काठमाडौं उपत्यकामा चुलियो संक्रमण, के संकेत गर्छ यसले ?

कोरोनाभाइरसका सङ्क्रमितको सङ्ख्या पछिल्ला साताहरूमा क्रमश: वृद्धि हुँदै शुक्रवार अहिलेसम्मको सर्वाधिक देखिनु निकै चिन्ताजनक अवस्था भएको विज्ञहरूले बताएका छन्।

शुक्रवार १४,७४९ व्यक्तिको पीसीआर परीक्षण गर्दा २,७२२ अर्थात् परीक्षण गरिएकामध्ये करिब १९ प्रतिशत सङ्क्रमित दर देखियो।

अहिले चिन्ताजनक देखिएको यो अवस्था हिउँदको अन्त्यसम्म जारी रहने सम्भावना रहेकोले सरकारले ढिला नगरी नियन्त्रणका थप उपाय अपनाउनुपर्ने जनस्वास्थ्यविज्ञ तथा ह्याम्स अस्पतालमा कार्यरत डा. किरणराज पाण्डेले बताए।

सङ्क्रमितको अहिलेको अवस्थाले समुदाय स्तरमा तीव्र गतिमा सङ्क्रमण फैलिरहेको र नियन्त्रणका लागि जनस्वास्थ्य स्वास्थ्य सङ्कटकाल लागु गर्न ढिला भइसकेको स्वास्थ्य मन्त्रालयका अवैतनिक सल्लाहकार डा. सुरेश तिवारी बताउँछन्।

विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुसार परीक्षण गरिएका सङ्ख्या मध्ये ३ देखि १२ प्रतिशतमा सङ्क्रमण देखिए त्यसलाई सामान्य अवस्थाकै रूपमा हेर्नुपर्ने उनीहरू बताउँछन्।

तर त्योभन्दा बढी देखिए नियन्त्रणका लागि थप प्रयास गर्नुपर्ने जनाउ दिने भन्दै अहिले हामी केही सातायता त्यही अवस्थामा रहेको डाक्टर तिवारी बताउँछन्।

याे पनि पढ्नुस  पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थपिए २४०२ संक्रमित

त्यो पनि जनघनत्व बढी भएका कारण मानिसको आवातजावत बढ्ने काठमाण्डू उपत्यकामा मात्रै शुक्रवार ६० प्रतिशत र शनिवार ५५ प्रतिशत सङ्क्रमित देखिएकाले सरकारले तत्काल जनस्वास्थ्य सङ्कटकाल लागु गर्नुपर्ने र कोरोनाभाइरससम्बन्धी सामाजिक संहिता लागु गर्नुपर्ने उनी बताउँछन्।

“सङ्क्रमितको सङ्ख्या दिनानुदिन बढिरहेको अहिलेको अवस्थाले काठमाण्डूमा मात्रै कम्तीमा करिब १० हजार अक्सिजनको व्यवस्था भएको बेडसहितका आइसोलेसन सेन्टर बनाउनुपर्ने देखिन्छ,” डाक्टर तिवारीले भने, “अहिलेसम्म पनि लक्षण नदेखिएका सङ्क्रमितको सङ्ख्या धेरै छ। तर जब घरमा आइसोलसनमा बसेका बिरामी अस्पताल जानुपर्ने अवस्थामा अस्पतालले थेग्दैन त्यस्तो अवस्थामा स्वास्थ्यकर्मी र अक्सिजनको सुविधा भएको आइसोलेसन सेन्टरमा राख्नुपर्छ।”

ह्याम्स अस्पतालमा कार्यरत डाक्टर पाण्डे अहिले काठमाण्डूका सुविधा सम्पन्न कुनै पनि अस्पतालमा आइसियू पाउन मुस्किल रहेको बताउँछन्।

‘अवस्था हिउँदसम्म लम्बिन सक्छ’

कोरोनाभाइरसबाट सङक्रमित व्यक्ति अहिले नै जेनेरल वार्डमा धेरै रहेको र उनीहरूको अवस्था बिग्रिएपछि आइसियूमा लैजान ठाउँ अपुग हुन थालेको उनी बताउँछन्।

“काठमाण्डू उपत्यकाबाहिरका मानिसलाई पनि काठमाण्डूमै उपचार गर्नुपर्छ भन्ने हुन्छ। अहिले कुनै पनि अस्पतालमा आइसियू पाउन गाह्रो छ,” डाक्टर पाण्डे भन्छन्।

याे पनि पढ्नुस  काठमाडौं उपत्यकामा संक्रमितको संख्या ५१ हजार बढी, ६०% सक्रिय संक्रमित, २२७ काे मृत्यु

उनका अनुसार मानिसको हिँडडुल धेरै हुने दशैँ, तिहार, छठजस्ता चाडबाडले पनि सङक्रमित बिरामीको सङख्या बढ्नेछ।

त्यसबाहेक जाडो महिनामा कोरोनाभाइरसका लक्षणसँग मिल्दाजुल्दा रुघा, खोकीलगायत स्वाशप्रस्वाशसम्बन्धी समस्या भएका बिरामी बढ्ने हुँदा नियन्त्रणका लागि निकै चुनौती रहेको छ।

“अहिले हामीले देखेको बिरामी व्यवस्थापनको चिन्ताजनक अवस्था हिउँदको अन्त्यसम्म रहन सक्छ। त्यो अनुसार सरकारले परीक्षणको दायरा फराकिलो पार्ने र उपचारका थप क्षेत्र विकास गर्ने काम गर्नुपर्छ,” जनस्वास्थ्यविज्ञ डा. पाण्डेले बताए।

अन्य थुप्रै देशमा जस्तो मृत्युदर नेपालमा नभएको पक्ष सकारात्मक रहेको भन्दै विगतका गल्ती नदोहोर्‍याइ अबको समय प्रभावकारी रूपमा नियन्त्रण र रोकथामका लागि प्रयोग गर्नुपर्ने उनले बताए।

स्वास्थ्य मन्त्रालयका अवैतनिक सल्लाहकार डा. सुरेश तिवारीले सरकारले प्रयास गरिरहेको भए पनि पछिल्लो समय आफूहरूले दिँदै आएका सल्लाह नमानेको बताएका छन्।

“जनस्वास्थ्य सङ्कटकाल लागु गर्‍यो भने सेवा प्रदायक निजी र सरकारी अस्पताल एकै ठाउँमा आउँछन्। कोभिडसम्बन्धी सामाजिक संहिता जारी गर्‍यो भने त्यसले जनमानस भेला हुने प्रत्येक ठाउँहरूमा सुरक्षा सतर्कता थप बलियो बनाउँछ र निषेधाज्ञा वा लकडाउनकै बीच पनि मानिस सुरक्षित हुन्छन्। तर यी सुझाव सरकारले सुनेको छैन,” डाक्टर तिवारीले भने।

याे पनि पढ्नुस  वीर अस्पतालमा ११५ जना स्वास्थ्यकर्मीमा सङ्क्रमण, उपत्यकामा ६०० बढी सङ्क्रमित

त्यो सँगसँगै नियम पालना नगर्ने संस्था वा व्यक्तिलाई कानुनी दायरामा ल्याउने खालको व्यवस्था पनि हुनुपर्ने उनले बताए।

“स्याल मार्न जाँदा बाघ मार्ने हतियार हुनुपर्छ भन्ने उखान नै छ। अहिले सरकारसँग स्याल मार्नका लागि स्याल मार्ने नै हतियारमात्रै देखियो,” डाक्टर तिवारीले भने, “हामीहरू अगाडि रहेर कोरोनाभाइरसलाई पछाडि राखेर नियन्त्रण गर्नुपर्नेमा स्थिति कोरोनाभाइरस हामीभन्दा अगाडि भएजस्तो देखिसक्यो।”

यसका लागि सरकारले अहिले जस्तो प्रहरीलाई सडकमा मात्रै नभइ समुदायमै खटाउनुपर्ने उनी बताउँछन्।

कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण र रोकथामका लागि सरकारले प्रतिकार्य योजना ल्याएर अघि बढ्नुको विकल्प नरहेको उनले बताए।

-बिबिसी नेपालीबाट

कमेन्ट गर्नुहोस्