काठमाडौंमा कोरोना ह्वात्तै बढेपछि सरकारले दियो यस्तो चेतावनी

काठमाडौंः काठमाडौं उपत्यकामा कोरोना भाइरस (कोभिड(१९) संक्रमण ह्वात्तै बढेको भन्दै सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सतर्कता अपनाउन आग्रह गरेका छन् ।

मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा ज्ञवालीले अरु जिल्लामा संक्रमण नियन्त्रण उन्मुख भए पनि उपत्यकामा बढिरहँदा उच्च जोखिम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेका हुन् ।

उनले भने, ‘स्वास्थ्य मन्त्रालयले दैनिक सार्वजनिक गर्ने नयाँ संक्रमितमा आधाभन्दा धेरै उपत्यकाका छन् । ४० लाख बसोबास भएको काठमाडौं उपत्यकामा कोरोना अनियन्त्रित भयो भने जोखिम बढ्छ । त्यसैले सेवा दिँदा वा लिँदा, सार्वजनिक सवारीमा चढ्दा वा हिँडडुल गर्दा, अरु खालका गतिविधि गर्दा कोरोनाको उच्च जोखिमलाई ध्यान दिन जरुरी छ ।’

याे पनि पढ्नुस  सबै स्थानीय तहमा अस्पताल सेवा विस्तार हुने

उनले दशैंमा काठमाडौंबाट गाउँ जान र गाउँबाट फेरि काठमाडौं आउने काम नगर्न पनि आग्रह गरेका छन् । उनले गाउँ जाँदा र फर्किँदा संक्रमण पनि सँगै जाने भएकाले यसपालि काठमाडौंबाट गाउँ नजान आग्रह गरे ।

‘केही दिनमा दशैं आउँदैछ । दशैंमा आफूभन्दा ठूला मानिसबाट आशिर्वाद लिने चलन छ । तर यसपालि हामीले काठमाडौंबाट गाउँ गएर आशिर्वाद लिँदा हाम्रा बुवाआमा, हजुरबुवा हजुरआमा, काकाकाकीलाई जोखिममा पार्न सक्छौं । हामी स्वस्थ रहे चाडवाड अर्को वर्ष पनि मनाउन पाउँछौं। त्यो भएर यो कुरालाई ख्याल गरिदिनुहोला भन्ने आग्रह छ,’ उनले भने ।

याे पनि पढ्नुस  उदयपुरमा थप ८ जनामा कोरोना देखियो, उपचारका लागि विराटनगर पठाइयो

‘अरू जिल्लामा कोभिड-१९ क्रमशः नियन्त्रणमा आइरहेको भए पनि काठमाडौं उपत्यका अझै उच्च जोखिममा छ। देशभरिमा थपिने संक्रमितमध्ये आधाभन्दा बढी काठमाडौं उपत्यकाकै हुन्छन्,’ मन्त्री ज्ञवालीले भने,‘यस्तो बेलामा दैनिक गतिविधि गर्दा विशेष सावधानी अपनाउन सरकारको आग्रह छ।’

उनले ६० वर्ष बढी उमेरका मानिसहरूलाई कोरोनाको संक्रमण दर र संक्रमणपछि मृत्युदर तुलनात्मक रूपमा बढी भएकाले आफ्ना अभिभावकलाई जोखिममा पार्न नहुने बताए । साथै उनले यसपालिको दशैंमा अभिभावकसँग टाढैबाट आशिर्वाद लिन पनि अनुरोध गरे ।

याे पनि पढ्नुस  अमेरिकामा कोरोनाको कारण एक जनाको ज्यान गयो, वाशिङ्टनमा आपतकाल घोषणा

‘सिसिएमसीले ‘आशिर्वाद जोगाऔं’ भन्ने नारा नै बनाएको छ । हामीले यसपालि अभिभावक जोगायौं भने फेरि–फेरि उहाँहरूबाट आशिर्वाद लिन पाउँछौं,’ मन्त्री ज्ञवालीले भनेका छन् ।

कमेन्ट गर्नुहोस्