के नोट र सिक्काबाट पनि कोरोना सर्छ ? शरीर बाहिर कति समय बाँच्छ त कोरोना ?

नेपालमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या थपिँदै गर्दा केही व्यक्तिहरूले आफ्नो सुरक्षाका लागि विभिन्न उपाय अवलम्बन गरेको भए पनि पैसाबाट भाइरस सरेको दाबी गरेका छन्।

विज्ञहरूले दैनिक प्रयोगमा आउने वस्तुको माध्यमबाट पनि कोरोनाभाइरस सर्न सक्ने भन्दै जनस्वास्थ्यसम्बन्धी पर्याप्त सावधानी अपनाउन सुझाव दिँदै आएका छन्।

श्वासप्रश्वाससम्बन्धी अन्य रोगमा जस्तै कोभिड-१९ मा पनि सङ्क्रमित मानिसले खोक्दा नाक र मुखबाट निस्किने साना बिन्दुबाट सर्न सक्ने उनीहरूको भनाइ छ।

ती बिन्दुहरू अन्य मानिस अथवा लुगा वा वरपरका सतहमा अड्किन र केही साना कण हावामै तैरिन पनि सक्छन्।

त्यसबाहेक सङ्क्रमित व्यक्तिले प्रयोग गरेका कतिपय सामान निश्चित समयभित्र चलाउँदा पनि सङ्क्रमण सर्न सक्ने चिकित्सकहरूको भनाइ छ।

शरीरबाहिर कोरोनाभाइरस कति समय जीवित रहन्छ?
तीमध्ये हाम्रो दैनिक प्रयोगमा आउने कागजको नोट अथवा सिक्का अपवाद हुन नसक्ने उनीहरूको ठम्याइ छ।

हुन त कागजको नोट अथवा सिक्कामा कोरोनाभाइरस कति समयसम्म जीवित रहनसक्छ भन्नेबारे नेपालमा छुट्टै अध्ययन भएको छैन।

तर अन्तर्राष्ट्रिय स्तरमा गरिएका अध्ययनबाट कागजको नोट र सिक्का लगायतका वस्तुमा कोरोनाभाइरसको ‘जीवनकाल’ बारे धेरै कुरा स्पष्ट भइसकेको जनस्वास्थ्यविद्‌हरू बताउँछन्।

भाइरोलजिस्ट डा. लुना भट्ट शर्माका अनुसार कागजको नोटमा चार दिनसम्म र सिक्का अथवा धातुमा सात दिनसम्म कोरोनाभाइरस बाँच्न सक्ने देखिएको छ।

याे पनि पढ्नुस  काेराेनाकाे उच्च जोखिममा काठमाडौं उपत्यका

“कागजको नोटमा चार दिनसम्म, सिक्का अथवा धातुमा र सर्जिकल मास्कको बाहिरी सतहमा सात दिनसम्म कोरोनाभाइरस जीवित रहन सक्ने अध्ययनले देखाएका छन्।”

केही महिनाअघि प्रतिष्ठित जर्नल ल्यान्सिटमा पनि विभिन्न वस्तुमा कोरोनाभाइरस जीवित रहन सक्ने समयबारे अनुसन्धानको नतिजा प्रकाशित भएको थियो।

यद्यपि ती वस्तुमा कोरोनाभाइरसको जीवनकाल तापक्रम र आर्द्रताजस्ता विभिन्न कुरामा निर्भर हुने उल्लेख गरिएको छ।

नेपालमा नोट र सिक्काले भाइरस बोक्न सक्ने विषयमा अध्ययन नभए पनि ब्याक्टेरिया र ढुसी सार्न सक्ने विषयमा अध्ययन भएको छ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानकी वरिष्ठ वैज्ञानिक टिष्टा प्रसाईँले सन् २००८ मा पोलिमर नोट र सिक्कामा ब्याक्टेरिया हुने सक्ने वा नसक्नेबारे अध्ययन गरेकी थिइन्।

आफ्नो अध्ययनबाट त्यस्ता नोट र सिक्कामा ब्याक्टेरिया हुने गरेको पत्ता लागेको उनले बताइन्।

त्यस्तै काठमाण्डूस्थित त्रिचन्द्र क्याम्पसका सूक्ष्मजीव विषयका सहप्राध्यापक प्रदीपकुमार साह नेतृत्वको समूहले गरेको अर्को अध्ययनले पनि नोट र सिक्कामा हुने ब्याक्टेरियाोक अध्ययन गरेको थियो।

“हामीले मासु पसल, सार्वजनिक शौचालय तथा सार्वजनिक यातायात लगायतका स्थानबाट नमुना (नोट) सङ्कलन गरेका थियौँ। अध्ययनका क्रममा हामी ई. कोली र दिसामा पाइने कोलिफर्म भेट्टायौँ,” उनले भने।

याे पनि पढ्नुस  जुम्लामा पनि क्वारेन्टाइनमै १ जनाको मृत्यु

ब्याक्टेरिया र फन्जाई (ढुसी) जस्तै भाइरस पनि हामीले दैनिक प्रयोग गर्ने नोट र सिक्कामा भाइरस पनि सर्न सक्ने सूक्ष्मजीव वैज्ञानिकहरूको भनाइ छ।

तर भाइरस आतिथेय जीवकोशबाहिर लामो समय बाँच्न सक्दैन। तैपनि सङ्क्रमित व्यक्तिले चलाएका त्यस्ता वस्तु तत्कालै छुने वा प्रयोग गर्ने मानिसमा सर्न सक्ने सम्भावनालाई उनीहरू नकार्दैनन्।

कोरोनाभाइरसबाट जोगिन कस्ता सावधानी अपनाउने?
कोरोनाभाइरस फैलिन थालेको देश चीनले ठूलो मात्रामा नोटलाई निर्मलीकरण गरी केही समयपछि मात्रै बजारमा पठाएको भन्ने समाचार केही पहिला सार्वजनिक भएको थियो।

विश्वका विभिन्न देशले कोरोनाभाइरस महामारीसँगै नगद कारोबारको सट्टा विद्युतीय माध्यमबाट कारोबार गर्न आफ्ना नागरिकलाई प्रोत्साहित गर्दै आएका छन्।

ब्रिटेनमा लकडाउनको अवधिमा एटीएमबाट नगद झिक्ने मानिसको सङ्ख्या ६० प्रतिशतले घटेको देखिएको थियो।

हुन त विश्व स्वास्थ्य सङ्गठनले नगद कारोबार बन्द गर्न भनेको छैन। तर पैसा छोएपछि साबुनपानी अथवा ह्यान्डवाशले हात धुने अथवा स्यानिटाइजरले हात सफा गर्न सुझाव दिएको छ।

हालै नेपाल राष्ट्र ब्याङ्कले नेपालका ब्याङ्क तथा वित्तीय संस्थाहरूलाई सकेसम्म एकतिहाइ कर्मचारीबाट सेवा सञ्चालन गर्न निर्देशन दिएको थियो।

उसले ब्याङ्किङ सेवा प्रवाहमा प्रत्यक्ष सम्पर्कमा रहने जनशक्ति तथा सेवाग्राहीको स्वास्थ्य सुरक्षा र सङ्क्रमणको सम्भावनालाई न्यूनीकरण गर्न मास्क तथा स्यानिटाइजरको प्रयोग, पन्जा लगाउने र शरीरको तापक्रम नाप्ने लगायतका उपाय अपनाउन भनेको छ।

याे पनि पढ्नुस  थप ३ जनामा देखियो कोरोना

केही समययता एटीएम बूथमा ब्याङ्कहरूले सेवाग्राहीका लागि स्यानिटाइजर राख्न थालेको देखिन्छ।

सङ्क्रमित व्यक्तिले नाक पुछेर नोट वा सिक्का चलाएको खण्डमा वा थुक लगाएको भए भाइरस जीवित रहने समयावधिसम्म निरोगी मानिसले त्यसको प्रयोग गरेमा सङ्क्रमण सर्ने जोखिम रहेको भाइरोलजिस्ट डा. लुना शर्मा भट्ट औँल्याउँछिन्।

तपाईँले नगद कारोबार छोड्नै नसक्ने अवस्थामा सावधानीका यी उपायहरू अपनाउन सकेमा धेरै हदसम्म त्यसबाट हुने सङ्क्रमणको जोखिम कम गर्न सकिने डा. भट्ट र नास्टकी वैज्ञानिक डा. टिष्टा प्रसाईँको सुझाव छ।

सावधानीका उपायहरू

नोट वा सिक्का चलाउनुपर्ने अवस्थामा पन्जा लगाउने

पैसा लेनदेन गर्नुअघि र गरिसकेपछि साबुनपानी अथवा ह्यान्डवाशले हात धुने

त्यो नभए स्यानिटाइजरले हात सफा गर्ने

पैसाको लेनदेन गर्दा (अरू बेला पनि) नाक र मुखमा हात नलैजाने

किनमेल गर्दा सकेसम्म खुद्रा पैसा लिएर जाने

किनमेलपछि घरमा पैसालाई छुट्टै झोलामा राख्ने र सम्भव भए केही दिनपछि मात्रै त्यसको प्रयोग गर्ने

News Source: BBCNepali

कमेन्ट गर्नुहोस्