पढाउन घर आएका शिक्षकद्वारा ५ वर्षीया बालिकामाथि बलात्कार

विराटनगर : कोरोना भाइरस संक्रमणका कारण शैक्षिक संस्था बन्द छन्। पढाइलाई घरमै भए पनि निरन्तरता दिन कतिपय अभिभावकले शिक्षक खोजेर छोराछोरीलाई ट्युसन पढाउने गरेका छन्। त्यस्तै एक शिक्षकले विराटनगरमा ५ वर्षीया बालिकालाई बलात्कार गरेको घटना सार्वजनिक भएको छ।

विराटनगर महानगरपालिका–१६ का २१ वर्षीय गौरव साहले आफूले पढाउनेमध्ये एक नाबालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ। साहले उक्त घरमा गएर वैशाखदेखि ११, ९, ४ र ५ वर्षका चार बालबालिकालाई ट्युसन पढाउँदै आएका थिए। त्यही क्रममा उनले शनिबार बालिकालाई बलात्कार गरेको खुलेको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापाले बताए।

याे पनि पढ्नुस  आमाको उजुरीपछि छोरी बलात्कार गर्ने बुबा पक्राउ

‘स्कुलको पढाइ लामो समयदेखि बन्द भएका कारण अभिभावकले शिक्षक खोजेर घरमै बालबालिकालाई ट्युसन पढाउन लगाउने गरेको पाइयो’, थापाले भने, ‘तर, पढाउन भनेर गएका उनै युवाबाट ५ वर्षीया बालिका बलात्कारको सिकार हुनुपर्‍यो।’

अरू बालबालिका र पीडित बालिकाले अभिभावकलाई सुनाएपछि घटना बाहिर आएको प्रहरीले जनाएको छ। ‘कोरोनाका कारण लामो समयदेखि स्कुल बन्द थियो। पढेका कुरा छोराछोरीले बिर्सने अवस्था आयो’, पीडितकी आमाले भनिन्, ‘ती युवालाई घरमा बोलाएर ट्युसन पढाउन लगाउने गरिएको थियो। तर, आज उनैले यस्तो गरिदिए।’

याे पनि पढ्नुस  ३ जना शिक्षकमाथि एकजना छात्रालाई बलात्कार गरेको आरोप, बच्चा जन्मिएपछि मुख खोलिन किशोरीले

स्कुलकै शिक्षकको सल्लाहमा घरमै ट्युसन पढाउन लगाइएको र अरू बालबालिकाकै अगाडि पढाउने व्यक्तिले छोरीलाई बलात्कार गरेको उनले बताइन्। उनका अनुसार घटनापछि छोरी बाहिरका कोही मान्छे देख्नेबित्तिकै डराएर लुक्ने गरेकी छन्।

प्रहरीले पक्राउ परेका साहविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन अदालतबाट आइतबार म्याद थप गरी घटनाको अनुसन्धान अघि बढाएको छ। पीडित बालिकालाई उपचार र स्वास्थ्य परीक्षणका लागि कोसी अस्पताल लगिएको थापाले बताए।

याे पनि पढ्नुस  बालिका बलात्कारको आरोपमा चितवनमा एकजना पक्राउ

अन्नपूर्ण पोष्टबाट

कमेन्ट गर्नुहोस्