षेत्र दार्चुला सदरमुकाम खलङ्गाबाट करिब ६० किलोमिटर उत्तरमा पर्छ । सेनाका सुदूरपश्चि पृतनापति निर्मलकुमार थापाले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई सोमबार उक्त बाटो हस्तान्तरण गर्ने कार्यक्रम छ । उक्त बाटो निर्माणको क्रममा नेपाली सेनाका एक जवानले वीरगति प्राप्त गरेका थिए । चार महिनासम्म सेनाका ६५ तथा स्थानीय करिब ४० जनाको जनशक्ति दैनिकरुपमा परिचालन गरिएको थियो ।

महाकाली तटीय क्षेत्रको उक्त बाटो बर्सेनी वर्षात् बाढी पहिरोका कारण भत्किँदै आएको थियो । पैदल बाटोसमेत नहुँदा खलङ्गादेखि झण्डै ७२ किलोमिटरको दूरीमा रहेको छाङरु गाउँका ९० परिवार तथा तिङ्कर गाउँमा बसोबास गर्ने करीब ६० परिवारलाई बसाइँ सर्न समस्या हुँदै आएको छ ।

याे पनि पढ्नुस  छाङरू र तिंकरवासीका लागि बाटो बनाउँदै नेपाली सेना

भारतीय सीमा नजिकको छाङरु गाउँ तथा तिब्बत सीमा नजिकको तिङ्कर गाउँमा शौका समूदायको बसोबास छ । उनीहरु हिउँदमा कात्तिकदेखि चैत महिनासम्म दार्चुला सदरमुकाम खलङ्गा बसाइँ सर्ने तथा हिउँ पग्लेपछि गर्मी यामको वैशाखदेखि असोजसम्म व्यास क्षेत्र उक्लिदै आएका थिए ।

झण्डै ४० वर्षअघि सो क्षेत्रमा पहिलो पटक घोडेटो बाटो निर्माण गरिएको थियो । बर्सेनी हिमपातसँगै पहिरो खस्दा बाटो अवरुद्ध हुँदै आएको थियो । त्यसैमाथि महाकालीको बाढीले बाटोको निसानै मेटाइ दिँदा त्यहाँका बासिन्दा पछिल्लो समय खलङ्गापारीको भारतीय क्षेत्र धारचुला हुँदै भारतकै बाटो प्रयोग गरी पैदल छाङरु र तिङ्कर आवतजावत गर्न बाध्य थिए ।

याे पनि पढ्नुस  छाङरू र तिंकरवासीका लागि बाटो बनाउँदै नेपाली सेना

बजेट अभावसँगै पहरा फुटाउन पर्याप्त जनशक्ति जुटाउन नसक्दा शौका समुदाय निकै दुःख गरेर बर्सेनी कुञ्चा (बसाइँ सर्नु) जाने गरेको थियो । नेपाली सेनाले पहरो फाडेर बाटो बनाएपछि अब शौका समुदायलाई आफ्नै नेपाली भूमि भएर गाउँ फर्कन सहज भएको छ । रासस

कमेन्ट गर्नुहोस्