धनुषामा सेवा प्रवाहका लागि समयतालिका सार्वजनिक

जनकपुरः जिल्ला प्रशासन कार्यालय धनुषाले सेवाग्राहीको चाप बढ्दै गएपछि समयतालिका सार्वजनिक गरेको छ । जिल्ला प्रशासन कार्यालयले स्थानीय तहअनुसार सेवाग्राहीलाई सेवा दिने भन्दै नयाँ तालिका सार्वजनिक गरेको हो । नयाँ तालिका सार्वजनिक भएपछि अब शनिबार समेत जिल्ला प्रशासन कार्यालय खुल्ला रहने भएको छ । कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणलाई मध्यनजर गर्दै प्रशासन कार्यालय परिसरमा सेवाग्राहीको चापलाई सहज बनाउने उद्देश्यले सेवा प्रवाहका लागि कार्यतालिका नै सार्वजनिक गरिएको सहकाय प्रमुख जिल्ला अधिकारी दिपक कोइरालाले जानकारी दिए । समयतालिका आजदेखि जारी गरिएको उनले बताए ।

जिप्रकाले जारी गरेको सूचनाअनुसार तोकिएको दिन मिलाएर मात्र सम्बन्धित सेवाग्राही कार्यालयमा प्रवेश पाउनेछन् । नागरिकता र नाबालक परिचयपत्र बनाउने हकमा सेवाग्राही र सनाखत गर्ने थप १ जनामा कार्यालय परिसरमा प्रवेश गर्न सकिने जनाइएको छ । सेवा लिन आउनुअघि सेवा प्राप्त गर्नका लागि सम्पूर्ण कागज÷प्रमाण साथमा लिई आउनुपर्नेछ, कागज/प्रमाण नपुगेमा सेवा दिन सकिने छैन’ जारी सूचनामा भनिएको छ ।

याे पनि पढ्नुस  धनुषामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या १५ पुग्यो

त्यस्तै सेवा लिन आउने सेवाग्राहीहरुले अनिवार्यरुपमा स्वास्थ्य सम्बन्धि मापदण्ड पालना गर्नुपर्ने उल्लेख गरिएको छ भने रुघा–खोकी, ज्वरो जस्ता लक्षण देखिएका सेवाग्राहीलाई कार्यालयमा प्रवेश गर्न नदिने सूचनामा उल्लेख छ । कोभिड १९ संक्रमणको अवस्थाअनुसार उल्लेखित तालिकामा आवश्यकताअनुसार थपघट र परिमार्जन गर्दै लगिने सहायक प्रमुख जिल्ला अधिकारी कोइरालाले जानकारी दिए ।

याे पनि पढ्नुस  धनुषामा मदिरा सेवनबाट ज्यान गुमाउनेको संख्या ११ पुग्यो

तालिकाअनुसार संघ/संस्था दर्ता र नविकरणको काम आईतवारदेखि बुधवारसम्म गरिनेछ भने पत्रपत्रिका÷छापाखाना दर्ता र विधान संशोधनसम्बन्धी सेवा बिहिवार र शुक्रवार मात्र दिइने सूचनामा जनाइएको छ । त्यस्तै सक्कल नागरिकता प्रमाणपत्र, नागरिकता प्रतिलिपी र राहदानी वितरण गर्ने आदि सेवाहरु प्रदान गर्ने कामको समय तालिका स्थानीय निकायअनुसार छुट्टाछुट्टै समयमा गरिने जनाइएको छ ।

जसअनुसार आईतबार हंसपुरन नगरपालिका, धनुषाधाम नगरपालिका र विदेश नगरपालिका, सोमबार नगराईन नगरपालिका, सबैला नगरपालिका, गणेशमान चारनाथ नगरपालिका, मंगलबार जनकपुरधाम उपमहानगरपालिका, मिथिला विहारी नगरपालिका, बुधबार जनकनन्दनी गाउँपालिका, लक्ष्मीनिया गाउँपालिका र औरही गाउँपालिका, बिहिबार जनकपुरधाम उपमहानगरपालिका र मुखियापट्टी मुसहरनिया गाउँपालिका, शुक्रबार मकला नगरपालिका, धनौजी गाउँपालिका र शहिदनगर नगरपालिकालाई सेवा उपलब्ध हुनेछ ।

याे पनि पढ्नुस  भारतीय सुरक्षा बल एसएसबीको अवरोधका कारण पुल अलपत्र

त्यस्तै, शनिबार क्षीरेश्वरनाथ नगरपालिका, बटेश्वर गाउँपालिका र मिथिला नगरपालिकाका सेवाग्राहीहलाई सेवा दिइनेछ । त्यसका लागि १० बजेदेखि दिउँसो ३ बजेसम्म सेवा प्रवाह गरिने सहायक प्रमुख जिल्ला अधिकारी कोइरालाले जानकारी दिए । तर शनिबारको दिन नागरिकता वितरणसम्बन्धी बाहेकका काम हुने छैनन् । उनले अन्य सेवा आईतबारदेखि शुक्रबारसम्म हुने जानकारी दिए ।

कमेन्ट गर्नुहोस्