छाङरू जोड्ने घोडेटो हस्तान्तरण, अब स्थानीयले आफ्नै भूमिबाट गाउँ जान पाउने

दार्चुला : नेपाली सेनाले दार्चुला सदरमुकाम खलंगालाई व्यास गाउँपालिकाको छाङरु र तिङ्कर गाउँसित जोड्ने घोडेटो बाटो हस्तान्तरण गरेको छ ।

सेनाका सुदूरपश्चिम पृतनापति निर्मलकुमार थापाले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई सोमबार उक्त बाटो हस्तान्तरण गरेका हुन् ।

नेपाली सेनाले झण्डै चार महिनाको अविरल प्रयासपछि व्यास गाउँपालिका- १ घाँटीबगरस्थित अत्यन्तै कडा र अप्ठेरो भीर फोरेर उक्त बाटो निर्माण गरेको हो । एक करोड आठ लाख खर्च गरेर महाकाली नदी किनारको उक्त क्षेत्रमा सेनाले चट्टानी भीर फोरेर दुई मिटर चौडाइ भएको ५ सय ५० मिटर लामो बाटो निर्माण गरेको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।

याे पनि पढ्नुस  सेना निःशुल्क स्वास्थ्य शिविरः ६२ वर्षीया महिलाको पाठेघरबाट ५ किलोको ट्युमर निकालियो

बाटो निर्माण गर्न चार महिनासम्म सेनाका ६५ तथा स्थानीय करिब ४० जनाको जनशक्ति दैनिकरुपमा परिचालन गरिएको थियो ।

घाँटीबगर क्षेत्रमा बाटो निर्माण सम्पन्न भए पनि तम्बाकु भीरमा अझै पनि अप्ठ्यारो बाटो भएकोले सहज आवागमनका लागि तम्बाकु भिर फुटाएर बाटो निर्माण गरिदिन स्थानीयले सरकारलाई आग्रह गरेका छन् ।

याे पनि पढ्नुस  कुटपिटपछि मृत्यु प्रकरण : सेनाका हुद्दा पुर्पक्षका लागि थुनामा

घाँटीबगर ईलाकाको घोडेटो बाटोको स्थलगत निरीक्षण गर्दै सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले संघीय सरकारले थप बजेट विनियोजन नगरे प्रदेश सरकारबाट बजेट विनियोजन गरेर तम्बाकु भीरमा बाटो निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मुख्यमन्त्री भट्टले अत्यन्तै कठिन भीरमा सफलतापूर्वक बाटो निर्माण सम्पन्न गरेकोमा नेपाली सेनालाई धन्यबाद व्यक्त गरे ।

झण्डै ४० वर्षअघि सो क्षेत्रमा पहिलो पटक घोडेटो बाटो निर्माण गरिएको थियो । बर्सेनि हिमपातसँगै पहिरो खस्दा बाटो अवरुद्ध हुँदै आएको थियो । त्यसैमाथि महाकालीको बाढीले बाटोको निसानै मेटाइ दिँदा यहाँका बासिन्दा दुई दशकदेखि खलंगापारीको भारतीय क्षेत्र धारचुला हुँदै भारतकै बाटो प्रयोग गरी पैदल छाङरु र तिङ्कर आवतजावत गर्न बाध्य थिए ।

याे पनि पढ्नुस  भोलि चीनबाट सेनाले २८ टन स्वास्थ्य सामग्री ल्याउँदै

उक्त क्षेत्रमा पैदल बाटोसमेत नहुँदा खलंगादेखि झण्डै ७२ किलोमिटरको दूरीमा रहेको छाङरु गाउँका १२० परिवार तथा तिङ्कर गाउँमा बसोबास गर्ने करीब ७० परिवारलाई कुञ्चा (बसाई) सर्न समस्या हुँदै आएको थियो ।

कमेन्ट गर्नुहोस्