हिमालय एअरलाइन्सद्वारा काठमाडौंका हस्पिटलहरुलाई चिकित्सा सामाग्री प्रदान

काठमाडौंः हिमालय एअरलाइन्सले काठमाडौं उपत्यकामा कोरोना भाइरस सङ्क्रमणको अप्रत्यासित बृद्धिसँगै निम्तिएको समस्यासँग जुध्न र समुदायमा कोरोना भाइरसको फैलावट रोक्न काठमाडौं उपत्यकाका विभिन्न हस्पिटलहरुलाई चिकित्सा सामाग्री प्रदान गरेको छ ।

यस महामारीविरुद्ध अग्रभागमा उभिएर कार्य गर्ने स्वास्थ्य कार्यकर्ताहरुको सुस्वास्थ्यको सुनिश्चिता र तिनलाई सङ्क्रमणबाट बचाउन तत्काल चालिनुपर्ने कदमको महत्व बुझ्दै एअरलाइन्स्ले शहिद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्र, बाँसवारी, राष्ट्रिय ट्रमा सेन्टर, महाँकाल र मनमोहन मेमोरियल सामुदायिक हस्पिटल, फर्पिङ्गलाई विविध चिकित्सा सामाग्री प्रदान गरेर सहयोग पुर्‍याएको हो । ती चिकित्सा सामाग्रीहरुको हस्तान्तरण कार्यक्रम गतसाता हिमालय एअरलाइन्स्को कार्यालय परिसरभित्र सम्पन्न भएको थियो ।

उक्त कार्यक्रममा हिमालय एअरलाइन्सको ब्राण्ड तथा सेवा सुधार विभागकी प्रमुख उज्ज्वला दलीले शहिद गङ्गालाल हृदयरोग केन्द्रका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. रञ्जित बराललाई १०० थान पी.पी.इ.सेट र १०० थान आर.डी.टी. परीक्षण किट प्रदान गर्नुभएको थियो । त्यसैगरी १०० थान पी.पी.इ. सेट र १०० थान आर.डी.टी. परीक्षण किट राष्ट्रिय ट्रमा सेन्टरका हाड-जोर्नी विशेषज्ञ डा. ज्ञानेन्द्र शाहले प्राप्त गरेकी छन् ।

विशेषतः काठमाडौं उपत्यकाभित्र रहेका स्वास्थ्य क्षेत्रका समुदायहरु बीच आफ्नो सेवाको पहुँच बढाउने प्रयासअनुरुप एअरलाइन्सले कोभिड-१९ विरुद्धको लडाईंमा अत्यावश्यक पर्ने १०० थान पी.पी.ई. सेट, १०० थान आर.डी.टी. परीक्षण किट, २०० थान सर्जिकल मास्क, २०० थान सर्जिकल ग्लोभ्स, ५० थान एन-९५ मास्क, ५० थान फेस शिल्ड्स, ५०० थान शु कभर र ५ बोत्तल स्यानिटाइजर जस्ता स्वास्थ्य सुरक्षाका सामाग्रीहरु मनमोहन मेमोरियल सामुदायिक हस्पिटललाई प्रदान गरेको थियो । सो हस्पिटलका निमित्त अध्यक्ष पूर्णबहादुर शाहीले हस्पिटलका तर्फबाट उपरोक्त सामाग्रीहरु ग्रहण गरे ।

उक्त कामको प्रशंसा गर्दै शाहीले फर्पिङ्गका समुदायहरुका लागि प्राप्त सहयोग अत्यन्त समय-सापेक्ष, सान्दर्भिक र अत्यावश्यक रहेको समेत बताए । विविध चिकित्सा सामाग्रीहरु प्राप्त गर्ने हस्पिटलहरुले उक्त सहयोगप्रति आभार व्यक्त गर्दै समाज र राष्ट्रका निमित्त हिमालय एअरलाइन्सको सहयोगको हार्दिक प्रशंसा गरे । अग्रभागमा रहँदै कोभिड-१९ विरुद्ध लड्ने स्वास्थ्यकर्मीहरु प्रति हिमालय एअरलाइन्सले दर्शाएको सद्भाव अत्यन्तै उदाहरणीय रहेको र अन्य संघ-संस्थाहरुका लागि समेत प्रेरणादायी भएको डा. बरालले बताए ।

उक्त अवसरमा बोल्दै हिमालय एअरलाइन्सकी ब्राण्ड तथा सेवा सुधार विभागकी प्रमुख दलीले कोभिड-१९ विरुद्ध लड्ने कार्यमा समाज र राष्ट्रको लागि सहयोग पुर्‍याउनु, हिमालय सदैव तत्पर रहने बताइन् । संस्थागत सामाजिक उत्तरदायित्वको सुदृढिकरण गर्दै महामारी विरुद्ध लड्न अहोरात्र खटिरहेका हस्पिटलहरुसँग हातेमालोका साथ कार्य गर्ने हाम्रो प्रतिबद्धताको ज्वलन्त उदाहरण भएको पनि दलीले बताइन् ।

महामारीको सुरुवाती अवस्था देखि नै हिमालय एअरलाइन्स निरन्तररुपमा विविध तवरले राष्ट्रलाई सहयोग पुर्‍याउन प्रयासरत रहेको कम्पनीको दावी छ । नेपाल सरकारको कोभिड-१९ कोषमा गत बैशाखमै रु। एक करोडको आर्थिक सहयोग गर्नुका अतिरिक्त यस एअरलाइन्सले हालसम्म देशका दूर-दराजका स्थानहरु जस्तै आम्दा हस्पिटल, दमक, रोग नियन्त्रण/व्यवस्थापन केन्द्र, गुल्मी र फङ्लिङ्ग नगरपालिका, ताप्लेजुङ्ग जस्ता दुर्गम क्षेत्रका संघ-संस्थाहरुलाई कोभिड-१९ विरुद्ध लड्न सहयोग पुर्‍याउने चिकित्सा सामाग्रीहरु उपलब्ध गराएको छ ।

हिमालयले हालसम्म कोभिड-१९ महामारी रोकथामका चिकित्सा सामाग्रीहरुका ढुवानीका लागि ३७ वटा कार्गो उडान भर्दै ३२८.८२ टन सामाग्रीहरु नेपाल भित्र्याउन समेत महत्वपूर्ण भूमिका निभाएको छ । साथै एअरलाइन्सले विभिन्न देशहरुमा अलपत्र परेर रहेका नागरिकहरुलाई स्वदेश फिर्ता गराउन जम्मा ११८ वटा उडान भर्दै १९,४४२ जना यात्रुहरुलाई कोभिड-१९ विरुद्धका हरसम्भव सुरक्षा मापदण्ड अपनाएर सुरक्षित रुपमा देश भित्र्याएको छ ।

कमेन्ट गर्नुहोस्